तनहुँका दुग्ध उत्पादक किसानलाई अनुदान
भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई अनुदान रकम उपलब्ध गराएको छ । कार्यालयले गत आर्थिक वर्ष ११ वटा दुग्ध सहकारी मार्फत व्यवसायिक दुग्ध उत्पादक किसानलाई ४१ लाख ४१ हजार ३६५ अनुदान उपलब्ध गराएको हो।
धेरै परिमाणमा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर एक रुपैयाँ ५० पैसा र थोरै उत्पादन गर्ने साना किसानलाई दुइ रुपैयाँका दरले अनुदान प्रदान गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको व्यास, शुक्लागण्डकी र भानु नगरपालिकाका साथै म्याग्दे गाउँपालिका र बन्दिपुर गाउँपालिकाका सहकारीमा आवद्ध दुग्ध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान रकम प्रदान गरिएको छ । किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनका आधारमा अनुदान कार्यक्रम राखिएको कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।
‘किसानले वार्षिक कूल २३ लाख ४६ हजार ३६८ लिटर दूध उत्पादन गरेका थिए’, उनले भने, ‘सहकारीमार्फत किसानलाई भुक्तानी गरिँदा कुनै बिचौलियको संलग्नता नहुने र सिधै किसानको हातमा रकम पुग्ने भएकाले यो विधि अपनाइएको हो ।’
कोरोना संक्रमणका बेलामा केही पशुपालक किसानले पशु बिक्री गरेर बसे पनि पुनः अहिले स्थिति सहज भएपछि पुनः पशुपालन व्यवसाय थालेकाले करिब चार प्रतिशत पशुपालन व्यवसायी वृद्वि भएको अनुमान कार्यालयको छ ।
‘दूध र अण्डामा जिल्ला आत्मनिर्भर बनेर बाहृय जिल्लामा समेत निर्यात गर्न सक्षम भएको छ’, प्रमुख डा श्रेष्ठले भने, ‘किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेपछि उत्पादन वृद्धितर्फ किसानहरू सक्रिय भएर लागेका छन् ।’
जिल्लामा कूल २२ दूग्ध सहकारीमध्ये १७ वटा जिल्ला दुग्ध सहकारी संघमा आबद्व भइसकेका छन् । मासुमा पनि तनहुँ जिल्ला आत्मनिर्भर बन्ने अवस्थामा पुगिसकेको छ । दूधमा जस्तै मासु उत्पादनमा समेत प्रोत्साहन कार्यक्रम ल्याउने योजनामा कार्यलय रहेको छ।