पृथ्वी राजमार्ग आसपासका रूख काट्न थालियो

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ-पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका-५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ । तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार दुइ सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ । सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका-१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । सडकलाई दुइ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने-पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । हाल आँबुखैरेनी-जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने-पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी-जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । रु ६ अर्ब २१ करोड ३१ लाखको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने-पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगेका छन् । भदौ १३ गते यनहुइका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो । भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि आए पनि कामदार भने आइपुगेका छैनन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बीमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन् । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।

चार लेनको सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल बनाइनेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने-पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । एकतिसमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । अरू २९ पुल दुइ प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुनेछ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मर्स्याङ्दी जलविद्युत् गृह छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिङ-पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुइ अर्ब नौ करोड ५४ लाख चार हजार विनियोजन भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker