मर्स्याङ्दी करिडोर : एकीकृत विकासका लागि संयुक्त रुपमा अगाडि बढ्ने निकटका स्थानीय तहहरु बीच समझदारी
डिपि अधिकारी/भञ्ज्याङ

भानु । मर्स्याङ्दी नदी अर्थात मर्स्याङ्दी करिडोरसंग जोडिएका स्थानीय सरकार एकीकृत विकासमा अगाडि बढ्ने समझदारी गरेका छन् ।
गण्डकी प्रदेशको मर्स्याङ्दी करिडोर आसपास क्षेत्रका स्थानीय तहहरुमा भएका असल अभ्यास आदान प्रदान गर्दै आईपरेका साझा समस्या र चुनौतीलाई ब्यवस्थापन गर्ने विषयमा समझदारी गरिएको हो ।
तनहुँको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका, लमजुङको बेशीशहर, सुन्दरबजार र राइनास नगरपालिका गरी ८ वटा स्थानीय तह मर्स्याङ्दी करिडोरमा पर्दछन् ।
तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीको संयोजकत्वमा शुक्रबार भानुमा करिडोरसंग जोडिएका पालिकाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा अन्तरपालिका समन्वय बैठक गरिएको थियो ।
करिडोर भित्रका जिल्लामा उपलब्ध प्राकृतिक, मानवीय र वित्तीय स्रोत साधनको उच्चतम् सदुपयोग गरी समृद्ध पालिका बनाउने अभियानका साथ अन्तरपालिका समन्वय र सहकार्यको संस्कृति प्रारम्भ गर्न अन्तरपालिका समन्वय बैठकको मुख्य उद्देश्य रहेको भानु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
उक्त बैठकले मर्स्याङ्दी करिडोर आसपास क्षेत्रका स्थानीय तहहरुको समिति संयोजकमा तनहुँको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा गोरखा पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान र बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापालाई चयन गरिएको छ ।

लमजुङको बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, राइनस नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेल र सदस्य सचिवमा तनहुँको भानु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेललाई चयन गरिएको छ ।
उक्त बैठकले डुम्रे-बेसीशहर सडक खण्ड दुइतर्फि गरी निर्माण गर्न र पृथ्वीराजमार्गको भानु-आँबुखैरेनी सडक खण्डको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन नेपाल सरकारसँग सबै पालिकाको प्रतिनिधि मण्डल अनुरोध गर्न जाने निर्णय गरेको छ ।
मर्स्याङ्दी कोरिडोर भित्रका आठ वटै पालिकामा विद्युत पटक पटक अवरुद्ध हुने समस्याको समाधान गर्न सब-स्टेशन स्थापना र प्रशारण व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग प्रतिनिधि मण्डल गई अनुरोध गर्ने निर्णय गरिएको छ ।
मर्स्याङ्दी करिडोर भित्रका स्थानीय तहमा भएका असल अभ्यासहरुको एक आपसमा आदान प्रदान गर्ने, स्थानीय तहहरु बीच अन्तरपालिका समन्वय बैठक ३/३ महिनामा पालैपालो गरी बस्ने निर्ण्र्ाागरिएको छ । यस्तै, अबको बैठक बन्दिपुर गाउँपालिकामा मंसिर १५ गते बस्ने निर्णय भएको समितिका सदस्य सचिव दिवाकर पौडेलले जानकारी गराए ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले मर्स्याङ्दी करिडोर प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण रहेकाले पर्यटन, कृषि, जलविद्युत, औधोगिक लगायतको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले करिडोर अर्न्तर्गतका स्थानीय तहहरुबीच सहकार्य गरी विकासको लागि नमूना क्षेत्र बनाउन आवश्यकता महशुस गरिएको बताए ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिँ अर्यालले छिमेकी पालिका बीच समन्वय र सहकार्य हुन जरुरी रहेको चर्चा गर्दै अहिले फोहोर ब्यवस्थापनको पाटो जटिल समस्या बनेको हुँदा करिडोर अर्न्तर्गतका पालिकाहरुको समन्वयमा संयुक्त रुपमा व्यवस्थित ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने विषयमा पनि अध्ययन छलफल गर्न आवश्यक रहेको बताए ।
सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोईरालाले करिडोर क्षेत्रलाई नमूना शहरको रुपमा विकास गर्न सकिने हुँदा यसका लागि हामी सबै हातेमालो गर्दै सहकार्यका साथै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले यस्तै, औधोगिक ग्राम निर्माण, जल विहार लगायत पर्यटकीय गतिविधिहरुलाई महत्व दिनु पर्नेमा पनि जोड दिए ।
र्राईनास नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङले अन्तर पालिका बीच असल अभ्यासको अनुशरण गर्नुपर्ने, कृषि र पर्यटनको विकासका लागि अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले मर्स्याङ्दी करिडोर अन्तर्गत रहेका साझा समस्या र चुनौतीहरुलाई सामना गर्न एक आपसमा हातेमालोको खाँचो रहेको चर्चा गरिन् ।
यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले मर्स्याङ्दी करिडोरलाई नमूनाको रुपमा विकास गर्न सकिने सुझाए । उनले मर्स्याङ्दी नदी र चेपे खोलाको पानीको उपयोगीताको विषयमा चर्चा गर्दै कृषि, साहित्य, पर्यटनमा जोड दिए ।
कार्यक्रममा बेसीशहर नगरपालिकाकी उपप्रमुख पदमा गुरुङ, सुन्दरबजार नगरपालिकाकी उपप्रमुख भवानी केसी, सुन्दरबजारका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, आँबुखैरेनी गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष दिनेश केसी, भानु नगरपालिकाका वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख ध्रुबराज पौडेल, भानुका प्रशासन शाखा प्रमुख कृषहरी लौडारी लगायतको सहभागिता रहेको थियो ।

अन्तरपालिका समन्वय बैठकमा सहभागिहरु बीच मर्स्याङ्दी करिडोर क्षेत्र जलस्रोत, जलविद्युत, खानेपानी, सिंचाइ, कृषिको सम्भावनायुक्त रहेको चर्चा गरेका थिए । सहभागिहरुले यस क्षेत्रमा रहेका थानीमाई, छिम्केश्वरी, आँधीमुल, खड्माई लगायतका धार्मिक क्षेत्र, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो, पहाडकी रानी बन्दिपुर, मिर्लुङकोट, अन्नपूर्ण पदमार्ग, थोरङ्पास, विश्वको सर्वोच्च स्थानमा अवस्थित तिलिचो ताल, ऐतिहासिक तनहुँसुर दरबार, लिगलिगकोट, राइनासकोट, लमजुङ दरबार, तुर्लुङकोट, काउलेपानी, टुटेपानी, पालुङटार एयरर्पोट लगायतका क्षेत्रलाई पर्यटन लक्षित कार्यक्रममा जोड्दै प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
नवीकरणीय उर्जा प्रवर्द्धन
यस्तै, उक्त बैठकमा नवीकरणीय उर्जा प्रवर्द्धनका विषयमा पनि पालिकाका प्रमुख तथा अध्यक्षहरुसँग छलफल गरिएको थियो । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा नवीकरणीय उर्जा अनुदान लगायत वैकल्पिक उर्जा प्रवर्द्धनका विविध पाटोको विषयमा छलफल गरिएको थियो ।
केन्द्रका निर्देशक डा. नारायण प्रसाद अधिकारीले संस्थाको उद्देश्यले रणनीति, अनुदानका मुख्य आधार, विभिन्न नवीकरणीय उर्जा प्रविधिहरुका लागि अनुदान, कर्जा तथा अन्य विविध प्रावधानहरु, संस्थागत व्यवस्था, अनुगमन तथा मुल्याङ्कन, विशेष अनुदान सम्बन्धी व्यवस्था, अनुदान परिचालन कार्यविधि तथा अन्य प्रावधानहरु लगायतका विषयमा सहजिकरण गरेका थिए ।
लघु तथा साना जलविद्युत र सुधारिएको पानीघट्ट, लघु तथा साना जलविद्युत, सौर्य घरेलु विद्युत प्रणाली, सौर्य मिनीग्रिड, बायोग्यास, जैविक उर्जा, वायु उर्जा, सौर्य-वायु उर्जाको मिश्रति प्रणाली, उत्पादनमुलक उर्जा प्रयोग लगायतका विषयहरु समेटिएका छन् ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सन् २०२३ सम्म सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रुपमा नवीकरणीय उर्जा उपलब्ध गराउने लक्ष्य अनुसार काम गरिरहेको केन्द्रका निर्देशक अधिकारीले बताए ।
परम्परागत र आयातित उर्जा माथिको परनिर्भरतालाई कम गर्न नवीकरणीय उर्जाको पहुँचमा वृद्धि गरी ग्रामीण क्षेत्रका जनताको जीवनस्तरमा सुधार गर्ने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले २४ जिल्लाका अधिकांश क्षेत्रमा नविकरणीय उर्जा प्रवर्द्धन कार्यक्रम लागु भएको र अन्य जिल्लामा विस्तार गर्ने क्रममा रहेको उनले जानकारी गारए ।










