तनहुँमा माओवादी केन्द्रको दुइ पालिकामा अग्रता कायमै, २ वडामा विजयी
भञ्ज्याङ न्यूज

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा मतगणना जारी छ । जिल्लाको व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा अहिले मतगणना भइरहेको छ ।
यो समाचार तयार पार्दसम्मको अवस्थामा चार पालिकामा नेकपा -एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुइ पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायमै राखेका छन् ।
नेकपा माओवादी केन्द्रले बन्दिपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ ।
यस्तै, तनहुँको ८५ वडामध्ये हालसम्म १६ वडाको नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजामध्ये नेकपा एमाले र नेपाली कांग्रेसले ७/७ वडामा विजयी भएका छन् भने २ वटा वडा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
आँबुखैरेनी गाउँपालिका-१ मा माओवादीको प्यानल विजयी
आँबुखैरेनी गाउँपालिका-१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरेका छन् ।
सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले ७५२, कुमारबहादुर मगरले ७४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले ७५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले ८०८ मत प्राप्त गरी विजयी भएका छन् ।
ऋषिङ गाउँपालिका-१ मा माओवादीका कुश विजयी
ऋषिङ गाउँपालिका-१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फाट नेकपा माओवादी केन्द्रका कुश थापा विजयी भएका छन् । नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनका तर्फाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी भएका हुन् । थापाले ८३१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका खिमबहादुर थापाले ८२६ मत प्राप्त गरेका छन् ।
चार वडा सदस्य भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा सविना रानाले ८४६, दलित महिला सदस्यमा आशा नेपालीले ८५८, खुल्ला सदस्यमा धनबहादुर आलेले ८३३ र भिमबहादुर थापाले ७८१ मत प्राप्त गरेका छन् ।









