व्यासको तीन कार्यविधि पारित तथा संशोधन, सरसफाईका लागि जग्गा खरिद प्रक्रियालाई अगाडि बढाइने

दमौली : तनहुँको व्यास नगरपालिकाले तीन वटा कार्यविधि पारित तथा संशोधन गरेको छ । नगर कार्यपालिकाको विहीबार बसेको बैठकले नगरपालिका अन्तर्गतका उच्च शिक्षा एवं विद्यालय शिक्षा लिने विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्रि सम्बन्धी कार्यविधि, २०८२, विपन्न विरामीहरूलाई प्रदान गरिने आर्थिक सहायता नियमित गर्ने सम्बन्धी कार्यविधि, २०८२ र व्यासनगर अन्तर्गतका पारित विभिन्न कार्यविधि संशोधन गर्ने सम्बन्धी व्यास नगरपालिका केही कार्यविधि संशोधन सम्बन्धी कार्यविधि, २०८२ पारित तथा संशोधन निर्णय गरेको हो ।
बैठकले वडा नं. २ को कार्यालय भवनका लागि जग्गा प्राप्ति सम्बन्धमा जिल्ला समन्वय समिति मार्फत नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि ४३औं नगरसभाबाट पारित नीति तथा बजेट कार्यक्रम रातो किताब मार्फत सरोकारवालाहरूलाई सूचना प्रविधि शाखा मार्फत सार्वजनिकरण गर्ने निर्णय पनि बैठकले गरेको ।
संघीय बजेटवाट नगरपालिकालाई प्राप्त मा.वि. तथा आधारभूत विद्यालयलाई प्रदान गरिने विज्ञान, गणित र अंग्रेजी शिक्षक अनुदानको मा.वि. दरबन्दीमा गतवर्ष जुन जुन विद्यालय मापदण्ड अनुसार उपलब्ध गराउने मिल्ने हो सोही विद्यालयमा र आधारभूत दरवन्दीमा गतवर्ष कार्यान्वयन नभएको एक विद्यालयबाट हटाई उक्त एक दरवन्दी व्यासनगर ११ स्थित बसन्त आधारभूत विद्यालयलाई उपलब्ध गराउने र अन्य दरबन्दी ययावत कायम गर्ने निर्णय बैठकले गरेको ।
यस्तै, विगतको लामो समयसम्म पनि व्यास नगरपालिकाको सरसफाई व्यवस्थापनका लागि आवश्यक जग्गा खरिदको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत नेपाल सरकारसँग करिब एक वर्षअघि नै माग गरिएकोमा हालसम्म पनि हुने वा नहुने निर्णय नभएको हुँदा तत्काल निर्णयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिनिधि मण्डल पठाउने निर्णय बैठकले गरेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनको लागि वडा नम्बर ३ छनोट गर्ने निर्णय गरेको बैठकले नगरपालिका अन्तर्गत मातृ मृत्यु निगरानी तथा प्रतिकार्य सञ्चालन सम्बन्धमा उपप्रमुखको अध्यक्षतामा ७ सदस्य समिति गठन गर्ने भएको छ ।
व्यास नगरपालिकाको अनुरोधमा व्यास ७ र ८ को सहिद कालिका मार्गको स्तरीकरणका लागि गण्डकी प्रदेश सरकारबाट समपुरक योजनामा रु ५३ लाख ७ हजार र व्यास ११ स्थित खड्ककाली मार्गका लागि संघीय सरकारबाट रु १ करोड प्राप्त भएकाले संघ तथा प्रदेश कार्यविधि एवं मापदण्ड अनुसार उक्त विनियोजित रकमलाई ३०% मानी थप ७०% स्रोत सुनिश्चितता गरी कार्यान्वयनमा लग्ने बैठकले निर्णय गरेको छ ।
यस्तै, चालु आव २०८२÷८३ का लागि व्यास–८ बगुवा, व्यास–११ वेल्टारी र व्यास–१४ केशवटारमा निमर्माणका लागि प्रस्तावित स्वास्थ्य संस्थाहरूको भवनमा विनियोजित रकम प्रति स्वास्थ्य चौकी दोब्बर भन्दा बढी नहुने गरी स्रोत सुनिश्चितता गरी टेन्डर प्रक्रिया अगाडि बढाइने भएको छ ।
नगरपालिकाले स्थानीय तहको एकल अधिकार अन्तर्गत यस नगरपालिकाको सम्पतिकर सम्बन्धी विषय विज्ञहरूबाट तयार गरिएको घर जग्गा मूल्याङ्कनको आधार स्वीकृत गरी आवश्यक कर निर्माण एवं परिमार्जन गर्ने निर्णय भएको नगर प्रवक्ता एवं वडा अध्यक्ष सुरेश थापाले जानकारी गराए ।










