विज्ञान विषय शिक्षणका लागि सिकाई सहजीकरण
भञ्ज्याङ न्यूज

विज्ञान शिक्षक समाज (स्टान) तनहुँले विज्ञान विषय शिक्षणका लागि सिकाई सहजीकरण कार्यक्रम शनिवार दमौलीमा सम्पन्न गरेको छ । कार्यक्रममा तनहुँका १० वटै स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ४ देखि १० सम्म विज्ञान विषय शिक्षण गर्ने ८० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रदेखि कक्षा ५, ८ देखि १० को पाठ्यक्रम परिमार्जन गरेपछी परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक बारे शिक्षकहरुलाई प्रविधिकरणसँगै विज्ञान सम्वद्ध अन्य विषयहरु सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका कार्यवाहक अध्यक्ष संगम आचार्यले बताए ।
कार्यक्रममा विज्ञान विषयका लेखक डा. कमलप्रसाद सापकोटाले परिमार्जित पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा जानकारी गराउँदै नयाँ पाठ्यक्रमले जीवन उपयोगी सीपलाई बढी जोड दिएकाले घोकाएर भन्दा पनि विषयवस्तुका बारेमा धारणा निर्माण गरेर शिक्षण गर्न अनुरोध गरे ।
क्रियाकलापमा बढी जोड दिएकाले घोकाएर पाठ्यक्रमको उद्देश्य पुरा नहुने उनले बताए । उनले विद्यार्थीले विषयवस्तु बुझेर, सिकेर आफ्नो जीवनकालमा प्रयोग गर्न सक्ने गरी शिक्षण गर्न आग्रह गरे ।
उनले प्रश्न निर्माण कार्यशाला, परियोजना कार्य कसरी गर्ने ? शैक्षणिक योजना निर्माण लगायतका विषयमा सहजीकरण गरेका थिए । साथै शिक्षणका क्रममा देखिएका जटिलता, सबल, दुर्बल पक्षका बारेमा पनि अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विज्ञान र गणित विषयको नतिजा सन्तोषजनक नरहेकाले सबै विद्यार्थीलाई सफल बनाउने गरी सहज शिक्षण विधि अवलम्वन गर्न शिक्षकहरुलाई अनुरोध गरे ।
‘पछिल्लो समय प्रविधिको बढ्दो प्रयोग र पाठ्यपुस्तकहरु पनि समय परिस्थिति अनुसार परिमार्जन हुँदै आएकाले शिक्षकहरुले पनि आफुलाई परिमार्जन गर्दै लग्नुपर्दछ’, उनले भने, ‘विद्यार्थीको अभ्यास र चेतनाको स्तर बुझेर सबै समायोजित हुने ज्ञान र सीप हस्तान्तरण गर्न सक्नुपर्छ ।’
शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख विश्वप्रकाश रेग्मीले पाठ्यक्रम परिमार्जन हुँदा नयाँ पाठ्यक्रमबारे प्रबोधिकरण अति आवश्यक हुने बताए । नयाँ पाठ्क्रममा भएका सबै बिषयबस्तु बारे शिक्षकहरु जानकार नहुँदा पठनपाठनमा समस्या देखिन सक्ने बताउँदै उनले समस्या समाधानका लागि पाठ्यक्रममा परिमार्जन भएका विषयबारे शिक्षकहरुलाई बेलैमा जानकारी गराउन सक्नुपर्ने बताए ।
कार्यक्रममा टाइम्स इन्टरनेशल पब्लिकेशनका बजार व्यवस्थापक सन्तोष घिमिरेले परिमार्जित पाठ्यक्रमबारे शिक्षकहरु र लेखकबीच अन्तरक्रिया र छलफल हुँदा शिक्षणमा सहयोग पुग्ने महसुस गरी कार्यक्रम आयोजना गरिएको बताए । टाइम्स इन्टरनेशल पब्लिकेशनले बिगत १० वर्षदेखि नर्सरीदेखि १० कक्षासम्मको विज्ञानको पाठ्यपुस्तक प्रकाशन गर्दै आएको उनले बताए ।
विज्ञान शिक्षक समाज तनहुँका कार्यवाहक अध्यक्ष संगम आचार्यको सभापततित्वमा आयोजिन कार्यक्रममा सदस्य नारायण पोख्रेल, कोषाध्यक्ष देवराज अधिकारी लगायतले सहजिकरण गरेका थिए ।










