अपाङ्गता भएकालाई जिविकोपार्जनमा टेवा पुर्याउन भिमाद नगरपालिकाले वितरण गर्यो माउ बाख्रा
भञ्ज्याङ न्यूज

अपाङ्गता भएका व्यक्ति तथा घरपरिवारलाई जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यका साथ भिमाद नगरपालिकाले माउ बाख्रा वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका ३६ जनालाई एक कार्यक्रम गरी माउ बाख्रा वितरण गरेको हो ।
पालिकाको विभिन्न वडा भित्र रहेका ‘ग’ र ‘घ’ वर्गका अपाङ्ता भएका व्यक्ति तथा परिवारलाई एक वटाका दरले प्रजनन् योग्य माउ बाख्रा बितरण गरेको उपप्रमुख शारदा खनालले बताइन् ।
नगरपालिकाले २५ जना विभिन्न अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री समेत प्रदान गरेको छ । ६ जनालाई हि्वलचियर, ५ जनालाई बैशाखी, २ जनालाई एल्वो स्टिक र ७ जनालाई सेतो छडी लगायतका सहायता सामाग्रि पनि वितरण गरेको उपप्रमुख खनालले बताइन् ।
यस्तै, विभिन्न किसिमको अपाङ्गता भएका ४३८ जनाको पहिचान गरी वर्ग अनुसार कार्ड उपलब्ध गराइएको अपाङ्गता समन्वय समितिका सदस्य विष्णुप्रसाद गौतमले बताए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री हस्तान्तरण गर्दै उप्रमुख खनालले नगरपालिकाको सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गरेकी छन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरुको साथमा नगरपालिका भएको आभास गराउनुका साथै आयआर्जन कार्यमा पनि सहभागि हुनसक्छन् भन्ने सन्देश प्रवाह गर्न सहयोग गरिएको नगर प्रमुख दधिराज घिमिरेले बताए ।
नगरपालिकाले घरदैलोमै आएर सहयोग आवश्यक सहायता सामाग्रि उपलब्ध गराउदा खुसी लागेको रुपा थापाले बताइन् । उनले भनिन, ‘लक्षित वर्गको लागि छुट्टाइएको बजेटको सदुपयोग भएको महशुस भएका् छ । यसबाट आत्मनिर्भर बन्नुपर्छ भन्ने उत्प्रेरणा पनि मिलेको छ ।’










