तनहुँको शुक्लागण्डकी र भिमादमा सोलार लिफ्ट सिंचाई योजना सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुुक्लागण्डकी र भिमाद नगरपालिकामा सोलार लिफ्ट सिंचाई योजना सम्पन्न गरिएको छ । शुक्लागण्डकी-१० को लोकेतिटार र भिमाद-७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।
योजना निर्माणसम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिंचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले बताए ।
उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा एक करोड २९ लाख रुपैयाँ र सिस्नेरीमा ७९ लाख रुपैयाँको लागतमा योजना निर्माण गरिएको हो । लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए ।
उक्त दुुइ स्थानमा गरी करिब आठ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ । सिँचाइ योजनाबाट शुक्लागण्डकीमा तीन सय र भिमादका दुइ सय बासिन्दा लाभान्वित हुने छन् । यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।
योजनाको निर्माण सम्पन्न भएरउपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनले भने, ‘सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।’
स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुइ वटा टयाङ्कीमा पानी संकलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छयाएर प्लट-प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा टयाङ्कीमा संकलन गरेर सिंचाइको व्यवस्था मिलाइएको छ । उक्त योजना अन्तर्गत तीन किलोमिटर पाइप विच्छयाइएको छ ।










