गुरु पूर्णिमाका अवसरमा भिमादका निवृत्त शिक्षकहरू सम्मानित

भिमाद : गुरु पूर्णिमाको अवसरमा नेपाल निवृत्त शिक्षक समाज भिमाद नगर कार्य समितिको आयोजनामा चारजना ज्येष्ठ निवृत्त शिक्षकहरूलाई विशेष सम्मान गरिएको छ ।

भिमाद नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख दधिराज सुवेदी, टेकबहादुर राना, धनमाया थापा र भक्तिप्रसाद गैह्रेलाई सम्मानपत्र, दोसल्ला र टिकामालाले सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगरप्रमुख तथा सम्मानित शिक्षक दधिराज सुवेदीले समाजले निवृत्त शिक्षकहरूलाई सम्झेर सम्मान गर्नु गौरवको विषय भएको बताए । उनले भने, “शिक्षक भनेका अन्धकार हटाई उज्यालो दिने, मूल्य–मान्यता सिकाउने र जीवनमा सही मार्ग देखाउने ज्योति हुन् । गुरुलाई सधैं श्रद्धा र सम्मान गर्नुपर्छ, यही हो गुरु पूर्णिमाको मर्म ।”

उलने पछिल्लो समय विद्यार्थीहरू विदेशिने लहरले देशको शिक्षा क्षेत्र कमजोर बन्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे। “गाउँ–सहरका शिक्षण संस्थाहरू आकर्षक संरचना हुँदाहुँदै पनि रित्तिँदै गएका छन् । शिक्षा व्यापारिक बन्न थालेको छ”, सुवेदीले भने, “गुणस्तरीय शिक्षा आफ्नै देशमा उपलब्ध नभएकाले प्रतिभाहरू पलायन भइरहेका छन्, जुन गम्भीर चुनौती हो ।”

उनले निवृत्त शिक्षकहरूलाई अझ सक्रिय भई स्थानीय शिक्षा, चेतना र सामाजिक रूपान्तरणमा बौद्धिक योगदान दिनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, प्रेस स्वतन्त्र सेनानी विश्वबन्धु भण्डारी, निवृत्त शिक्षक समाजका केन्द्रीय कोषाध्यक्ष खिमकान्त पराजुली, नेपाल शिक्षक महासंघका केन्दीय उपमहासचिव विजयराज पौडेल, जनज्योति क्याम्पस प्रमुख केशवराज काफ्ले, वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर थापा लगायतले शिक्षक समाजलाई समाजको ऐना, पथप्रदर्शक र चेतनाका संवाहकको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

समारोहको समापनमा नेपाल निवृत्त शिक्षक समाज भिमादका अध्यक्ष चन्द्रप्रकाश सुवेदीले गुरु पूर्णिमाको दिन ज्येष्ठ शिक्षकहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, “गुरु भनेका देशका मेरुदण्ड हुन् । शिक्षण पेशाबाट निवृत्त भएसँगै शिक्षकहरूको जिम्मेवारी सकिँदैन । आजको दिनले गुरुको महत्व स्मरण गराउँछ ।”

उनले समाजलाई अझ संगठित र प्रभावकारी बनाउँदै भिमादको शैक्षिक उन्नयन र सामाजिक परिवर्तनका लागि सक्रिय योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रमका वक्ताहरुले गुरुहरूलाई केवल औपचारिक सम्मानमा सीमित नराखी, तिनको जीवन–अनुभव, ज्ञान र दृष्टिलाई नीति निर्माण, पाठ्यक्रम सुधार र विद्यार्थीमार्गदर्शनमा प्रयोग गर्न सकियो भने शिक्षा क्षेत्रको आधा सुधार स्वाभाविकरूपमा हुनेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker