शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि र पशुपालन प्राथमिकतामा
उत्पादनमा आधारित अनुदानको व्यवस्था

दुलेगौंडा : तनहुँको शुक्लाण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सोमबार आयोजित १७औं नगर सभामा नगरप्रमुख कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरेका थिए ।
बजेटको आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ । राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार ०२९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको हो । गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लाख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान पेश गरिएको छ ।
्नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ र जनसहभागिता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
पूर्वाधार विकासमा रुपैयाँ ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ, वडा कार्यालयका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ, सामाजिक विकासतर्फ ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासमा १ करोड ९२ लाख ८७ हजार ८०२ रुपैयाँ, वन, वातावरण तथा विपद् २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ, चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ ।
खर्चतर्फ विषयगत शाखा र अन्तरसम्बन्धित क्षेत्र २४ करोड ७ लाख ५६ हजार २९ रुपैयाँ, संघीय सरकारबाट प्राप्त शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूर अनुदान ७ करोड २६ लाख ६६ हजार ६६६ रुपैयाँ, गण्डकी प्रदेशबाट समपूरक अनुदान १ करोड २० लाख रुपैयाँ, गण्डकी सरकारबाट विशेष अनुदान ४० लाख, सर्शत अनुदान २ लाख, अनिवार्य दायित्व १० करोड ९८ लाख ५० हजार रुपैयाँ, कार्यालय सञ्चालन प्रशासनिक खर्च १५ करोड ८१ लाख ६१ हजार २६७ रुपैयाँ, जनसहभागिता फिर्ता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
आर्थिक विकास क्षेत्र : कृषि र पशुपालन प्राथमिकतामा
यस्तै, नगरसभामा उपप्रमुख खुम बहादुर विश्वकर्मा ‘राजु’ले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आर्थिक विकास क्षेत्र अन्तरगत नगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाँझो जमिन राख्ने कार्यलाई निरुत्साहीत गर्न परम्परागत कृषि अनुदान प्रणालीलाई विस्थापित गर्दै उत्पादनमा आधारित अनुदान, दुग्ध उत्पादनमा प्रति लिटर २ रुपैयाँ दिंदै आएकोमा अब ५ रुपैयाँ प्रदान गरिने नीति ल्याइएको उपप्रमुख विश्वकर्माले बताए । फलफूल तथा तरकारीमा प्रति किलो २ देखि ५ रुपैयाँसम्म अनुदानको व्यवस्था गरिने भएको छ ।
नगरपालिकाले बेलचौतारास्थित कृषि उपज संकलन केन्द्र संचालन गर्न आवश्यक रकमको व्यवस्था गर्नुका साथै सबै वडाहरुमा सुचिकृत कृषकहरुलाई कृषक परिचयपत्र प्रदान गर्ने र अनुदान तथा बिक्रि कार्यको लागि आवश्यक कार्यविधी तयार गरी लागु गर्ने नीति ल्याइएको उपप्रमुख विश्कार्मले बताए ।
कृषि उत्पादनको बजारीकरण मार्फत उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउन विभिन्न वडाहरूमा रहेका सामुदायिक भवनहरूलाई कृषि उपज संकलन केन्द्रको रुपमा उपयोग गरी कृषि एम्बुलेन्स मार्फत कृषि उपज संकलन तथा बिक्री केन्द्रमा ल्याई बिक्री वितरण गर्ने नीति नगरपालिकाले ल्याएको छ । कृषि उपजहरुमा प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरण तथा कृषकको लगानीलाई सुनिश्चित गर्न कृषि वीमा कार्यक्रमलाई प्रोत्साहन गरिने भएको छ।
वर्षा अवस्थामा माटोको उर्वराशक्ति ह्रास आई कृषि उत्पादनमा भइरहेको असरलाई न्यूनीकरण गर्न तथा माटोको गुणस्तर कायम राख्दै पर्यावरणलाई जोगाउन माटो परिक्षण कार्य सञ्चालन गरी जैविक खेती प्रणालीमा जोड दिने नीति लिएको नगरपालिकाले बाँझो जमिनमा कृषिको उत्पादन वृद्धि गरी आय आर्जन बढाउन उन्नत कफि खेती कार्यक्रमलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
विभिन्न कृषि उपजहरुमा लाग्ने रोग किराको नियन्त्रण गरी कृषि उत्पादन वृद्धि गर्न आवश्यक पर्ने वालि संरक्षण कार्यक्रम साथै कृषि उत्पादन तथा उत्पादकत्व बढाउन मुख्य कृषियोग्य क्षेत्रहरूमा कुलो, बाँध तथा तटबन्धनको निर्माण तथा मर्मतसंभार गरिने कार्यलाई निरन्तरता दिइने भएको छ ।
यस्तै, व्यवसायिक पशुपालन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरी उन्नत नश्वलका बाच्छाबाच्छी, पाठा÷पाठी उत्पादन गरी दुध र मासुमा आत्मनिर्भरता तर्फ उन्मुख गरिने भएको छ ।
उपप्रमुख विश्वकर्माद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पशु विकास क्षेत्रका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र अन्य निकायको सहकार्यमा संक्रामक तथा महामारी रोग विरुद्ध खोप कार्यक्रम सञ्चालनलाई निरन्तरता दिनुका साथै व्यवसायिक पशु फर्महरुमा पशु स्वास्थ्य प्राबिधिक र विज्ञबाट मासिक रुपमा फिल्ड अनुगमन गरी फर्ममा आवश्यक पशुको स्वास्थ्य जाँच तथा प्राबिधिक परामर्श र सुझाब प्रदान गरिने भएको छ ।
पशु विकास शाखामा आधारभुत प्रयोगशाला स्थापना भैसकेकोले नगरस्तरीय भेटेरिनरी अस्पतालको रुपमा स्तरोन्नतिका लागि आधार तयार गर्ने, पशुपन्छींबाट मानिसमा सर्न सक्ने महामारी रोग तथा संक्रामक जुनोटिक रोग नियन्त्रणका लागि विद्यालय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, नवप्रवर्तनमा आधारित व्यवसाय गर्ने युवाहरुलाई विशेष कार्यक्रम ल्याउने नीति नगरपालिकाको रहेको छ ।
यस्तै, पशुपन्छी तथा मत्स्य फार्म प्रवर्द्धनका लागि नीजि, समुह, सहकारीबाट सञ्चालित फर्महरुलाई फर्म स्थापना तथा यान्त्रिकीकरणमा सहयोग गर्ने नीति अवलम्बन गरिएको नगर उपप्रमुख विश्वकर्माले नीति कार्यक्रममा प्रस्तुत गरेका छन् ।










