नरभंक्षी चितुवा मार्न तनहुँ प्रशासनको निर्देशन
भञ्ज्याङ न्यूज
जिल्ला प्रशासन कार्यालय तनहुँले नरभंक्षी बनेको चितुवा मार्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभंक्षी चितुवा मार्न अनुरोध गरेका हुन् ।
व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरुले नरभंक्षी चितुवाले बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेपछि उक्त चितुवा मार्नुपर्ने भनि प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो ।
चितुवाले कात्तिक ४ गते बन्दिपुर गाउँपालिका-३ की ११ वर्षीया बालिका, कात्तिक १५ गते व्यास नगरपालिका-१२ छिर्कनेका ८ वर्षीय बालकलाई आक्रमण गर्दा मृत्यु भएको छ ।
यस्तै डिभिजन वन कार्यालय तनहुँले बन्दिपुर गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं. ११ र १२ मा गरी चितुवाको आक्रमणबाट ८ जना संख्य घाइते र ५ जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ ।
लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकिएको र मानिस तथा घरेलु पशु चौपायाहरु माथि निरन्तर आक्रमण भइरहेने स्थिति विद्यमान भएकाले उक्त त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीय बासिन्दालाई जीउज्यानको सुरक्षाको अनुभूति दिन आवश्यक देखिएको सर्न्दर्भमा सो हिंस्रक नरभंक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाई दिनुहुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम अनुरोध गरिएको छ ।
जिप्रकाले नरभंक्षी चितुवा मार्ने सम्बन्धमा गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपारध नियन्त्रण शाखा, डिभिजन वन कार्यालय तनहुँ, सशस्त्र प्रहरी वल नेपाल, गण हे. क्वा. तनहुँ नं. २३ गण मनकामना, व्यास नगरपालिकाको कार्यालय, बन्दिपुर गाउँपालिकालाई आवश्यक सहयोग गर्न बोधार्थ पठाएको छ ।
बिगत पाँच वर्षदेखि तनहुँमा वन्यजन्तु चितुवा र मानव बीच द्वन्द्व बढ्दै गएको छ । यो अबधिमा भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी १४ जना बालबालिका चितुवाको आक्रमण परी ज्यान गुमाएका छन भने दर्जन भन्दा बढी बालिबलिका घाइते भएका छन् ।
चितुवाले १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।











