तनहुँका दुई रामचन्द्र : एउटा प्रधानमन्त्रीको आशमा, अर्को समानुपातिक सांसदको, पौडेलको तगारो जोशी

सबिन लामिछाने/तनहुँ

तनहुँकै भएर पनि, कांग्रेस नै भएर पनि, अनि किसुनजीले नै पत्याएर पनि रामचन्द्र पोखरेल सहकर्मी रामचन्द्र पौडेलजस्तो बन्न सकेनन् । भन्न त कांग्रेसका एक संस्थापक कृष्णप्रसाद भट्टराईले उनीहरुसहित चारैजनालाई देखाउँदै भनेका रहेछन्, ‘ल है, तपाईंहरु यहाँको हाईकमान्ड ।’

ती चार नेताहरु थिए– रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी र रामचन्द्र पोखरेल । बेला बितेर गयो । किसुनजी पनि गए । हाइकमान्डको हाईहाई पनि फासफुस भएर गयो ।

चार मध्येका एक जोशीलाई कांग्रेसले कारबाही गरेपछि फरक बाटो लागेर राजनीति गरिरहेका छन् । स्वास्थ्यका कारण कैनी राजनीतिमा सक्रिय छैनन् । सक्रिय पौडेल र पोखरेल हुन् । रामचन्द्र पौडेल झण्डै दुई दशकदेखि केन्द्रीय भूमिकामा हालीमुहाली गरिरहँदा केन्द्रीय भूमिकामा रहँदा पोखरेल भने जिल्लामै क्रियाशील छन् । रामचन्द्र भइकन पनि पोखरेल किन पौडेल बन्न सकेनन् त ?

पौडेलका समवयी नेता पोखरेल २०४८ देखि निरन्तर तनहुँ १ मा प्रत्यक्ष निर्वाचनका आकांक्षी हुन् । पौडेल र पोखरेलको एउटै गृह क्षेत्र भएकाले उनले टिकट पाउन सक्दैनन् । पोखरेलको आकांक्षा अर्कोपटक पूरा गर्ने भन्दै पौडेलले सधैंजसो चुनावका बेला उनलाई थामथुम पार्छन् ।

पौडेलले प्रत्येक चुनावमा पोखरेललाई दिने आश्वासन स्मरण गर्दै तनहुँका एक नेता भन्छन्, ‘तपाईं यसपटक होइन, अर्को पटक लड्नुस् । अर्कोपटक तपाईंको लागि म नै सहयोग गर्छु ।’

पौडेलको बचन पत्याउँदै उनलाई सहयोग गर्दै आएका पोखरेलले यसपटक पनि टिकट पाउने सम्भावना न्यून छ । यद्यपि, पोखरेलको नाम सिफारिसमा भने परिरहन्छ । पौडेल सहित केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, शंकर भण्डारी र पोखरेलको नाम तनहुँ १ बाट सिफारिस भएको छ ।

नेता रामचन्द्र नै अघि सरेकाले अरु नेताहरुले यस क्षेत्रमा टिकट पाउने सम्भावना यसपटक पनि देखिँदैन । पौडेलले विगतमा टिकटको लागि अडान लिनु र यसपटक ‘आफू’ नै भन्नुमा भिन्नता छ ।

सम्भवतः जीवनको अन्तिम चुनावी मैदानमा उत्रन लागेका पौडेललाई यसपटक कार्यकारी पदमा पुग्ने उत्कट चाहना छ । समानुपातिकको बाटो नरोजेर उनी फिल्डमै भिड्ने तयारीमा छन् । कार्यकारी पदको चाहना उनका पछिल्ला दुई अभिव्यक्तिले पनि पुष्टि गर्दछ ।

पहिलो बोलीः ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु । (तनहुँमा भदौ ३ मा पत्रकारसँग कुरा गर्दै)

दोस्रो बोलीः देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु । देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ । सुशासन दिन कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । (तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा १८ भदौमा बोल्ने क्रममा)

पौडेलको अनुकूलता

१४ औं महाधिवेशनमा पौडेल पक्षधरता नदेखाएर तटस्थ बसे । उनको तटस्थता विशेषतः सभापतिमा शेरबहादुर देउवालाई जिताउनका लागि भएको भनि आलोचना भयो । संस्थापनइतरको जिम्मेवारी डा. शेखर कोइरालालाई सुम्पिएर उनी देउवातिर नजिकिए । देउवातिरै फर्किएका कारण उनका लागि लाभ पनि भइदियो ।

गठबन्धनका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय समन्वय समितिको संयोजक बने । देउवालाई मनाएर नै पौडेल एकपटकका लागि कार्यकारी पद (प्रधानमन्त्री) बन्न चाहेको कांग्रेस नेताहरु बताउँछन् । ‘शेरबहादुर देउवा दाहिना छन् । प्रचण्ड र माधव पनि दाहिना नै छन् । यस्तो अनुकूल अवसर त उहाँका लागि कहिले आउँदै आउँदैन ।’ तनहुँका एक नेता भन्छन् ।

गठबन्धनका दलबीच तालमेलका कट्टर पक्षधर पौडेल हुनुले पनि उनका लागि थप लाभ प्राप्त हुने आकलन छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पौडेलले स्थानीय तहको निर्वाचनमा गुन लगाइसकेका छन् । भरतपुरमा रेणु दाहालको पक्षमा मत माग्नेमा सबैभन्दा चर्को भाषण सायदै पौडेलकै थियो ।

