युवा संघको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, थेबे र पुरीबिच प्रतिस्पर्धा

पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मनोनयन खुला गरिएको हो ।
मतदाता नामावली प्रकाशन भैसकेको छ । १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको छ । पर्वत, मोरङ लगायत जिल्लाको प्रतिनिधि छनोट विवाद टुङ्गिएर नामावली प्रकाशन गरिएको हो ।
अध्यक्षमा दुई प्यानलमा निर्वाचन हुने लगभग पक्का छ । अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिचमा प्रतिस्पर्धा हुने नेताहरूको बुझाइ छ । थेबेलाई एमाले अध्यक्ष केपी शर्मा ओली र पुरीलाई विष्णु पौडेल लगायत नेताहरूको समर्थन छ ।
मनोनयन सम्बन्धी सबै काम सकेर सोमबार बिहानदेखि मतदान हुने निर्वाचन तालिका छ । बिहान ८ देखि ४ बजेसम्म मतदान हुने र मतदान लगत्तै गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।