युवा पत्रकारिता पुरस्कारबाट न्यौपाने र राना पुरस्कृत

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार-२०७९ बाट खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) कृष्ण न्यौपाने र कान्तिपुर टेलिभिजन तनहुँका सम्वाददाता प्रताप राना मगर पुरस्कृत भएका छन् । समाजले बुधबार स्थापना दिवसको अवसरमा दमौलीमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापा, पूर्व अध्यक्ष भीमराज गुरुङले संयुक्त रुपमा सम्मानपत्र र नगद पाँच हजार रुपैयाँबाट सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा नगरप्रमुख न्यौपानेले कोभिड व्यवस्थापनदेखि जिल्लाको समग्र स्वास्थ्य, शिक्षा क्षेत्रमा समाजले पुर्‍याएको सहयोग चर्चा गर्दै पत्रकारहरुलाई सम्मान गरेर समाजलाई समेत सकरात्मक सन्देश प्रवाह गरेको बताए । समाजका निवर्तमान अध्यक्ष थापा र पूर्व अध्यक्ष गुरुङले समाजले गर्दै आएको काममा पत्रकारको तर्फबाट प्राप्त सहयोग सकारात्मक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारीका अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की लगायतले समाजले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए ।

समाजले प्रत्येक वर्ष दुइ पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसकेका छन् ।

समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५/१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुइ लाख ४४ हजार सहयोग गरेको थियो ।

समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।

समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भिमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।

समाजमा चार सय जना तनहुँवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको पूर्व अध्यक्ष गुरुङले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker