म्याग्दे गाउँपालिकाले भेटेरिनरी पढ्ने विद्यार्थी र बस खरिद गर्न विद्यालयलाई अनुदान दिने
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले विद्यार्थी र विद्यालयलाई अनुदान दिने भएको छ । गाउँपालिकाले एसइइ उत्तीर्ण गरी भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो । म्याग्दे-३ स्थित जनगणपति माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको १८ महिने भेटेरीनरी कोर्ष अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका एसइइ उत्तीर्ण तथा तोकिएको योग्यता भएका विद्यार्थीलाई सो कोर्षअध्ययन अन्तर्गत लाग्ने शुल्कको ५० प्रतिशत वा सोभन्दा बढी छात्रवृत्ति रकम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै, गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालयलाई बस खरिदका लागि अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाले माध्यमिक तहका विद्यालयलाई बस खरिदमा अनुदान दिने कार्याक्रम ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
गाउँपालिकाको १२औं गाउँसभाबाट स्वीकृत बजेट तथा साउन १९ गतेको कार्यपालिका निर्णय अनुसार बस खरिद गर्न कूल लागतको अधिकतम ४० प्रतिशतसम्म साझेदारी तथा अनुदान दिने निर्णय भएको उनले बताए । बस खरिद गर्न इच्छुक विद्यालयलाई विद्यालयको आवश्यकता, क्षमता तथा वहन गर्ने दायित्व रकम र स्रोतको सुनिश्चितता, बस सञ्चालन प्रक्रिया तथा सञ्चालन व्यवस्थापन मापदण्ड सहित सञ्चालन प्रतिबद्धता र वि.व्य.स.को निर्णय सहित गाउँपालिकाको शिक्षा शाखामा भदौ ५ गतेभित्र प्रस्ताव पेश गर्न आहृवान गरिएको छ ।
गाउँपालिकाले चार वटा माध्यमिक तहका विद्यालयलाई बस खरिदका लागि अनुदानको व्यवस्था मिलाएको अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार संघीय सरकारले बस खरिदमा ७५ प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । गाउँपालिकाभित्र राधा माध्यमिक विद्यालयले हाल बस सेवा सञ्चालन गर्दै आएको छ ।










