म्याग्दे गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले १३औं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित गाउँसभामा २६ वटा कानुनहरु परिमार्जित सहित पास गरिएको छ ।
संसदीय परम्परा अनुसार शुरु गरिएको गाउँसभाको आरम्भमा गण्डकी प्रदेश सभाको अधिवेशनको भिडियो सहित सभा शुरु गरिएको थियो । बैठकको प्रारम्भमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँसभाको कार्यक्रम तालिका प्रस्तुत गरेका थिए भने गाउँसभामा हरेक प्रस्तावमाथी विषयगत छलफल गरिएको थियो ।
१३औ गाउँसभाले कार्यपालिकाले गरेका निर्णय अनुमोदन, योजना तथा कार्यक्रम फरफारक, नदीजन्य घाट तथा नीजि जग्गा उत्खनन, मेडपा कार्यक्रम बजेट स्वीकृत, श्रम तथा रोजगार शाखा स्थापना, सभाको सचिवालय स्थापना, निकाशी ठेक्का सम्वन्धमा, वालश्रममुक्त गाउँपालिका घोषणा, बजेट रकमान्तर तथा शंशोधन, इन्धन सवारी मर्मत खर्च, अधिकार प्रत्यायोजन सम्वन्धी कानुन पारित गरेको छ ।
यस्तै, गाउँसभाबाट भु-उपयोग योजना, भुमि वर्गीकरण अनुमोदन, बढुवा नियुक्ति अनुमोदन, विधेयक स्वीकृत, करार नविकरण, फरक क्षमता भएका (क) वर्गको माग, आवधिक योजना, सडक गुरुयोजना, डिजिटललाईजेशन उपयोग र निरन्तर अध्यावधिक, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तोक आदेश, विविध विषय र अधिवेशन अन्त्य सम्वन्धी कानुन पारित गरेको छ ।
गाउँसभामा म्याग्दे गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्वन्धी विधेयक २०७९, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन, न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन, खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेकय २०७९, म्याग्दे गाँउपालिकाको भुमि विधेयक २०७९, वन व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ विधेयकमाथी गाउँसभाका सदस्यहरुले दफावार छलफल गरी पारित गरिएको थियो ।
कार्यक्रममा सुशासन समितिको प्रतिवदेन समितिको संयोजक सुनिता नेपालीले प्रस्तुत गरेकी थिइन् । यसैगरि न्यायिक समितिका संयोजक एवं पालिका उपाध्यक्ष वालकृष्ण घिमिरेले यस आबमा अर्धवार्षिक प्रगतिमा न्याय तथा निरुपण सम्वन्धी प्रतिवेदन पेश गरेका थिए ।










