पृथ्वीराजमार्ग विस्तार : जामुने-कोत्रेका संरचना हटाउन मुआब्जा वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेसम्मका संरचना हटाउन दुइ करोड ४५ लाख ३९ हजार ६३३ रुपैयाँ मुआब्जा वितरण गरिने भएको छ ।

सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्डको जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाल लगायतका संरचना हटाउन उक्त मुआब्जा वितरण गर्न लागिएको हो ।

सडक मापदण्ड २५/२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाललगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गर्न लागिएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका १३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ ।

एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको आयोजना प्रमुख अमितकुमार श्रेष्ठले बताए ।

योजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीहरूलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नम्बर र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको छ ।

घर टहरा आदिको लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्तास्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाइ सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ ।

आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज(पुर्नवास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ ।

समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहेका छन् । मुग्लिन-पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुइ खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ ।

पश्चिम (जामुने-पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी-जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुख काटिएको छ । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा दुइ हजार २८० रुख कटान भइसकेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुइ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ। चार लेनको बन्दा सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ ।

बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन् हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मर्स्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिङ-पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुइ अर्ब नौ करोड ५४ लाख ४ हजार विनियोजन भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker