फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा फागुन २२ गते पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुन लागेको हो ।

आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, छिम्केश्वरी युवा क्लब तथा आँबुखैरेनी–५ कार्यालयको सहआयोजनामा मेला हुन लागेको हो । मेलाको संरक्षकमा गाउँपालिका रहेको छ । साहित्यिक पर्यटनका माध्यमबाट छिम्केश्वरीलाई देशभर चिनाउने उद्देश्यसहित मेला आयोजना गरिएको परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष छिम्केश्वरीमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । छिम्केश्वरी मन्दिरमा उक्त दिन पूजाआजाका लागि तनहुँका मात्र नभई छिमेकी जिल्लाबाट पनि सर्वसाधारण आउन गरेका छन् ।

छिम्केश्वरी तनहुँकै अग्लो स्थानमा रहेको ठाउँ हो । गण्डकी प्रदेश सरकारले घोषणा गरेका एक सय १० पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छिम्केश्वरी, यहाँ रहेको छिम्केश्वरी माई र छिम्कालेक मन्दिर, यहाँका धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कवि तथा साहित्यकारको प्रस्तुति, तमुहरुको संस्कृतिमा आधारित धनुषबाण विद्या प्रतियोगिता, भाला हान्ने, स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शनी, होली रमाइलो मेला प्रमुख आकर्षणका रुपमा रहेका छन् । मेलामा कलाकार चन्द्र परियार, निश्चल थापा, कमल सापकोटा, कहरसिं थापा, सीता केसी, दीर्घ खनाल, सिम्रन थापा, सन्तोष भुसाल लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । स्टल व्यवस्थापन उपसमितिमा लक्ष्मण गुरुङ, स्वयंसेवक व्यवस्थापन उपमितिमा रामकृष्ण गुरुङ, पानी, बत्ती तथा सरसफाइ उपसमितिमा आशबहादुर गुरुङ, अनुगमन तथा मूल्याङ्कन उपसमितिमा सन्तोष गुरुङ, खेलकुद सञ्चालन व्यवस्थापन उपसमितिमा वसन्त गुरुङ, खानपान तथा व्यवस्थापनमा देवीलाल गुरुङ संयोजक तोकिनुभएको छ ।

वडा नं ५ का वडाध्यक्ष सन्तोष गुरुङले मेलाले छिम्केश्वरीको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “होलीको अवसरमा छिम्केश्वरी मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणको घुइँचो लाग्छ, यस वर्षको होली मनाउन छिम्केश्वरी आउनुहोस्”, उहाँले भन्नुभयो, “छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि सबैको सहयोग आवश्यक छ ।”

छिम्केश्वरी समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएको छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल हेर्न सकिन्छ ।

गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आव २०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सय छको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६/७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker