बस्नेत र ठकुरीको जोडीले पायो मेयर कप व्याडमिन्टनको उपाधि
भञ्ज्याङ समाचारदाता (दमौली)

७१औं प्रजातन्त्र दिवसका अवसरमा तनहुँको दमौलीमा व्यास नगर व्याडमिन्टन क्लवले आयोजना गरेको तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल बस्नेत र प्रनिशसिं ठकुरीको जोडीले जितेको छ । धादिङका सुजन थापा र भिषण श्रेष्ठ जोडीसंग शनिबार भएको फाइनल प्रतिस्पर्धामा ए लेभलतर्फको उपाधि बस्नेत र ठकुरीको जोडीले जितेको हो । फाइनल खेल बस्नेत र ठकुरीको जोडीले २१-१५ र २१-११ को सोझो सेटमा जितेको थियो ।
बि लेभलतर्फ व्यास नगर व्याडमिन्टन क्लवका बिपीन घले र ठगेन्द्र राना प्रथम भएका छन् । उनिहरुले धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीलाई ११-२१, २१-१३ र २१-१५ को सेटले पराजित गरेका थिए । प्रतियोगिताको सि लेभलतर्फ व्यास नगर व्याडमिन्टन क्लवका सुजित राना र मेख राना प्रथम भएका छन् । उनिहरुले झापुटार व्याडमिन्टन क्लवका अमर थापा र अमर थापाको जोडीलाई १७-२१, २४-२२ र २१-१५ को सेटले पराजित गरेका थिए ।
यस्तै, महिला विधातर्फ व्यास नगर व्याडमिन्टन क्लवका रुवि श्रेष्ठ र सानुमाया श्रेष्ठ प्रथम भएका छन् । उनिहरुले पोखराका अनिता गुरुङ र चन्द्रा छन्त्याललाई २१-१७ र २१-१५ को सोझो सेटले पराजित गरेका थिए । ए लेभलतर्फ बुटवलका राजु थापा र विनोद पौडेल तथा काठमाडौका दिपक राना र सोनाम खपाङ्गी सान्त्वना भए । बि लेभलतर्फव्यास नगर व्याडमिन्टन क्लवका गोविन्द श्रेष्ठ र सागर थापा तथा चितवनका राजु सापकोटा र विष्णु दवाडी सान्त्वना भएका छन्।
ए लेभल तर्फप्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र सान्त्वना हुनेलाई रु ६ हजार सहित ट्रफी र मेडल प्रदान गरिएको व्यास नगर व्याडमिन्टन क्लवका अध्यक्ष कुमार गुरुङले बताए । बि लेभलतर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र सान्त्वना हुनेलाई रु ६ हजार सहित ट्रफी र मेडल प्रदान गरिएको छ । सि लेभलतर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु दश हजार र सान्त्वना हुनेलाई रु चार हजारा सहित ट्रफी र मेडल प्रदान गरिएको छ । महिला विधामा प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई रु पाँच हजार सहित ट्रफी र मेडल प्रदान गरिएको छ ।
विजेतालाई पुरस्कार वितरण गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुका साथै अनुशासित बन्न सहयोग गर्ने बताए । कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष यज्ञबहादुर राना, व्यास नगरपालिका-१० का वडाध्यक्ष तुलसीराम सापकोटाले खेलकुदको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका थिए ।










