यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

बन्दीपुर गाउँपालिका–४ विमलगनरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार दरबन्दीअनुसारको कर्मचारी अभावमा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा दिइएको छ । उहाँले भन्नुभयो, “ट्रायल, लिखित परीक्षा र कार्यालयको कामकाज सञ्चालन पनि उत्तिकै गाह्रो भइरहेको छ ।”

कार्यालयले आव २०७९/८० मा रु १८ करोड ७५ लाख ६४ हजार सात सय १७ राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा कार्यालयले रु १३ करोड ८४ लाख २१ हजार तीन सय ५६ राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० मा सवारी चालक अनुमतिपत्रको ट्रायल सुरु गरिएपछि राजस्व केही बढेको हो ।

पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी ११ कर्मचारी कार्यरत छन् । कार्यालयमा राजपत्राङ्कित तृतीय एक, अधिकृतस्तर छैटौँ दुई, सहायकस्तर पाँचौँ एक, सहायक पाँचौँ (करार) तीन, कार्यालय सहयोगी एक, हलुका सवारी चालक एक तथा श्रेणीविहीन र ज्यालादारीमा एक÷एक कर्मचारी छन्।

कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो । जिल्लाबाटै ट्रायल सेवा सुरुभएपछि सेवाग्राहीलाई सहज भएको छ ।

कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयका रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर सङ्कलन, बाटो इजाजतपत्र, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता तथा नामसारी सेवा दिँदै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker