तनहुँको झाँगाझोलीलाई जडीबुटीको “शैक्षिक हब”का रुपमा विकास गरिदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’का रुपमा विकास गरिदै लगिएको छ । ‘प्राकृतिक तथा साँस्कृतिक सम्पदा नै हाम्रो पर्यटन प्रवद्र्धनका प्रमुख आधार’ भन्ने मुख्या लक्ष्यका साथ अगाडि बढेको झाँगाझोली एग्रो टुरिजम प्रालिले जडीबुटीको शैक्षिक हबको केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरु निर्माण गरिरहेको छ।
धार्मिक तथा पर्यटकीय भ्रमणको नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गरिने भएको छ ।
करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पति लगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोलीका सञ्चालक उज्वल पौडेलले बताए ।
उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्ला जस्ता महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन्। सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो।
पौडेलका अनुसार करिब एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना निर्माण गरिएका छन् । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैंडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । कुम्ले खोलाको वरपर रहेको हरिया वनजंगल र यहाँ रहेका चुराचुरुङ्गीको आवाजले प्राकृतिमा रम्न र रमाउन चाहनेलाई झाँगाझोली उत्कृष्टा गन्तव्यका रुपमा विकास गरिदै लगिएको छ ।
अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा करिब एक हजार बढी र अन्य दिनमा एकदुई सय जनाका हाराहारीमा आन्तरिक पर्यटक घुम्नका लागि पुग्ने गरेका छन् । त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगैंचासमेत तयार गरिएको छ ।
सुरुङ्ग मार्ग निर्माण गरी दुई सय भन्दा बढी लोपोन्मुख चिनारीसहितको संग्रहालयसमेत तयार गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले यहाँ पुग्नेलाई अध्ययन केन्द्र समेत बन्दै गएको छ ।
विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको सञ्चालक वासु दाहाल बताउँछन् । उनले भने, ‘सिन्धुलीको झाँगाझोली क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यलाई तनहुँको झाँगाझोलीमा नमुनाका रुपमा निर्माण गरी तनहुँ र सिन्धुलीलाई पर्यटनका माध्यमबाट जोड्ने मुख्य उद्देश्य हो ।’
रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिरसमेत रहेको गौरादेवी उद्यानबाट पर्यटकले भरपूर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अग्र्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्दै लगिएको छ ।
सिन्धुलीको झाँगाझोलीदेखि तनहुँको झाँगाझोलीसम्म
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित छन् ।
सिन्धुली झाँगाझोली क्षेत्रका नेपालथोक, दुम्जा, झाँगाझोली गुठबजार, रातमाटा, बोहोरेटार, रामटार, पत्द्युरी, मुलकोट, गैरीपुछार, खाल्टेचैनपुर, शितलपाटीजस्ता बीपी राजमार्गमा पर्ने क्षेत्रहरू मात्र होइन, झाँगाझोली आसपासका क्षेत्रहरू परेवाडाँडा, नागेडाँडा, थुम्का, काशीखर्क, खहरे, बन्दीपुर, कोटगाउँ, सिरूवानी, सिम्ले, रानीछाँगा, अमारेजस्ता पर्यटकीय हिसाबले विशेष महत्व राख्ने क्षेत्र हुन् ।
दुई जिल्लामा रहेका झाँगाझोली एकापसमा भावनात्मक रूपले समेत जोडिएका छन् । झाँगाझोली एग्रो टुरिजम प्रालिले सिन्धुलीको झाँगाझोली र तनहुँको झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर बनाई मुलुकमा कृषि र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिने लक्ष्य लिएको छ ।
दुई झाँगाझोलीबीचको एकरूपता र समानताले दुवै झाँगाझोलीको पर्यटन प्रवद्र्धनमा नयाँपन ल्याउने सम्भावना रहेको छ । बीपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरू समेटेर तनहुँ झाँगाझोलीको परिकल्पना गरिएको सञ्चालकहरू बताउँछन् ।
पछिल्लो समय तनहुँको झाँगाझोली आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । भौगोलिक बनावट, प्राकृतिक सुन्दरता र पर्यटन प्रवद्र्धनको नयाँ प्रयोगले पनि पर्यटकहरूको झाँगाझोली मोह बढ्न थालेको अर्का सञ्चालक शंकरप्रसाद अधिकारीले बताए। शैक्षिक, धार्मिक, मनोरम दृश्यावलोकनले तनहुँ झाँगाझोली अवलोकनको लागि दैनिक सयौं पर्यटकको पहिलो प्राथमिकतामा पर्न थालेको छ ।
सुनकोशी गाउँपालिका सुनकोशी नदीको नामबाट नामकरण भएको हो । शुक्लागण्डकी नगरपालिका पनि नदीकै नामबाट नामकरण भएको पाइन्छ । एकताका प्रतीक पृथ्वीनारायण शाहको नामबाट नामाकरण भएको पृथ्वी राजमार्गमा पर्ने तनहुँ झाँगाझोली र जननेता बीपी कोइरालाको नामबाट नामाकरण भएको बीपी राजमार्गमा पर्ने सिन्धुली झाँगाझोलीबीच समानता र एकरूपता धेरै रहेका छन् ।
तनहुँको झाँगाझोलीदेखि दरगाउँ जोड्ने मोटर मार्ग स्तरोन्नतिका लागि संघीय सरकारले ३५ लाख बजेट विनियोजन गरेको छ । यही मार्ग हुँदै प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर जाने वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ ।
पृथ्वी राजमार्गको खैरेनीटारबाट करिब तीन किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीको अगाडि भाग भएर बग्ने कुम्ले खोलाको मध्यभागमा कृत्रिम बाँध बाँधेर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ।
नेपालमा रहेका सातवटै प्रदेशका विशिष्टीकृत सामानहरूको बिक्री एवं प्रदर्शन केन्द्र स्थापना गरी आंशिक रूपमा सञ्चालनमा आएको छ । पूर्ण रूपमा कोशेली घर सञ्चालन हुन केही समय लाग्ने सञ्चालकहरू बताउँछन् ।
सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गरिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, संग्रहालयमार्फत घुम्न आउने पर्यटकले जानकारी लिने गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker