मानव र वन्यजन्तु बीचको द्वन्द्व

- ममता गुरुङ (तनहुँ)
शुक्लागण्डकी-बन्केवाकी इन्दिरा न्यौपानेको घर बस्तीको बीचमा छ । बस्तिदेखि जंगल करिब १ कि.मि. टाढा पर्छ । गत चैत महिना खेतबारीमा मकै लगाउने माचो थियो। कतैकतै मकैका विरुवा टुसाएका पनि थिए । गाउँलेहरु सवै आ-आफ्नै कामधन्दामा व्यस्त थिए । गत चैत्र ३ गते इन्दिरासामु नसोचेकै विपत्ती आइलाग्यो । २१ महिने छोरीलाई बाथरुमको ढोकामा राखेर आफु कपडा धुदै थिइन । आफ्नै सुरमा कपडा धोइरहेकी इन्दिराले अचानक नजिकै बच्चा चिच्चाएको आवाज सुनिन् । पछाडी फर्केर हेर्दा छोरी संस्कृतिलाई चितुवाले मुखमा च्यापेर लग्दै गरेको देखिन् । तर, पनि उनको मुखबाट वाक्य नै फुटेन । इन्दिरा चितुवाको पछि-पछि दौडिन् । चितुवा बारीको कान्लो उक्लने बेलामा इन्दिराले छोरीको खुट्टा समाउन भ्याइन् र चितुवाको पञ्जाबाट छोरीलाई खोसिन् । बल्ल ! उनले हारगुहार गरिन् ।
‘छोरीलाई बाघले च्यापेर लगेको देखेँ, चिच्याउन खोजे तर आवाज नै आएन, चितुवाको पछिपछि दौडिए’, उनले भनिन्, ‘छोरीको मायाले होला, बाघको पछिपछि दौडिए, डर नै लागेन । चितुवाबाट खोसेपछि छोरीलाई छातीमा टाँसे । लगभग गुमाइसकेकी छोरी फिर्ता ल्याउन सके ।’ आफू डराएर कराउँदै बसेको भए, छोरी अहिले आफ्नो काखमा नहुने उनको अनुभव छ । गाउँले सबै आ-आफ्नै काम धन्दामा थिए । कोही आएर छोरीलाई बचाउन नसक्ने कुरा सुनाउँदा उनी अहिले पनि सम्हालिन सक्दिनन् । छोरीलाई चितुवाको पञ्जाबाट खोसेपछि पुनः चितुवाले आक्रमण गर्न खोजेको तर चारैतिरबाट छरछिमेकी र गाउँलेहरुको हारगुहार पाएकाले आफुहरुको ज्यान बचेको इन्दिरा बताउँछिन् । संस्कृतिको कलिलो शरीरका विभिन्न अंगहरुमा चोट लाग्यो । उपचार पश्तात् घाउ निको भयो । तर इन्दिराको मनमा लागेको घाउ अझै आलै छ । तनहुँको यो एउटा उदहारण मात्र हो । यस्ता धेरै घटना घटेका छन् ।
२०७६ पुस १३ गतेका दिन । मौसम अत्यन्त चिसो थियो । साँझको करिब साढे ६ बजेको थियो । बाहिर झिसमिसे अध्याँरो भइसकेको थियो । शुक्लागण्डकी-३, उदेनढुङ्गा (रातमाटा)का २२ महिने रविन नेपाली पिँढीमा बसेर खाना खाँदै थिए । आमा लक्ष्मी पनि छोरासंँगै थिइन् । घरभित्र अँगेनामा मासु पाक्दै थियो । लक्ष्मी मासु चलाउन भित्र पसिन् । त्यहि मौकामा रविनलाई चितुवाले आक्रमण गर्यो, घिसारेर लग्यो । तर, लक्ष्मीले केही सुइँकोनै पाइनन् । उनी भित्र छोराले खान सक्ने हड्डी नभएको मासु रोज्दै थिइन् । भुट्दै गरेको मासु आमाछोराका लागि बटुकोमा हालेर बाहिर आइन् । त्यतिबेला, खाना खाइरहेका छोरालाई पिँढीमा देखिनन् । घरवरिपरी चारैतिर खोजिन् । छोरालाई कतै भेटिनन् । पिँढीमा बसरे खाना खादै गरेको छोरो एक्कासी हराएको खबर छरछिमेकीलाई गरिन् । गाउँले जुटे, चारैतिर खोजे तर पनि रविन भेटिएनन् । सबैतिर बच्चा हराएको खबर पुग्यो । इलाका प्रहरी कार्यालय बेलचौतारालाई पनि खबर भयो । भोलीपल्ट बिहानै प्रहरीसहि गाउँले मिलेर पुनः खोजी शुरु गरे । खोज्दै जाँदा घरदेखि करिब १ किमिको दुरीमा पर्ने ढाङढुङ्गे तीनपोखरी सामुदायिक वनको गोर्झे घाँरीमा घाँटी र शरीर छुट्टएिको विभत्स अवस्थामा रविनको शव भेटियो । प्रहरीका अनुसार शरीरको ७० प्रतिशत भाग चितुवाले खाएको थियो । सबैले खोजेपछि सकुशल नै छोरो भेटिने आशा गरेकी लक्ष्मी यो खबरले अचेत भइन् । घट्नापछि पनि चितुवा मानववस्तिमा आउन छाडेन । राती घर छेउमै चितुवा कराउन थाल्यो । गाउँलेले असुरक्षित महशुस गर्न थाले । गाउँले भेला भई हातहतियार सहित सामुहिक रुपमा जंगलमा गई होहल्ला गरे । स्थानीयसंगै शसस्त्र प्रहरीको टोली पनि चितुवा मार्न खटाइयो, तर चितुवा भेटिएन । घट्ना घटेको पनि अहिले बर्षदिन पुग्नै लागेको छ । लक्ष्मी अझै पनि रातभर जागा बस्छिन्। छोराको सम्झनामा भक्कानिन्छिन् । ‘अझै पनि बस्तीमा चितुवा कराउँदै हिड्छ, मेरो छोरो खाने बाघ यहि होला झै लाग्छ, कता-कता बाघसंग लड्ने शाहस जागेर आउँछ’, उनले भनिन्, ‘केहिबेरमै शरीर गल्छ ।’
विवाह पश्चात् माइतमै बसेकी लक्ष्मी केहि दिन अघिमात्र माइतीगाउँकै एक खाली घरमा सरेकी थिइन् । घर बस्तीको बीचमै भएपनि लामो समयदेखि मान्छे नबसेको हुँदा वरिपरी झाँडी थियो । उनले भनिन्- ‘विस्तारै झाँडी पन्छाउँला भन्ने थियो ।’ घरमा विजुली वत्ती पनि जोड्ने तयारीमा थियौँ, त्यतिबेला हामी टुकी वा मैनबत्ती बालेर बस्थ्यौँ ।’ यसअघि पनि बावु पिँढीमा खेल्थ्यो, म यताउता काम गर्थे, अरुले पनि त्यसै गर्थे, तर त्यो दिन हामीलाई दशा लागेको रहेछ । गहभरी आशु पार्दै लक्ष्मी बोलिन्, “खाना खाँदै गरेको बेला यस्तो घट्ना भयो, मेरो बावुले अघाइञ्जेल मासु खान पनि पाएन ।’ घट्ना घटेपछि लक्ष्मीले त्यो घरमा बस्न छाडिन् । श्रीमान पनि विदेशबाट फर्के ।
शुक्लागण्डकी, मसारमासानो बस्ती छ । बस्तीलाई चारैतिर घनाजंगलले घेरेको छ । भिरालो जमिन छ । पहिला घरहरु बाक्लै भएपनि बर्साई सराइले गर्दा तीन घरमा मात्र मान्छे बस्छन् । तीन घर पनि एकअर्काको करिब १०० मिटरको दुरीमा छन् । तीन घरको बीचमा खरले छाएको सानो घर छ । घरको पाली र पिँढी पनि साँगुरो छ ।
२०७७ साउन २१ गते, त्यहि पिँढीमा खेल्दै थिए, डेढ बर्षीय नारायण राना । हजुरबा पनि पिँढीको उपल्लो छेउमा बसिरहेका थिए । नारायणले कपडामा पिसाब गरे । आमा कृष्णकुमारी अर्को कपडा फेरिदिन कोठी भित्र के छिरेकी थिइन, नारायणलाई चितुवाले झम्टियो । कृष्णकुमारीले छोरालाई कालो जनावरले पिँढीबाट, आँगन हुदै बारी छेउबाट घिसार्दै लगेको देखिन् । चितुवाले लगेको भनेर उनले ठम्याउन सकिनन् । रातभर खोजे भोलीपल्ट मात्र उनीहरुले छोराको टाउको मात्र भेटे । पुनः घट्ना दोहोरिन नदिन भन्दै स्थानीय गाउँले कयौ रात कुरुवा बसे । चितुवालाई पासो थापे । बरु दिनडाहडै चितुवा बाटबाटै हिड्न थाल्यो तर, पासोमा परेन । घट्ना पश्चात् विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलका प्रतिनिधि पुगे । परिवारका सदस्यलाई सान्त्वना दिए, समवेदना प्रकट गरे । कृष्णकुमारी मन भुलाउने प्रयास गर्छिन् तर सक्दिनन् । उनी बेलाबेला छोराको सम्झनामा टोलाउँछिन् । राना दम्पत्तीको ठुलो छोरा रोजनस्थानिय अमर ज्योति मावि तल्लोपोखरीमा कक्षा ४ मा पढ्छन् । घट्ना हुनुअघि उनी एक्लै स्कुल जान्थे । तर अहिले उनलाई दैनिक विद्यालय पुर्याउने र ल्याउने गरिएको बुवा विष्णु कुमारले बताए । “कसैले कल्पना नै नगरेको घट्ना घट्यो,बाघ अझै कराउँदै हिड्छ”, उनले भने, “त्यहि भएर डर लाग्छ, आजभोलि प्रायः सवैले आफ्ना नानीबावुलाई स्कुलसम्मै छोड्न जान्छन् ।”
राना परिवार मात्र होइन, त्यहाँका स्थानीयवासीहरु अझै पनि त्रासमै बाँचेका छन्। उनीहरुको दैनिकी निकै असहज बनेको छ । “पहिले झै एक्लैदुक्लै घाँस दाउरा गर्न बन पस्न सकिएको छैन” स्थानीय पुर्णबहादुर राना भन्छन्- “ज्यानको माया लाग्दो रहेछ, वनमा पनि जान्नौँ,गाई बाख्रा पनि खुल्ला चौरमा चराउँछौँ ।” चितुवा आक्रमणको जोखिम कमहोस् भनेर मिरमिरे साँझ हुनासाथ घरमा बत्ती बाल्ने, घरवरपरको झाँडीहरु फाड्ने गरिएको राना बताउँछन् । मसारमा खानेपानीको दुःख छ । अल्लोपल्लो टोलका घरघरमै खानेपानीको सुविधा छ, तर मसारका तीन घरपरिवारलाई भने आधा घण्टा जंगलको बाटो हिडेर पानी ल्याउनु पर्ने बाध्यता छ । “पहिला त महिला, केटाकेटी एक्लै पनि पानी लिन जान्थे, त्यो घट्ना घटेपछि कोही कुवामा गएका छैनन्”- रानाले भने, “सबै एकैचोटी जाओ भन्दा पनि जान डराउँछन् ।”
जिल्लामा चितुवा आक्रमणको शिलशिला
जिल्लामा २०७४ फागुनदेखि ०७७ साउनभित्र चितुवाको आक्रमणमा परी १० जना बालबालिकाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय तनहुँको तथ्यांकमा आठजना घाइते भएका छन् । अधिकांशलाई घरको आँगन वा पिँढीबाटै चितुवाले आक्रमण गरेको छ । चितुवाले सबैभन्दा धेरै भानु नगरपालिकामा बालबालिकाको ज्यान लिएको छ । भानुमा मात्रै ५ बालबालिकाले ज्यान गुमाएका छन् । आव २०७६/०७७ मा मात्रै जिल्लाको भानुमा ५, व्यासमा १ र बन्दिपुर गाउँपालिकामा २ गरी ८ वटा जिउँदो चितुवालाई नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ ।
चितुवाले बालबालिकालाई किन आक्रमण गर्छ ?
बालबालिकाले प्रतिकार गर्न नसक्ने भएकाले चितुवाले आक्रमण गर्ने वन्यजन्तुसम्बन्धी जानकार प्राध्यापक कर्णबहादुर शाह बताउँछन् । ‘मानिस मात्र जनावरसंग डराउने हैन्, जंगली जनावर पनि मानिससंग डराउँछन’, उनले भने, ‘चितुवा नडराउने र आक्रमण गर्न सजिलो भएकाले बालबालिकामाथी आक्रमण गर्छ ।’ शाहका अनुसार चितुवा जंगली जिवजन्तुमा आश्रीत जनावर हो । जंगलमा आहाराको अभाव भएपछि वस्तीमा पसेर बालबालिकालाई आक्रमण गर्दछ। घाइते तथा बिरामी चितुवाले पनि जंगली जिवजन्तु सिकार गर्न नसक्ने अवस्थामा बस्तीमा आएर आक्रमण गर्दछ । चितुवालाई आवश्यक आहरा जंगलमा अभाव भइरहेको खण्डमा ठुला मान्छेलाई पनि आक्रमण गर्ने उनले बताए । शाहले जंगलमा चितुवाको वासस्थान विनाशसंगै खण्डीकरण, आहाराको अभाव, पानीको अभाव र वन डढेलको कारण चितुवा बस्तीमा पसेर आक्रमण गर्ने गरेको बताए ।
द्वन्द्व न्यूनिकरणमको प्रयास
सदियौँ कालदेखि मानव र वन्यजन्तु एकअर्कामा निर्भर छन् । यि दुइमध्ये एकलाई प्राकृतिक वा जैविक रुपमा संकट पर्दा अर्कोलाई पनि प्रभाव पर्ने गर्छ । मानव र वन्यजन्तुबीच धेरै सम्बन्धहरु सकारात्मक भइकन पनि पछिल्लो समय यि दुइ प्राणीबीचमा द्वन्द्व बढ्न थालेको छ । प्राकृतिक तथा मानवीय कारणले सम्बन्ध खल्बलिदाँ दुवै प्राणीको अस्तित्व जोखिममा परेको छ । गएको दुइ बर्ष अघिदेखि जिल्लामा चितुवा आक्रमणको घट्ना बढे पनि नागरिकलाई सुरक्षित र सचेत गराउन भने सरोकारवाला निकाय चुकेको देखिन्छ । घट्ना घटेपछि घट्नास्थल पुगी मुचुल्का उठाउने र राहत प्रदान गर्ने बाहेक अन्य सचेतनाका प्रभावकारी काम हुन सकेन । एक-दुइ घट्ना घटे लगत्तै जिल्लाभरि व्यापक रुपमा सचेतनामुलक कार्यक्रमगरी नागरिकलाई सजग गराउन सकेको भए, यति धेरै मानवीय क्षति हुदैनन्थ्यो ।
चितुवाको आक्रमणबाट जिल्लामा निरन्तर बालबालिका र पशुधनको क्षति हुन थालेपछि डिभिजन वन कार्यालय तनहुँले वन्यजन्तुबारे तथ्य बुझन क्यामेरा ट्यापिङ जडान गर्यो । चितुवाबाट बढी प्रभावित क्षेत्र भानु नगरपालिकाको २२ वटा सामुदायिक वनमा अनुसन्धानको रुपमा जडान गरिएको क्यामेरा ट्यापिङमा चितुवाको संख्या अत्याधिक देखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए । ‘हामीले पन्ध्र दिनसम्म नियमित अध्ययन गर्यौँ, १५ देखि २० वटा चितुवा क्यामेरामा कैद भएको छ’, उनले भने, ‘करिब ४ किमिमा चितुवा भेटिएको छ, यो भनेको चितुवाको धेरै संख्या हो । यो हिसाबले पनि भानु क्षेत्र निकै संवेदनशील छ ।’ तर त्यो ठाँउमा मृग तथा बदेल जस्ता आहारा प्रजाति भेटिएनन् ।’ अहिलेसम्म आफुहरुले गरेको खोज अनुसन्धानको क्रममा वन्यजन्तु वस्ती पस्नुको विभिन्न कारणहरु फेला पारिएको काफ्लेले सुनाए । ‘वन क्षेत्रमा पानीको समस्या छ, पहिले पहिले भएका पानीका श्रोतहरु विकासको नाममा डोजर लगाउँदा र मौसम परिवर्तनले सुकेका छन्’, उनले भने- ‘वन क्षेत्र आसपास खोल्साखोल्सीमा भएका पानी एउटा थोपो पनि नखसालेर पाइप मार्फत मानववस्तीमा लगिएको छ, यसले गर्दा पानीको खोजीमा भौतारिदै चितुवा मानव वस्तीमा छिर्ने र नजिकै बालबच्चा भेट्दा आक्रमण गर्ने गरेको देखिएको छ ।”
चोरी शिकारीका कारण चितुवाको लागि आहारा प्रजातिका जनावर वनजंगलमा नहुनुले पनि चितुवा खानाको खोजीमा बस्ती छिर्दा मानवीय क्षति भएको काफ्ले बताउँछन्। ‘अहिले वनजंगलमा माँसहारी र आहारा प्रजाति दुबै खालका जनावरका लागि खानाको अभाव छ’, प्रमुख काफ्लेले भने, ‘यहि समस्यालाई मध्यनजर गर्दै हामीले पानी र कलिलो घाँस -घाँसे मैदान) को व्यवस्थासहित उनीहरुको आधाभूत आवश्यकता जंगलमै पुर्ती हुने गर्न सक्यौं भने बस्तीमा पस्दैन भन्ने हिसाबले सावधानी रुपमा कामको शुरुवात गरेका छौँ ।’
उनका अनुसार चालु आर्थिक बर्षमा विभिन्न सामुदायिक वनमा १५ वटा पोखरी निर्माणको काम थालिएको छ । जिल्लाको भानु, व्यास, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर र आँबुखैरेनीका वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो । वन कार्यालयले प्रभावित क्षेत्रका स्थानीय सरकारको समन्वयमा जनचेतनामुलक कार्यक्रम पनि शुरु गरेको छ । मंसिर २५ गतेसम्म भानुको १५ टोलमा स्थानीयलाई सहभागी गर्राई सचेतना मूलक गोष्ठी सम्पन्न गरिएको प्रमुख काफ्लेले जानकारी दिए ।
आहारा प्रजातिका प्राणीको संरक्षणका लागि चोरी शिकारीजन्य अपराधिक गतिविधि रोक्न स्थानीयसंग मिलेर निगरानी बढाउने र सुराकी दिनेलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ । मानव तथा वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषय वन कार्यालयको मात्र जिम्मेवारी नभइकन यो सवैको साँझा दायित्व भएकाले स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार लगायत सबैको योगदान र भुमिका रहनु पर्ने उनको भनाई थियो ।
द्वन्द्व न्यूनिकरणमा स्थानिय सरकारको चासो
जिल्लामा २०७४ साल फागुनदेखि शिलशिलावद्ध रुपमा चितुवाको आक्रमण भइरहेपनि स्थानिय सरकारले गम्भिर रुपमा लिएको देखिदैन ।त्यसयता तीन आर्थिक बर्षको बजेट ल्याइसकेपनि मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि छुट्टै बजेट विनियोजन गरेको पाइदैन । शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले बढ्दो मानव र वन्यजन्तु द्धन्द्धको घट्नालाई नगरपालिकाले गम्भिर रुपमा लिएको बताउँछन् । नगरले छुट्टै बजेटको व्यवस्था नगरे पनि वन कार्यालयसंग समन्वय गरेर अगाडी बढ्न नगरपालिका तयार रहेको मेयर गुरुङको भनाई छ । उनले दीर्घकालिन रुपमा मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका विशेष खालको नीति निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै संघीय सरकारको नीति निर्देशन अनुसार आफुहरु चल्ने बताए। ‘नगरपालिकाले पनि छुट्टै कार्यक्रमसहित बजेट विनियोजन गर्नु पर्ने अवस्था आएमा हामी बजेटको व्यवस्था गर्न तयार छौँ, तर कार्यक्रमबारे विज्ञहरुले स्पष्ट योजनाद्वारा हामीलाई निर्देशन दिनुपर्यो’, उनले भने ।
तत्काललाई नगरपालिकाको क्षमताले भ्याएसम्मका सचेतना मुलक कार्यक्रमदेखि जंगल छेउछाउ बस्ती भएका स्थानमा उज्यालो बत्ती जडान गर्ने र झाँडी पन्छ्याउने जस्ता कार्यक्रम गरिरहेको उनको भनाई छ । चितुवालाई बस्तीमा पस्न नदिनका लागि सवैभन्दा पहिले आहारा प्रजातिका जंगली पशुपंक्षीको चोरीशिकारी रोक्नुपर्नेमा जोड दिए । ‘चोरी शिकारी बढेको छ, यस्ताखालको गतिविधि रोक्न सकियो भयो भने चितुवालाई जंगलमै आहारा पुग्छ’, उनले भने, ‘त्यसपछि चितुवा बस्तीमा छिर्दैन जंगलमै बस्छ ।’ वैज्ञानिक र सामुदायिक वनको नाममा वनभित्र रहेका जामुन, हर्रो,बर्रो जस्ता फलफुलजन्य बोटहरु हुर्काउनु पर्ने देखिएको मेयर गुरुङले बताए ।’ सालको बोटहरु राख्ने तर अरु सवै विरुवा पन्छाउने गरिन्छ’, उनले भने, ‘अब अन्य बोटहरु पनि हुर्काउनु पर्यो, खरायो, मृग, रतुवा र बँदेल जस्ता जनावरले खाने वनस्पती मास्न भएन ।’
त्यस्तै, अर्को प्रभावित क्षेत्र भानु नगरपालिकाका मेयर उदयराज गौलीले चितुवाको आक्रमणबाट भानुले ठुलो मानवीय र पशुधनको क्षति व्यहोर्नु परेकाले मानव वन्यजन्तु द्वन्द्वको विषयलाई निकै महत्वका साथ लिइएको बताए । चितुवा नियन्त्रणका लागि खोर बनाउन मात्रै नगरपालिकाले लाखौँ बजेट खर्च गरेको र चालु आर्थिक बर्ष पनि धेरथोर बजेट विनियोजन गरिएको उनको दाबी छ। ‘चितुवालाई मानववस्तीमा पस्न नदिन के गर्न सकिएला भनेर हामी निकै चिन्तित छौँ’, उनले भने, ‘विज्ञहरुसंग रायसुझाव लिएर उहाँहरुले भने अनुसार योजना बनाउने छौँ ।’ मेयर गौलीले मानव वन्यजन्तु व्यवस्थापनको विषय निकै चुनौतिपुर्ण रहेको बताए । ‘चितुवा माँसहारी भएकाले दुःख पर्यो भनेर घाँस खाँदैन, सिकारै हान्ने हो’, उनले भने, ‘बाघलाई सबैभन्दा सजिलो खेल्दै गरेको बच्चालाई हान्न हुँदो रहेछ, अब यसको दीर्घकालिन समाधान लागि ‘एग्रो फोरेष्ट’को अवधारणा ल्याउनुपर्छ ।’
उनका अनुसार वनजंगलमा फलफूलको बोट रोपिदिने, कटुस र अम्बाको बोट नमास्ने, दुबो तथा घाँसका विरुवाहरु रोपेर घाँसे मैदान बनाउन नगरपालिकाले बजेट नै विनियोजन गरेको छ । यदि बाघको आहाराजन्य प्रजातिहरु बाँदर, हरिण, रतुवा तथा चित्तल जस्ता जनावरलाईलाई जंगल रहने वातावरण बनाउन सकियो भने मानव वन्यजन्तु द्वन्द्व पनि न्युनिकरण हुने मेयर गौलीको भनाई छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यक्रम तथा योजना
नेपाल सरकारले मानव वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरणका लागि नागरिकसंग मिलेर काम गर्ने, जनचेतना अभिवृद्धि गर्ने, समुदायमा आधारित विभिन्न समिति, सामुदायिक वन तथा स्थानीय समुदायसंग मिलेर काम गरेको मन्त्रालयका सचिव महेश्वर ढकालले जानकारी दिए । ‘वन्यजन्तुले दुःख दियो, घाइते बनायो भने कसरी उद्धार गर्ने र मान्छे तथा वन्यजन्तु दुवैलाई जोगाउने गरी तनहुँको हकमा नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मातहतमा रहने गरी भानुमा प्राणी उद्यानस्थापना गरिएको छ’, उनले भने, ‘अर्को डिभिजन वन कार्यालय कास्की अन्तर्गत लेखनाथमा पचभैया चिडियाखाना प्राणी उद्यान स्थापना भएको छ ।’ गण्डकी प्रदेशको कुनै जिल्लामा चितुवा लगायतका जनावरले दुःख दिए वा आक्रमण गरे उद्धारका लागि एम्बुलेन्स समेतसंचालनमा ल्याइएको सचिव ढकालको भनाई छ ।’हामी विस्तारै विस्तारै उद्यानको क्षमता पनि अभिवृद्धि गर्दैछौं, उनले भने, ‘साँगठनिक संरचना, बजेट, प्राविधिक ज्ञान तथा प्रविधि, औषधी लगायतको व्यवस्था गर्नेछौँ ।’
त्यस्तै मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्न नेपाल सरकारले राहत निर्देशिका सुचिकृत गरी मान्छेको मृत्यु भएका १० लाखसम्म, घाइते भएमा २ लाखसम्म अस्पताल भर्ना हुनुपरेमा उपचार खर्च सवै व्यर्होने, गाईबस्तु लगायत पशुचौपायमा हानी पुर्याएमा ३० हजारसम्म र अन्नवालीको हकमा १० हजारसम्म राहतको व्यवस्था गरिएको ढकालले बताए । उनले भने- ‘राहत वितरणमा अहिले भइरहेको ढिलो प्रक्रियालाई सुधार्दै सक्दो छिटो उपलब्ध गराउने गरी मन्त्रालयले तयारी गरेको छ ।’










