तनहुँ-२ मा दुइ पूर्ववनमन्त्री, पूर्वसहकर्मीहरु चुनावी मैदानमा
भञ्ज्याङ समाचारदाता/तनहुँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं. २ बाट दुइ पूर्ववनमन्त्री, पूर्वसहकर्मीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभामा दुइ पूर्वमन्त्री र एक महिलासहित दश जना चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्ववनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी चुनावी मैदानमा छन भने नेकपा (एमाले) का तर्फबाट पूर्ववनमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङ चुनावी प्रतिस्पर्धा उत्रिएका छन् ।
ठूला पार्टीका अलवा यो क्षेत्रमा राप्रपाका नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मंगोल नेशनल अर्गनाइजेशनका प्रविना थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी) का पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी प्रतिस्पर्धामा छन् ।
प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का श्यामराजा महत, मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मंगोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, नेकपा (एकीकृत समाजवादी) का दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जितप्रकाश आले मगर, नेकपा (एमाले) का केदार सिग्देल, मंगोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, नेकपा (एकीकृत समाजवादी) का प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राइ, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
चुनावी प्रतिस्पर्धामा रहेका दुइ पूर्वमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा वनमन्त्री बनेका थिए । गुरुङ विसं २०६४ मा पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा (एमाले)को र्समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा वनमन्त्री थिए भने भण्डारी दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्दा विसं २०७३ सालमा वनमन्त्री बनेका थिए ।
गुरुङ क्षेत्र नम्बर २ अन्तर्गतकै साविक भानुमति गाविस हाल भिमाद नगरपालिका-९ नम्बरका स्थायी बासिन्दा हुन । भण्डारी क्षेत्र नम्बर १ को साविक पुर्कोट गाविस हाल भानु नगरपालिका-९ का स्थायी बासिन्दा हुन । भण्डारी विसं २०७० मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थियो भने विसं २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङ विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गुरुङ अर्थमन्त्री नियुक्त भएका थिए ।
आफूले विभिन्न समयमा प्राप्त गरेको संसदीय जिम्मेवारीको क्रममा तनहुँ क्षेत्र नम्बर २ मा विकासको कामलाई तीव्रता दिएको गुरुङले बताउने गरेका छन् । ‘समृद्ध तनहुँ निर्माणका लागि थप योगदान गर्ने लक्ष्यसहित प्रतिनिधिसभामा उम्मेदवारी दिएको छु’, उनले भने, ‘मैले गरेको कामको आधारमा म विजयी हुन्छु भन्नेमा निश्चित छु ।’
प्रतिनिधिसभा सदस्य उम्मेदवार भण्डारीले विगतदेखि कम्युनिष्टले जित्दै आएको यस ठाउँमा विकासले सोचे जति गति लिन नसकेको हुँदा यसपटक आफूहरूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उनले भने, ‘तनहुँ क्षेत्र नम्बर २ विकासमा पछाडि पर्यो, यसपटकको निर्वाचनमा हामीहरु चुनाव जितेर विकासका योजनालाई अगाडि बढाउँछौं ।’
पहिला सहकर्मी, अहिले प्रतिद्वन्द्वी
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी चहलपहल बढेको छ। गण्डकी प्रदेशसभा सदस्यका लागि ठूला पार्टीबाट सबैजसो पुरानै अनुहार उम्मेदवार बनेका छन् । ४ प्रदेशसभा सदस्यमध्ये सत्तारूढ गठबन्धनबाट ३ जना पुरानै अनुहार दोहेरिएका छन् ।
एमालेबाट उम्मेदवारी दिएका ४ मध्ये २ जना भने पहिलो पटक संसदीय निर्वाचनमा भिड्दै छन् । गठबन्धनकै दल भएपनि भागबन्डामा टिकट नपरेपछि नेकपा -एकीकृत समाजवादी)ले प्रदेशसभातर्फ उम्मेदवार उठाएको छ । जसमध्ये एक जना पुरानै छन् ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ (२) मा एमालेका केदार सिग्देल र नेकपा -एस) का प्रतापलाल श्रेष्ठ आमनेसामने भएका छन् । सिग्देल एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन् । यी दुबै नेता २०७४ सालको निर्वाचनमा सहकर्मी थिए । त्यसबेला नेता सिग्देललाई जिताउन श्रेष्ठ खटिएका थिए ।
तर, एमाले विभाजनपछि नेकपा (एस) तर्फ लागेका श्रेष्ठ अहिले उनै सिग्देलको प्रतिद्वन्द्वीका रूपमा अघि आएका हुन् । ‘पार्टीले खटाएअनुसार उहाँले त्यो समयमा निकै मद्दत गर्नुभएको हो, त्यसका लागि मेरो धन्यवाद छ’, सिग्देलले भने, ‘तर अहिले उहाँ र म छुट्टै पार्टीका उम्मेदवार छौं र मैले अहिलेको स्थिति हेरेर मेरै लागि मत माग्दै छु ।’
श्रेष्ठले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । सिग्देल पनि एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस नै रहेको मान्छन् । श्रेष्ठले केही भोट भने काट्न सक्ने उनको अनुमान । श्रेष्ठ भने घरदैलौमा मतदाताबाट उत्साहजनक प्रतिक्रिया र साथ पाइरहेको दाबी गर्छन् । उनले पनि गत निर्वाचनमा सिग्देललाई जिताउन आफ्नो ठूलो भूमिका रहेको दाबी गरे ।
‘सिग्देलजी यसअघि प्रतिनिधिसभा सदस्यमा लड्दा म जिल्ला इन्चार्ज थिए । उहाँलाई जिताउन मरिमेटी लागेकै हो’, श्रेष्ठले भने, ‘तर अहिले सत्तारूढ गठबन्धनले जिल्लामा हामीलाई नहेरेपछि गठबन्धनबाट बाहिरिन बाध्य भयौं । मेरो उम्मेदवारीले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार जितप्रकाश आले र एमालेका सिग्देल दुवैलाई धक्का लागेको छ । घरदैलोको क्रममा मददाताको प्रतिक्रिया पनि राम्रै पाएको छु ।’
श्रेष्ठ २०७० सालमा क्षेत्र-२ मा एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहे पनि कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भएका थिए । उनी हाल नेकपा -एस) का पोलिटब्युरो सदस्य छन् । गठबन्धनका उम्मेदवार कांग्रेस नेता आले पनि एमालेका सिग्देल नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको मान्छन् ।
कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रममा मतदाताको प्रतिक्रिया सोचेको भन्दा पनि उत्साहजनक पाएको उनको भनाइ छ । ‘हाम्रो प्रतिस्पर्धा भनेको एमालेसँग नै हो । नेकपा (एस) लाई अझै पनि गठबन्धनलाई नै सहयोग गर्नुस् भनि अनुरोध गर्न मैले छाडेको छैन’, उनले भने ।
आले २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ-३ बाट उम्मेदवार बनेका थिए । तर, एमालेका टुकराज सिग्देलसँग १५ सय मतान्तरले पराजित भएका थिए । उनी हाल कांग्रेसका जिल्ला अध्यक्ष छन् । मुलुक संघीय संरचनामा गएसँगै जिल्लामा निर्वाचन क्षेत्र ३ वटाबाट घटेर २ वटा कायम भएका छन् ।
एक लाख २५ हजार मतदाता
तनहुँ क्षेत्र नम्बर २ मा कूल एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा ६७ हजार ३२ र प्रदेश २ मा ५७ हजार नौ सय ७३ मतदाता छन् । यो क्षेत्रमा कूल ४३ वडा पर्छन् । त्यसमध्ये प्रदेश १ मा २१ र प्रदेश २ मा २२ वडा छन् । प्रतिनिधिसभामा एक सय ५३ मतदान केन्द्र छन् । प्रदेश १ मा ८० र प्रदेश २ मा ७३ मतदात केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।










