एमालेका तीन नेता मुख्यमन्त्री बन्ने निश्चित, मधेसमा जसपा र जनमतको दाबी

भञ्ज्याङ समाचारदाता/काठमाडौं

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन छाडेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुने भएको छ। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नसक्ने अडान कसेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा गएर नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुइभन्दा बढी दलको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ ।

माओवादी र एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका छन् । गठबन्धन फेरिएसँगै संघीय सरकारदेखि प्रदेशसम्मको सत्ता समीकरणमा फेरबदल आएको छ ।

७ प्रदेशमध्ये तीनवटामा एमालेका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश १ मा हिक्मत कार्की, कर्णालीमा यमलाल कँडेल र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । उनीहरु तीनै जना एमाले स्थायी कमिटी सदस्य भएकाले मुख्यमन्त्री बन्ने निश्चित छ । कँडेललाई यसअघि मुख्यमन्त्री बन्ने बेला आफ्नै पार्टीका सांसदहरुले फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

तर, मधेस प्रदेशमा जसपा र जनमतको टकराव पर्ने देखिएको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ र एकीकृत समाजवादीसँग ७ सांसद छन् ।

मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र सांसद छन् । त्यस्तै राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक-एक सांसद पाएका छन् । ५४ सांसद आवश्यक पर्नेमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा ६३ सांसद पुग्छन्। एमालेले प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको नेतृत्वमा पाउँदा जनमत र जसपाको दाबी रहने देखिन्छ ।

यस्तै, सुदुरपश्चिममा माओवादीको खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ । बागमती पनि माओवादीले पाउने सम्भावना छ । बागमतीमा माओवादीका शालिग्राम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा टक्कर छ। यदि माओवादीले लुम्बिनी पाएमा बागमती एमालेले पाउनेछ । लुम्बिनीमा सत्ता समीकरण मिलाउँदा एमाले, माओवादी या नागरिक उन्मुक्ति पार्टीमध्ये एकले पाउने सम्भावना छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker