भिमादमा राष्ट्रिय परिचयपत्र सेवा सुरु, डुम्रेमा पनि स्टेशन राख्ने तयारी

तनहुँ : तनहुँको भिमाद नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले मंगलबार एक सूचना जारी गर्दै भिमाद नगरपालिका, घिरि गाउँपालिका, ऋषिङ गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ र म्याग्दे गाउँपालिका वडा नं. ५ कार्यक्षेत्र रहने गरी राष्ट्रिय परिचयपत्रको लागि वायोमेट्रिक लिने, फोटो खिच्ने कार्य नगरपालिकाको कार्यालयबाट सेवा सञ्चालनमा रहेको जानकारी गराएका छन् ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलनकालागि आवश्यक उपकरण तथा सामग्री जडानको काम सकिएसंगै सेवा सञ्चालनमा ल्याइएको हो । स्टेशन सञ्चालनमा आएपछि जिल्लाको पश्चिमी तथा दक्षिणी भेगका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद बजारमा दुईवटा विवरण दर्ता स्टेशन स्थापना गरेको छ । स्टेशन सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री जडान सोमबारदेखि सुरु भएसँगै सेवा सञ्चालनमा ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार भिमादमा स्टेशन सञ्चालन भएपछि भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका नागरिकले स्थानीयस्तरबाटै राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालय दमौलीमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तारका लागि भिमादमा स्टेशन स्थापना गरिएको हो । सेवाग्राहीको चाप व्यवस्थापन गर्न प्रशासनले टोकन प्रणाली लागू गर्नुका साथै आवश्यकताअनुसार बिदाका दिन र अतिरिक्त समयमा समेत विवरण दर्ताको सेवा दिँदै आएको छ ।

प्रशासनले सेवाग्राहीको चापअनुसार जनशक्ति तथा उपकरण थप गर्न माथिल्लो निकायमा समेत पत्राचार गरेको जनाएको छ । भिमादमा दुईवटा स्टेशन सञ्चालनमा आएपछि दमौलीमा रहेको सेवाग्राहीको चापसमेत घट्ने अपेक्षा गरिएको छ ।

यसैगरी, जिल्लाको पूर्वी तथा उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरी डुम्रे आसपासमा अर्को राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन स्थापना गर्ने तयारी भइरहेको छ। भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका नागरिकलाई लक्षित गरी स्टेशन स्थापना गर्न लागिएको हो ।

प्रजिअ तिवारीका अनुसार डुम्रेमा स्टेशन सञ्चालनका लागि आवश्यक कार्यालय व्यवस्थापन गर्न उपयुक्त स्थानको खोजी भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हटाउँदै स्थानीय तहबाटै सेवा उपलब्ध गराउने तयारीले नागरिकको समय, खर्च र आवतजावतको झन्झट कम हुने अपेक्षा गरिएको छ । जिल्लाका विभिन्न भेगमा विवरण दर्ता स्टेशन विस्तार भएपछि प्रशासन कार्यालयमा हुने सेवाग्राहीको भीडसमेत व्यवस्थापन गर्न सहज हुने देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker