तनहुँको शुक्लागण्डकीका विद्यालय पुनः बन्द गरियो, वडा नं. ५ का २८ वटा टोल सिल
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको शुक्लागण्डकी नगरपालिकाले सम्पूर्ण शैक्षिक संस्थाहरु पुनः बन्द गराएको छ। कोरोना संक्रमण जोखिम बढेको भन्दै नगरपालिकाले यही असोज महिनाबाट खुलेका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । वैकल्पिक सिकाई सहजीकरणका लागि नगरक्षेत्रमा सञ्चालित विद्यालय असोज १ गतेबाट खुलेका थिए । तर, नगर क्षेत्रमा कोरोना संक्रमण जोखिम बढेकाले नगरप्रमुख किसान गुरुङको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले खुलेका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी गराएका छन् ।
‘शुक्लागण्डकीमा सञ्चालित विद्यालयले विद्यार्थी संख्या हेरेर कक्षाकोठामै पढाउन थालेका थिए भने धेरै विद्यार्थी संख्या भएका विद्यालयहरुले टोलटोलमै सिकाई केन्द्र बनाएर तथा अनलाइन प्रविधिको प्रयोग गरी सिकाई सहजीकरण गर्दै आएका छन्’, नगर प्रवक्ता कुमालले भने, ‘नगर कार्यपालिकाको बैठकले अनलाईन बाहेकका अन्य कक्षा सञ्चालन गर्दा कोरोनाको संक्रमण फैलने जोखिम भएकाले तत्कालका लागि बन्द गराउने निर्णय गरिएको छ ।’
नगरपालिका क्षेत्रमा ५८ वटा सामुदायिक र २३ वटा संस्थागत गरी ८१ वटा विद्यालय सञ्चालित छन् । समुदायमा कोरोना बढ्दै गएको हुँदा सम्भावित जोखिमलाई मध्यनगर गर्दै विद्यालय बन्द गर्ने निर्णय र अब अर्को निर्णय नहुँदासम्म विद्यालय बन्दनै हुने नगरपालिकाले जनाएको छ ।
बेलचौताराका २८ टोल सिल
नगर कार्यपालिकाको बैठकले वडा नं. ५ का २८ वटा टोल सिल गरेको छ । ३३ वटा टोल रहेको उक्त वडामा समुदायस्तरमा भाइरस संक्रमण देखिएको हुँदा थप जोखिमबाट सुरक्षित गर्ने उद्देश्यले सिल गर्ने निर्णय भएको प्रवक्ता कुमालले बताए । निर्णयानुसार सोमबार राती १२ बजदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्म सिमलचौर, सिमलगैरी, नयाँ गाउँ, माथिल्लो नयाँ गाउँ र नागढुंगा टोल बाहेक अन्य सबै टोल सिल गरिने भएको छ ।
यस वडाका ४६ र २९ वर्षीय पुरुष तथा ३८ वर्षीया महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङमा परेका उनिहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । यो वडामा हाल १९ जना सक्रिय संक्रमित आईसोलेसनमा छन् । तीमध्ये ७ जना जिपी कोईराला राष्ट्रिय श्वाप्रश्वास उपचार केन्द्र बेलचौतारामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी रहेको बताइएको छ ।
यस्तै, बैठकले बाढीपहिरोले क्षति पुगेका घरका धनीलाई घरमै पुगेर राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । जनप्रतिनिधि, नगरपालिकाका प्राविधिक कर्मचारी सहितको टोलीले स्थलगत रुपमा बाढीपहिरोले पुर्याएको क्षतिको विवरण संकलन गरेको हुँदा क्षतिको आधारमा घरमै पुगेर राहत रकम वितरण गरिने बैठकले निर्णय गरेको प्रवक्ता कुमालले जानकारी गराएका छन् ।
नगरपालिकाले बाढिपहिरोबाट पीडित परिवारलाई चार वटा मापदण्ड तयार गरी राहत दिने भएको छ । पूर्ण क्षतिगर्स्त भएकालाई २० हजार रुपैयाँ, अति जोखिम भएका घरलाई १५ हजार रुपैयाँ, जोखिमयुक्त घरलाई १० हजार रुपैयाँ र आंशिक जोखिम भएका घरधनीलाई पाँच हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ ।
त्यस्तै, सिंचाईमा बाढीपहिरोले क्षति पुर्याएको स्थानको मर्मतका लागि नगरपालिकाले तारजाली वितरण गर्ने भएको छ । सिंचाईका लागि चालु आर्थिक वर्षा छुट्याएको २४ लाख रुपैयाँ बजेटले तारजाली खरिद गरी वितरण गर्ने निर्णय गरिएको छ । गण्डकी प्रदेश सरकारले अपाङ्गता ग्रामको स्थापनाका लागि शुक्लागण्डकी-८ डहरेमा जग्गा माग गरेकोमा उक्त स्थानमा जग्गा दिने निर्णय गरेको छ ।










