भिमादको वार्षिक नगर विकास योजना सार्वजनिक : ६३ करोड ७२ लाख रुपैयाँको बजेट पारित

भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट (वार्षिक नगर विकास योजना) सार्वजनिक गरेको छ । नगरसभाको २०औँ अधिवेशन अन्तर्गत सोमबार आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री किरण गुरुङले वार्षिक नगर विकास योजना समेटिएको पुस्तिका सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री गुरुङले भिमाद नगरपालिकाको विकासको वर्तमान गति र भावी योजनाको प्रशंसा गर्दै स्थानीय सरकारहरू विकासको मेरुदण्ड भएकाले योजनामा सहभागीताको माध्यमबाट नागरिकहरूको विश्वास जित्न सक्नुपर्ने बताए ।
पूर्वमन्त्री गुरुङले निती तथा कार्यक्रममा प्राथमिकतामा राखिएका विषयलाई केन्द्रित गर्दै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको समयमा उत्पादनमुलक क्षेत्रमा लगानी गरी नगरवासीले उच्चतम लाभ लिन सक्ने खालका योजना ल्याउनुपर्ने उल्लेख गरे ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रित रहि तीन वटै सरकारसँग समन्वय गरी विकासका योजना कार्यान्वय गरेर समृद्ध भिमाद बनाउनतर्फ लाग्न आग्रह गरे । नेता गुरुङले संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न संसदले कानुन बनाउनुपर्नेमा सो अनुरुप कानुन बन्न नसक्दा संघीयतामाथि प्रश्न उठिरहेको टिप्पणी गरे ।
नगरप्रमुख दधिराज सुवेदीले आगामी वर्षलाई पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै योजनालाई जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । नगर विकास योजनाको सार्वजनिक पुस्तिकामा भौतिक पूर्वाधार, कृषि प्रवर्द्धन, पर्यटन विकास, शिक्षा र स्वास्थ्य सुधार, लैङ्गिक तथा सामाजिक समावेशिता लगायतका कार्यक्रमहरू समेटिएको उनले जनाए ।
कार्यक्रममा नगर उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजका विशिष्ट व्यक्तित्वहरू, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि ६३ करोड ७२ लाख रुपैयाँको बजेट पारित गरी सार्वजनिक गरिएको छ । चालुतर्फ ४३ करोड ९१ लख र पुँजीगतर्फत १९ करोड ८१ लख रुपैयाँ रहेको छ । आर्थिक विकासमा ३ करोड ५५ लाख, समाजिक विकासतर्फ ३५ करोड ५९ लाख, पूर्वाधारतर्फ १३ करोड ४९ लाख ४० हजार रुपैया विनियोजन गरिएको छ ।
कुल बजेटको ६८.९० प्रतिशत चालु र ३१.१० प्रतिशत बजेट पुँजीगततर्फ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा नगरले २ करोड रुपैयाँ आन्तरिक आय उठाउने लक्ष्य राखेको छ । ९ वटै वडाका वडास्तरीय योजनाका लागि ७ करोड ९९ लाख ९५ हजार रुपैयाँ छुट्याइएको छ ।










