कृषिउपजको मूल्य बढाउँदै कृषि उद्यम, तनहुँका ११ संस्थालाई प्रशोधन उपकरण र अनुदान
तनहुँ : तनहुँमा उत्पादित मकै, अदुवा, बेसार र महलगायत कृषिउपजलाई प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ गरी बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालित कृषि उद्यम विकास कार्यक्रमबाट १०८ जना कृषक तथा कृषि उद्यमी लाभान्वित भएका छन्। कार्यक्रमले किसानलाई उत्पादनमा मात्र सीमित नराखी उत्पादित वस्तुको मूल्य अभिवृद्धि गर्दै व्यावसायिक उद्यमसँग जोड्ने प्रयास गरेको छ ।
कृषि विकास कार्यालय तनहुँले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत जिल्लाका ११ वटा कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई उत्पादनपछिको प्रशोधन, लेबलिङ, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणका लागि अनुदान तथा उपकरण सहयोग गरिएको हो । लाभान्वितमध्ये ६८ जना महिला रहेका छन् ।
कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार कार्यक्रमका लागि १३ लाख रुपैयाँ बजेट विनियोजन भएकामा नौ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ। कार्यक्रममार्फत स्थानीयस्तरमा उत्पादित कृषिउपजलाई आफ्नै पहिचान र ब्राण्डसहित बजारमा पुर्याउने वातावरण निर्माण गर्न खोजिएको उनले बताए ।
कृषिउपजको उत्पादनपछि प्रशोधन र बजार व्यवस्थापनमा देखिएको समस्यालाई सम्बोधन गर्न विभिन्न उपकरणसमेत उपलब्ध गराइएको छ । कार्यालयले चारवटा डिजिटल तराजु, एउटा रोष्टिङ उपकरण, नौवटा सिलर, तीनवटा डिस्क मिल, एउटा तोरी पोल्ने मिल, दुईवटा स्लाइसर र चारवटा कम्बाइन मिल सहयोग गरेको छ ।
त्यसैगरी बोक्रा तास्ने, कनिका झार्ने, ब्याग लेबलिङ गर्ने र कृषिउपज सुकाउने उपकरण पनि उपलब्ध गराइएको अधिकारीले जानकारी दिए। उपकरणको प्रयोगबाट स्थानीय उत्पादनको प्रशोधन, ग्रेडिङ, तौल, प्याकेजिङ तथा लेबलिङ गर्न सहज भएको छ ।
कार्यक्रमबाट विशेषगरी मकै, अदुवा, बेसार र महलगायत कृषिउपजको प्रशोधन तथा बजारीकरणलाई प्राथमिकता दिइएको छ । कच्चा कृषिउपजकै रूपमा बिक्री गर्दा सीमित मूल्य पाउने किसानले प्रशोधन र प्याकेजिङपछि आफ्नै उत्पादनलाई बजारमा फरक पहिचानसहित बिक्री गर्न सक्ने कार्यालयको अपेक्षा छ ।
कृषि उत्पादनलाई व्यवसायसँग जोड्ने उद्देश्यले सञ्चालित कार्यक्रमबाट जिल्लामा ११ वटा कृषिमा आधारित उद्यम स्थापना भएको कार्यालयले जनाएको छ । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थलाई उपयोग गरी प्रशोधित वस्तु बजारमा पठाउने अभ्यासले कृषि क्षेत्रमा उद्यमशीलताको सम्भावना विस्तार गर्न सहयोग पुग्ने अधिकारीको भनाइ छ ।
उत्पादन बढाउनु मात्रै किसानको आय वृद्धि गर्ने पर्याप्त आधार नभएको उल्लेख गर्दै कार्यालय प्रमुख अधिकारीले उत्पादित वस्तुको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणलाई पनि कृषि विकासको अभिन्न अंग बनाउनुपर्ने बताए । किसानले उत्पादन गरेको वस्तुको गुणस्तर र बजार पहिचान स्थापित गर्न सके कृषि पेसालाई थप व्यावसायिक बनाउन सकिने उनको धारणा छ ।
कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य देखिएको छ । कुल लाभान्वित १०८ जनामध्ये ६८ जना महिला रहेकाले कृषि उत्पादनमा संलग्न महिलालाई प्रशोधन तथा उद्यम सञ्चालन मार्फत आयआर्जनमा जोड्नसमेत कार्यक्रमले सहयोग पु¥याएको कार्यालयले जनाएको छ ।
स्थानीय उत्पादनलाई कच्चा पदार्थकै रूपमा बिक्री गर्नुपर्ने अवस्थाबाट माथि उठाउँदै प्रशोधित वस्तु बजारमा पु¥याउने अभ्यास विस्तार गर्न सके किसानले आफ्नो उत्पादनको थप मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। यसका लागि उत्पादनसँगै प्रशोधन क्षमता, उत्पादनको गुणस्तर, ब्राण्ड पहिचान र बजारको सुनिश्चिततालाई जोडेर लैजानुपर्ने देखिन्छ ।










