नेकपा एकीकृत समाजवादीको दमौलीमा शक्ति प्रदर्शन : समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको चेतावनी
भञ्ज्याङ न्यूज

नेकपा एकीकृत समाजवादीले शुक्रबार दमौलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान उपस्थितिमा शक्ति पर््रदर्शन गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मन्त्री श्रेष्ठ सहितको मोटरसाइकल र्याली सहित दमौली बजारमा शक्ति प्रदर्शन गरेको थियो ।
व्यास-३ दमौली स्थित पार्टी कार्यालयबाट सुरु भएको र्यालीले मालपोत लाइन, सत्यवती विद्यालय, गणेशमानचोक, सफासडक, बुल्दीपुल, भादगाउँ, बिसघरे लगायत बजारका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्यालीमा पार्टीका अध्यक्ष शंकरनारायण श्रेष्ठ लगायत पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।
र्याली पश्चात अनसनचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टीलाई कमजोर नठान्न चेतावनी दिएका छन् । मन्त्री श्रेष्ठले केही तत्वहरुले पार्टीको अस्तित्व स्वीकार नगरेकाले आफूहरुलाई कमजोर नठान्न चेतावनी दिएका हुन् ।

गठबन्धन भएका ठाउँहरुमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने पार्टीको केन्द्रीय समितिको निर्णय भएपनि तनहुँमा नेकपा एकीकृत समाजवादीलाई कमजोर ठानिएको मन्त्री श्रेष्ठ बताए ।
विशेषगरी व्यास नगरपालिकामा केही व्यक्तिहरुको अहमंताका कारण गठबन्धन हुन नसकेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘धेरै पटक बैठक बस्यौ, तर केही अहंकारी साथीहरुले हात्तीमा बसेको चमेरोलाई काँध थाप्न सक्दैनौ भनेर घमण्ड देखाए । हामी अझै पनि गठबन्धनको पक्षमा छौ ।’
‘निर्वाचनको दिन अझै पनि बाँकी रहेकाले व्यास नगरपालिकामा पनि गठबन्धन गरेर जान सकिन्छ’, मन्त्री श्रेष्ठले भने, ‘अझै पनि मिल्न सकिने ठाउँ छ, त्यसतर्फध्यान दिन गठबन्धनका नेताहरुलाई आग्रह गर्र्छौ । यदि त्यस तर्फध्यान दिएन भने हाम्रो भूमिका चुनौतीपूर्ण हुनेछ ।’

‘पाँच दलीय गठबन्धन संविधान रक्षाका लागि बनेकाले सबै दलको अस्तित्व स्वीकार गर्नुपर्छ’, उनले भने, ‘हामीलाई हात्तीको कानमा बसेको चमेरो हो भनेर हेप्ने काम भएको छ । हात्तीको कानमा बसेको चमेरो हो की हात्तीको खुट्टा हो त्यो प्रमाणित गरेर देखाइदिन्छौ ।’
नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठले नेपाली कांग्रेसले व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई समर्थन गर्नुपर्ने बताउँदै यदि त्यो भएन भने हामी त्यही अनुसारको भूमिकामा उपस्थित हुन्छौ भन्दै चेतावनी दिएका छन् ।










