डेढ लाख घुस लिएको आरोपमा अख्तियारको फन्दामा परे तनहुँका एक सव इन्जिनियर
भञ्ज्याङ न्यूज
तनहुँमा घुस रकम सहित एक जना सव इन्जिनियर पक्राउ परेका छन् । विद्यालयको काम बनाउनका लागि भन्दै मागिएको १ लाख ५० हजार घुस रकम सहित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ शिक्षा तनहुँका सब इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराले अधिकारीलाई घुस रकमसहित जिल्लाको व्यास नगरपालिका-२ मालपोत लाईनस्थित भिरकोट रेस्टुराँबाट पक्राउ गरेको आयोगका प्रवक्ता मेघनाथ रिजालले बताए ।
सव इन्जिनियर अधिकारीकै कार्यक्षेत्र रहेको भानु नगरपालिका-५ मैबल स्थित सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको र योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन अधिकारीले घुस मागेको बताइएको छ ।
प्रवक्ता रिजालले भने, ‘शौचालय निर्माणको अन्तिम किस्ता लिनका लागि अनुगमन पश्चात काम सम्पन्नको कागजपत्र दिन उनले आलटाल गर्दै विद्यालयसंग रकम मागेको सुचना पाएपछि हामीले टोली खटाएका हौं ।’
रकमसहित पक्राउ परेका सब-इन्जिनियर अधिकारीमाथी थप अनुसन्धान हुने आयोगका प्रवक्ता रिजालले बताए ।










