भानुमा १८ दिने “समुदाय विपद् स्वयंसेवक तालिम” सञ्चालन

भानु : तनहुँको भानु नगरपालिकामा उद्धार तथा राहत कार्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सञ्चालन गरिएको छ । भानु नगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. २३ गण हे.क्वा. मनकामना, तनहुँको संयुक्त आयोजनामा आइतबारबाट तालिम सञ्चालन गरिएको हो ।
जेठ २८ गतेसम्म सञ्चालन हुने तालिममा समुदायस्तरमै विपद् व्यवस्थापन तथा उद्धार कार्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । नगरसभा सदस्य, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय तथा कर्मचारी गरी विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
तालिमको औपचारिक रुपमा शुभारम्भ गर्दै नगरप्रमुख त्रिपाठीले स्थानीय तहमै विपद् प्रतिकार्य क्षमता विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । उनले विपद् व्यवस्थापनको जिम्मेवारी केवल राज्यको मात्र नभई सम्पूर्ण समुदायको साझा सरोकार भएको बताउँदै यस्ता तालिमहरूबाट व्यवहारिक ज्ञानसँगै आत्मविश्वास पनि बढ्ने विश्वास व्यक्त गरे ।
यस्तै, तालिम अवधिभर सहभागीहरूलाई विपद् जोखिम मूल्यांकन, उद्धार प्रविधि, प्राथमिक उपचार, खोज तथा उद्धार र जल उद्धार लगायतका विषयमा गहन अभ्यास गराइने सशस्त्र प्रहरी बल, नेपाल नं. २३ गण हे.क्वा. मनकामना, तनहुँका प्रमुख प्रहरी उपरीक्षक अशोक लम्सालले जानकारी गराए । तालिममा सशस्त्र प्रहरी बलका अनुभवी प्रशिक्षकहरूद्वारा सहजिकरण गर्ने उनले जनाए ।

प्रशिक्षणको क्रममा विपद् आइपरेका अवस्थामा कसरी तत्काल प्रतिक्रिया जनाउने, सुरक्षित रूपमा उद्धार सञ्चालन गर्ने, घाइतेको प्राथमिक उपचार गर्ने र समुदायलाई सुरक्षित स्थानमा लैजाने जस्ता व्यवहारिक सीपहरू सिकाइनेछ । साथै जलजन्य विपद् (जस्तै बाढी वा डुबान)का जोखिम तथा त्यसबाट बच्न सकिने उपायहरूमा पनि विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक लम्सालले बताए ।
तालिममा सहभागीहरू उत्साहित देखिएकाले समुदायमा विपद् आउँदा तत्काल सहयोग गर्न सक्ने क्षमता भएका स्वयंसेवकको अभाव महसुस भइरहेका बेला यस्ता तालिमले स्थानीय तहमा ठूलो प्रभाव पार्ने विश्वास लिइएको छ । सहभागीहरूले तालिमपछि आफूले प्राप्त गरेका सीपहरू समुदायमा साझा गरेर सशक्त विपद् प्रतिकार्य संरचना निर्माण गर्न तत्परता देखाएको नगरप्रमुख त्रिपाठीले बताए ।
भानु नगरपालिकाले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्य योजनालाई दीर्घकालीन रणनीति अन्तर्गत लिएको छ । नगरप्रमुख त्रिपाठीले भविष्यमा यस्ता तालिमलाई अन्य वडाहरूमा पनि विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
तालिमको अन्तिम दिन अर्थात् जेठ २८ गते, सहभागीहरूले सिकेका सीपहरू प्रदर्शन गर्ने गरी व्यवहारिक अभ्यास आयोजना गरिनेछ । जसमा उद्धार अभ्यास, प्राथमिक उपचारको नमूना, जल उद्धारका उपाय लगायतका विषय प्रस्तुत गरिनेछ । यसमार्फत समुदायलाई समेत जानकारी दिने र स्थानीयस्तरमा चेतना फैलाउने उद्देश्य रहेको आयोजक संस्थाहरूले बताएका छन् ।










