तनहुँ सहित गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी : यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको संक्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा ८३९ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेङ्गी संक्रिमत नभेटिएका केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले बताइन । अंग्रेजी महिना जुलाई लागेयता संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ। सो महिनामा मात्र ३९७ जनामा डेङ्गी पुष्टि भएको थियो । अगष्ट लागेपछि २१९ जनामा संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले जानकारी दिइन्। अधिकांश डेङ्गी संक्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेका उनको भनाइ छ ।
बागलुङ नगरपालिकामा ३५९ र पोखरा महानगरपालिकामा २१३ जनामा संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गी संक्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको बताइन् । समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गी संक्रमण थप बढ्ने उनको भनाइ छ ।
डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताए। डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ ।
डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उनले बताए । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उत्तम उपाय भएका चिकित्सक बताउँछन् ।
डेङ्गी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ । असारदेखि कात्तिकसम्म डेङ्गीको संक्रमण बढी फैलने गर्छ ।
डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले लामो बाहुला भएको लुगा लगाउने, काम नपररी बाहिर नजानेलगायत उपाय अपनाउन सकिने प्रमुख शर्माले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी संक्रमण हुने भएकाले आवश्यक सचेतना अपनाउन उनले सबैलाई आग्रह गरे ।










