धार्मिक स्थलहरु खुल्न थाले, छाब्दी बाराही मन्दिरमा भक्तजनको भिड बढ्यो

  • निशा थापा मगर (दमौली)

कोरोना संक्रमण त्रासका कारण बन्द भएका तनहुँका धार्मिक स्थलहरु क्रमशः खुला गर्दै लगिएको छ । देवघाट धाम बाहेक जिल्लाका अन्य धार्मिक स्थल तथा शक्तिपीठहरुमा क्षमापुजा गरी भक्तजनका लागि खुला गर्न थालिएको छ । धार्मिक आस्था र विश्वासले भरिपूर्ण तनहुँको ढोरबाराही, अकला, थानीमाई, छाब्दी बाराही लगायतका मन्दिर तथा शक्तिपीठहरु अहिले र्सवसाधारणका लागि खुला गरी नियमित पूजाअर्चनका कार्यक्रम सुरु गरिएको छ । लामो समयको बन्दाबन्दीमा निमपुजा मात्रै चलाउँदा आर्थिक संकटसमेत झेलेका मन्दिर व्यवस्थापन समितिहरुले अहिले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी नियमित पूजाअर्चनका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

विशेष गरी अहिले तनहुँको व्यास नगरपालिकाको वडा नं. १२ र १४ मा पर्ने छाब्दी बाराही मन्दिरमा भक्तजनहरुको ओहिरो लागेको छ । कोरोना कहरकै बीच पनि भक्तजनहरु रातीदेखि आएर मन्दिरको गेटमा लाम्बद्ध भएर बस्न थालेपछि अहिले सबैका लागि मन्दिर खुला गरी नियमित पूजा कार्यक्रम अगाडि बढाइएको छाब्दी बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थान बहादुर थापाले बताए ।

‘कोरोना त्रासका कारण भक्तजनलाई आउन रोक लगाइएपनि मन्दिरमा समिति र स्थानीय टोल विकास समितिका पहलमा नियमित बलि दिएर निम पुजा गर्दै आएका थियौं । यसरी पुजा गर्दा समितिले आर्थिक संकट समेत झेल्नुपर्‍यो’, अध्यक्ष थापाले भने, ‘मन्दिर खुलाउन सहज अवस्था नभएकाले बिहानै समितिले पुजा गर्ने गरेपनि भक्तजनहरु रातीदेखिनै मन्दिरको गेटमा आएर बस्ने गर्नुहुन्थ्यो, स्थानीय पालिका र प्रशासनले मन्दिर खोल्न अनुमति नदिएपनि मन्दिरमा आइपुगेका भक्तजनलाई त्यति फर्काउन पनि सकिदैन थियो । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी तिहार पर्व लगत्तै भक्तजनका लागि मन्दिर खुला गरी सहज व्यवस्थापन गर्दै आइएको छ ।’
यस्तै, मन्दिर खुला गरिएपछि भक्तजनको पनि चहलपहल बढ्न थालेको छ । मन्दिरसंग आश्रीत भई व्यापार व्यवसाय गर्नेहरुले पनि राहतको महशुस गर्न थालेको छाब्दीमा फूल प्रसादको व्यवसायी गर्दै आएकी दिलमाया मगरले बताइन् । उनले भनिन्, ‘मन्दिर बन्द हुँदा व्यापार व्यवसाय समेत बन्द भयो, व्यापार बन्द हुँदा ऋण लागेको छ । अब डराएर होइन स्वास्थ्य सावधानी अपनाएर सबै क्षेत्र खुला पर्दछ ।’

छाब्दी बाराही मन्दिरमा श्रावण महिना, औंसी र एकादशी तिथि बाहेक अन्य दिन नियमित पूजा अर्चना गरिन्छ । व्यास पराशर ऋषिसंग जोडिएको यो मन्दिरमा विशेष गरी सार्वजनिक बिदाको दिन भक्तजनहरुको भिडभाड हुने मन्दिरका मुल पुजारी प्रेम आलेले बताए । मनोकांक्षा पुरा हुने र आफुलाई समस्या पर्दा छाब्दी बाराही देवीको पूजाअर्चना तथा सम्झना गरे त्यो पुरा हुने जनविश्वास रहेको मन्दिर दर्शन गर्न चितवनबाट आएकी भक्तजन नानुमाया भुर्तेलले बताइन् ।

यस्तै, भक्तजनको आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छाब्दी बाराही मन्दिर क्षेत्र भने पछिल्लो समय अव्यवस्थित बन्दै गएको छ । भक्तजनको भिडभाड भएको समय सवारी साधान पार्किङ्गको समस्या, पूजा सामाग्रि बिक्री वितरणमा मनपर्दी मूल्य, दमौलीबाट मन्दिरसम्म जने भक्तजनहरुलाई यातायात व्यवसायीले लिने भाडा दर एकरुपता नहुँनु लगायतका समस्या रहेको व्यास-१२ का रोशन कंडेल बताउँछन् ।

‘धार्मिक आस्था र विश्वासले भरिपूर्ण मठमन्दिर तथा शक्तिपीठहरुलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बन्धित स्थानीय सरकार तथा व्यवस्थापन समितिले आवश्यक पूर्वाधार विकास र व्यवस्थापनमा विशेष ध्यानदिनु पर्दछ’, उनले भने, ‘यस्ता क्षेत्रलाई व्यवस्थित बनाउन सकियो भने भक्तजन तथा पर्यटकको संख्या वृद्धि हुन गई सम्बन्धित पालिका तथा स्थानीय बासिन्दाले नै लाभ लिन पाउने हुँदा यस तर्फ ध्यान पुर्‍यौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker