संरक्षणको पर्खाइमा ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज
सानेबहादुर नेपाली/तनहुँ

तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन । दिनप्रतिदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याक कुहिएर झर्न थालेपछि खाली हुँदै गएका छन् ।
दुइ स्थानीय तह भीमाद नगरपालिका-७ र म्यादे गाउँपालिका-५ जोड्ने यो पुलको लम्बाइ करिब १६ मिटर लामो छ । राजा सुरेन्द्र विक्रमशाहले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७०० रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए ।
त्यही गुठीबाट उक्त झोलुङ्गे पुल निर्माण गरेको तथ्य फेला परेको छ । पुल निर्माणका लागि जिल्लाकै साविक ढोरफिर्दी हाल भीमाद नगरपालिकास्थित मिनाम खानीबाट फलाम उत्खनन गरी काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको बताइन्छ । पुलमा जडान गरिएका सम्पूर्ण धातु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरी हातको सिप प्रयोग गरिएको देखिन्छ ।
स्थानीय खानीको फलाम प्रयोग गरी साङ्लाको झोलुङ्गे पुल बनाइएको हुनाले यसको ऐतिहासिक महत्व रहेको छ । अर्कोतर्फ स्थानीय कालीगढले नै पुल निर्माण गरेकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ । भीमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले पुल संरक्षण तथा पुनःनिर्माण शीर्षकमा हरेक वर्ष आलोपालो बजेटको व्यवस्था गर्दै आएको छ । यस पुलसँग सम्बन्धित विज्ञ नभेटिँदा विनियोजित बजेट नै फ्रिज भएर गइरहेको छ । पुलको संरक्षण र मर्मत शीर्षकमा गण्डकी प्रदेश र भीमाद नगरपालिकाले पटकपटक गरी हालसम्म रु ९२ लाख बजेट विनियोजन गरिसकेको भीमाद नगरपालिका कार्यालयले जनाएको छ ।
भीमाद नगरपालिकाले आव २०७५/७६ मा रु ६० लाख, आव २०७६/७७ मा रु १२ लाख, आव २०७७/०७८ मा रु २० लाख विनियोजनसहित कूल रु ९२ लाख बजेट विनियोजन भइसकेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिनुभयो । बजेट विनियोजन भए पनि जनशक्ति अभावका कारण निर्माण कार्य हुन नसकेको उहाँले बताउनुभयो । विसं २०७४ को निर्वाचनपश्चात् जनप्रतिनिधि आएदेखि नै बजेट विनियोजन हुँदै आए पनि काम हुन नसक्दा रकम प्रिmज भएर जाने समस्या रहेको छ ।
पुलका लागि भनेर छुटयाएको बजेटबाट काम गर्न नसकेपछि त्यसै प्रिmज भएर गइरहेको छ । उहाँले भन्नुभयो, “पुरातात्विक महत्वको पुल भएकाले संरक्षणका लागि विज्ञ व्यक्तिको पनि अभाव रहेको छ ।” पुल संरक्षणका लागि हालसम्म नगरपालिकाले विनियोजन गरेको रकममध्येबाट रु १० लाखको लागतमा स्वागत गेट बनाउनुबाहेक पुलकै लागि भनेर अन्य रकम खर्च भएको छैन ।
नगरपालिकाले प्रदेश सरकारसँग डिपिआर तयार गरी पुल संरक्षणको प्रयास गरे पनि बजेट माग गर्दा बजेट नपरेको उहाँले बताउनुभयो। उहाँका अनुसार करिब रु ५१ लाख ४१ हजारको डिपिआर तयार गरिएको थियो । बजेट छुटयाइए पनि फ्रिज हुँदै जाने समस्या रहेकाले गत आवदेखि बजेट विनियोजन नगरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
पुलको संरक्षणमा चासो राख्दै आउनुभएका स्थानीय ध्रुवकुमार श्रेष्ठले यसअघि ऐतिहासिक पुलको संरक्षणका लागि नगरपालिकासँग स्पष्ट स्टिमेट नहुँदा काम हुन नसकेको बताउनुभएको थियो । पुलको संरक्षणका लागि धेरै ठाँउ धाइयो, पुरातात्विक विभागले स्पष्ट योजना ल्याउन भने पनि स्टिमेट तयार गर्न ढिला हुँदा काम अघि बढाउन नसकिएको उहाँले दाबी गर्नुभयो ।
पुलको लाको बाहिरीस्वरुप फलामको साङ्लो हेर्दा अझै पनि कतै खियासमेत लागेको देखिदैन । पुलको दुवै छेउका लाहरू फलामको साङ्लो तयार पारेर जोडिएको छ । उक्त साङ्लो जमिनमा गाडिएको छ । पुलको साङ्लो निकै आकर्षक छन् । यसले पर्यटकलाई लोभ्याउन सक्छ । सेती नदी माथि मोटरेवल पक्की पुल निर्माणसँगै फलामे साङ्लो झोलुङ्गे पुलको अस्तित्व हराएको छ ।
श्रीकृष्ण शाहीले पुल नजिकैको परिसरमा शिवजी, नारायण, शङ्करेश्वरी महादेव, भगवती मन्दिर, झोलुङ्गे पुल र दुइ वटा कलात्मक धर्मशाला निर्माण गरेका थिए । ढुण्डीराज शाहीले शिवजी मन्दिर निर्माण गरेको तथ्य पनि फेला परेको छ ।
आफ्नै गाउँठाउँको फलाम खानीबाट निकालिएको फलामबाट निर्मित झोलुङ्गे पुल संरक्षणमा नगरपालिकाले प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।
पुरातात्विक विभागसँगको निगरानीमा रहेर काम गर्न नगरपालिकाले आवश्यक पहलकदमी गरिरहेको उहाँले बताउनुभयो । नगरपालिका पुल संरक्षणको अभियानमा रहे पनि पुरातात्विक विभागले उत्खनन गर्न नदिएकोले संरक्षणको कार्य अघि बढ्न नसकेको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।
“पुरातात्विक विभागको निगरानीमा रहेर काम गर्न पाइन्छ भने पनि हामी काम गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “गौरवको विषय भएकाले यसको संरक्षणका लागि इच्छा शक्ति रहेको छ ।” आफ्नो कार्यकालमा संरक्षणको अभावमा ऐतिहासिक पुल भन्ने नबनाउन सक्रिय भएर लाग्ने आश्वसन नगरप्रमुख सुवेदीले दिनुभयो । रासस