यसपटक पनि पौडेलको साथ प्रचण्डलाई चितवन–३ मा पर्नसक्छ । गठबन्धनमा कांग्रेसको मत बढी रहेको उक्त स्थानमा पुनः गएर प्रचण्डको पक्षमा पौडेलको भाषणको अपेक्षा उनीमा हुनेछ । ‘प्रचण्डलाई प्रधानमन्त्रीमा शेरबहादुर वा रामचन्द्र हुनुले फरक पार्दैन । प्रचण्डलाई जिताउन रामचन्द्र चितवन पुगेर भाषण गरिदिए भने त्यसको गुन त पौडेललाई निर्वाचन पछि तिर्लान् नि ।’ पौडेलका समकालिन तनहुँका नेता रामचन्द्र पोखरेल भन्छन् ।

यता पौडेललाई साथमा राख्दा देउवालाई पनि फाइदा नै छ । देउवासँग टक्कर लिँदै आएको व्यक्ति उनकै समूहमा समाहित हुँदा कोइराला पक्षलाई कमजोर पुर्‍याउन देउवालाई बल पुग्नेछ ।

‘पार्टी भित्रका प्रतिद्वन्द्वीलाई कमजोर बनाउन देउवाका लागि उपयुक्त माध्यम पौडेल हुनसक्छन् । देउवाकै विरोध गर्दै आएका व्यक्ति उनकै चाहे अनुसार भइदिनु सभापतिकोे ठूलो उपलब्धि हो नि,’ देउवा पक्षका नेता भन्छन् । उनका अनुसार देउवाको पार्टी भित्रको प्रतिपक्ष शेखर नभइ पौडेल हुन् । पौडेल नै देउवातिर लागेपछि सभापतिको राजनीतिक विजय भएको उनी मान्छन् ।

पौडेलको तगारो जोशी

पौडेल र गोविन्दराज जोशीको टकरावले दुई नेता दुईतिर लागेका छन् । पौडेलकै बलमा जोशीलाई पार्टीले निलम्बन गर्‍यो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेता पौडेल विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उनलाई पाँच वर्षका लागि पार्टीबाट हटाइएको थियो । कांग्रेसमा नरहेका जोशी नै अहिले पौडेलको टाउको दुखाई बनेका छन् ।

व्यास नगरपालिकामा पौडेल निकट बैकुण्ठ न्यौपानेसँग प्रतिस्पर्धा गराउन गोविन्दराज जोशीले पुत्र दीपकराज जोशीलाई उठाएका थिए । न्यौपानेले झिनो मत अन्तरले जोशीलाई पराजित गरेका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।

जोशीलाई एमालेको साथ थियो । ‘एमालेसँग तालमेलको कुरा भइरहेको छ । गठबन्धन नभए पनि बुबाले जित्नुहुन्छ,’ दीपकराजले भने, ‘रामचन्द्रसँग कांग्रेस कार्यकर्ता नै खुसी छैनन् । प्रधानमन्त्री बन्छु भनेर के गर्नु ? जनताले भोट दिंदैनन् ।’

जोशी पक्षको दाबीलाई भने पौडेल पक्ष पूर्णरुपमा खण्डन गर्दछ । लामो इतिहास बोकेको व्यक्ति र कुनै पनि विषयमा दाग नलागेका पौडेलले नै जित्ने दाबी नेता कमला पन्त गर्छिन् ।

जोशीले तनहुँ १ बाट उठ्ने घोषणा गरेर प्रचारप्रसारमा लागिसकेका छन् । पार्टी र तालमेलको बलमा जोशीलाई पराजित गर्नेमा पौडेल विश्वस्त छन् । ‘गोविन्दराज उठे पनि थोरै मतले जित्नेछु भनि उहाँ लागि लागिरहनु भएको छ,’ पौडेल निकट एक जिल्ला नेता भन्छन् । आकांक्षी अरु नेताको तुलनामा माथिल्लो स्थानमा पौडेल रहेकाले अन्यले पछि हट्नुपर्ने वाध्यता हुनेछ ।

तालमेलबाट तनहुँ १ कांग्रेसले लिने निर्णय भयो भने अघिल्लोपटक एमालेबाट निर्वाचित र हाल एकीकृत समाजवादीमा रहेका कृष्णकुमार श्रेष्ठ (किसान) ले अर्को स्थान रोज्नुपर्ने छ । गत निर्वाचनमा श्रेष्ठले कांग्रेस नेता पौडेललाई हराएका थिए । श्रेष्ठले ३४ हजार मत पाउँदा पौडेलले २७ हजार ६९० मत पाएका थिए ।

०४८ सालमा तनहुँ १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ बाट निर्वाचन लड्दै जित्दै आएका थिए । तर २०७४ मा वरिष्ठ नेता पौडेल क्षेत्र नं १ बाट उठ्दा पहिलो पटक हार व्यहोरेका थिए । यस क्षेत्रमा देवघाट, आँबुखैरहनी र बन्दीपुर गाउँपालिका सहित भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १ देखि ४ र ७ देखि १४ सम्मका वडाहरु पर्दछन् । तनहुँ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ५०१ मतदाता छन् ।

तनहुँ १ मा गत वैशाखको स्थानीय तह निर्वाचनको मत हेर्दा कांग्रेस पहिलो शक्ति बनेको छ । कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, माओवादीले ८ हजार ४७४, राप्रपा १ हजार ७७५, एकीकृत समाजवादीले ८९२, जसपाले ५४ मत पाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker