गठबन्धन संस्कृतिले देशको विकास हुन सकेन : एमाले सचिव भट्टराइ
भञ्ज्याङ न्यूज

नेकपा एमालेका सचिव योगेश भट्टराइले गठबन्धन संस्कृतिले देशको विकास हुन नसकेको बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँले विहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनामा सचिव भट्टराइले गठबन्धन आवश्यक नरहेको बताए ।
‘गठबन्धनको संस्कृति तोड्ने पक्षमा हामी छौ, एमालेले हिजो गठबन्धन गर्यो, त्यसले पनि राम्रो गरेन’, उनले भने, ‘यो गठबन्धनको संस्कृतिले झन् ठूलो अन्योल पैदा गरेको छ, यसले सरकार बनाउन सकेको छैन, स्थायी हुन सकेको छैन । जनतामा कुनै आशा भरोसा यसले पैदा गर्न सकेको छैन ।’
‘चुनावको बेला गर्ने गठबन्धनको अन्त्य गर्नुपर्छ, यो निर्वाचनले गठबन्धनको अन्त्य गर्नुपर्छ । जुनको पार्टीको क्षमता दक्षता छ, त्यो पार्टी अगाडि आउनुपर्छ’, उनले भने, ‘रास्वपा पनि सरकारमै सामेल छ, चुनावको समयमा बाहिर बसेको जस्तो गरेका छन्, तर चुनावपछि यिनी पनि सरकारमा जानेछन ।’
यस्तै, सचिव भट्टराइले संसदमा टाउको हल्लाउने नभई औला ठड्याउने सांसद चाहिएको बताएका छन् । उनले भने, ‘वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रबाट त्यस्ता सांसद चाहिएको र त्यो सांसद एमालेका हुनेछन् ।’
‘सत्तापक्षका सांसदहरुले संसदमा टाउको मात्रै हल्लाउने हुन्, कमजोरीमा बोल्न सक्दैनन्’, उनले भने, ‘एमाले सरकारलाई जिम्मेवार बनाउन संसदमा कमजोरीबारे औला ठड्याउँछ ।’
सचिव भट्टराइले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई समिति बनाउने एमालेले प्रस्ताव गरेको बताए । उनले भने, ‘संवैधानिक परिषद् मार्फ् प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसेपनि त्यो टुङ्गोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई समिति गठन गरौं भन्ने एमालेको प्रस्ताव हो ।’
यस्तै, सचिव भट्टराइले संक्रमणकालिन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताए ।
‘उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाई हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौ’, सचिव भट्टराइले भने ‘नेपाल राष्ट्र पक्ष भएर मानवअधिकार समबन्धी ऐन कानूनमा हामीले हस्ताक्षर गरेका छौ । यो विधेयकले अन्तर्राष्ट्रिय मानवअधिकार कानून सम्बन्धी मान्यतालाई बोकिरहेको छैन ।’










