व्यास नगरपालिकाले कर संकलनका लागि अभियान सञ्चालन गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकाले आन्तरिक कर संकलनका लागि अभियान चलाउने भएको छ ।
नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्र आर्थिक ऐन, २०८० अनुसार लाग्ने व्यवसाय दर्ता, व्यवसाय कर, सरसफाई शुल्क, सम्पति कर, भूमी कर संकलन गर्न पहिलो चरणको अभियान चलाउने निर्णय गरेको हो । नगरपालिकाले एक महिन सम्बन्धित वडा समितिको समन्वयमा आवश्यक जनशक्ति खटाइ अभियान सञ्चालन गर्न कार्यालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
यस्तै, नगरपालिकाले नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा मादी नदी उपत्यका विकास परियोजना समावेश गर्न अनुरोध गर्ने भएको छ । नगरपालिकाका सबै वडा र शाखाहरुबाट विगत आ.ब २०७४/०७५ देखि २०७९/०८० सम्म सम्पादित कार्यहरुको पारित कार्यविधि अनुसार पुस २ गते भित्र विवरण संकलन गरी पुस ३ गते भित्र नगरपालिकामा पेश गर्न सबै वडा समिति र शाखाहरुलाई निर्देशन दिएको छ ।
नगरपालिकाको आ.ब २०८०/०८१ को कुल आय/व्याय १ अरब ६८ करोड ९१ लाख २७ हजार रुपैयाँ भएकोमा प्रथम चौमसिकमा ४९ करोड ७२ लाख ५६ हजार ३१२ रुपैयाँ आम्दानी भई (२९.४४%) जम्मा चालु तर्फ ९३ करोड ८५ लाख ९० हजार रुपैयाँ विनियोजन भई २६ करोड ६८ लाख ५ हजार ७७८ रुपैयाँ (२८.४३%) खर्च बताइएको छ ।
पूँजिगत तर्फ ७५ करोड ५ लाख ३७ हजार रुपैयाँ विनियोजन भएकोमा ७ करोड ५ लाख ५ हजार ४६३ रुपैयाँ खर्च भई कुल खर्च ३३ करोड ७३ लाख ११ हजार २४१ रुपैयाँ भएको आर्थिक प्रशासन शाखाले जानकारी गराएको छ ।
यस्तै, नगरपालिका क्षेत्रभित्र नक्शापास प्रकृयामा आई भवन निर्माण कार्य भएका कुनैपनि व्यक्ति, सरकारी साथै सार्वजनिक जग्गा सम्पति नमिचेको, सन्धी सर्पन नमिचेको बाटोको सडक अधिकार क्षेत्र नमिचेको बाटोका निकास भएका भवनहरुको नगरपालिकाको नियम भित्र रहि यही माघ मसान्त भित्र नक्सा नियमित गर्न वा घर कायम गर्न भनिएको छ ।
व्यास नगरपालिका भित्रका विभिन्न योजनामा निर्माणको जिम्मा लिने केही निर्माण व्यवसायीहरुले ठेक्काको काम सम्पन्न नगरी पटक पटक पत्राचार गर्दा समेत सम्पर्कमा नआएकाहरुलाई अन्तिम पटक १५ दिन भित्र सम्पर्कमा आउन सुचित गरिने बैठकले निर्णय गरेको छ ।
व्यास नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई सार्वजनिक यातायात भाडामा कानुन बमोजिम छुट नपाएको भन्ने गुनासो आएकाले त्यस्ता छुट दिन सम्बन्धित सवारी धनि, चालकहरुलाई अनुरोध गर्ने र त्यस्तो छुट नदिएमा नगरपालिकामा सूचित गर्न सम्बन्धित ज्येष्ठ नागरिकहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।