चुनावको हारबाट पाठ सिकेर जनविश्वास फर्काउनुपर्छ : महामन्त्री पौडेल

स्वास्थ्य, शिक्षा र जनजीविकामा परिणाम देखिने गरी काम गर्न कांग्रेसजनलाई आग्रह

दमौली : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनावमा पराजित हुँदैमा निराश हुन नपर्ने बताएका छन् । विगतका कमजोरी सच्याएर जनताको विश्वास जित्ने गरी काम गर्न सके कांग्रेस फेरि विजयी बन्न सक्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ तनहुँले मंगलबार आयोजना गरेको पदस्थापन तथा दसैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले चुनावमा हार र जित स्वाभाविक प्रक्रिया भएकाले पराजयबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।

‘हामीले थुप्रै चुनाव जितेका छौँ, थुप्रै चुनाव हारेका पनि छौँ । चुनाव हार्दैमा आत्तिनु पर्दैन। भएका कमीकमजोरी सच्याएर जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्छ’, उनले भने, ‘अब कांग्रेसले फेरि चुनाव जित्ने गरी काम गर्नुपर्छ ।’

पौडेलले पार्टीमा जिम्मेवारी पाउनु मात्रै उपलब्धि नभएको उल्लेख गर्दै जनताले अनुभूति गर्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । स्वास्थ्य सेवा सुधार, विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, सार्वजनिक सम्पत्तिको संरक्षण र अन्यायमा परेका नागरिकलाई न्याय दिलाउने विषयलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रमा आधारभूत औषधिसमेत नपाइने अवस्था अन्त्य गरी नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने लक्ष्यसँगै शैक्षिक गुणस्तर सुधारमा पनि ध्यान दिन उनले आग्रह गरे ।

‘कुनै विद्यालयमा दुई सय विद्यार्थी छन् भने चार वर्षभित्र शैक्षिक सुधार गरेर पाँच सय विद्यार्थी पुर्याउने लक्ष्यसहित काम गर्नुपर्छ’, उनले भने, ‘पदमा आउनुभयो तर काम गर्नुभएन भने त्यसको कुनै अर्थ रहँदैन । जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ ।’

महामन्त्री पौडेलले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र एकताको आधार तयार गरेको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर सङ्गठन सुदृढ बनाइने बताए । पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आग्रह गर्दै उनले अग्रजहरूको योगदानको सम्मानसहित एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।

सरकारले देशको विकास र जनताको हितमा गर्ने सकारात्मक काममा कांग्रेसले सहयोग गर्ने बताउँदै उनले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार भएमा भने प्रतिवाद गर्ने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. जगदीशचन्द्र पोखरेल, दीपक भट्टराई, चिनु पोखरेल र पुरुषोत्तम खनाललगायतले पार्टी सङ्गठनलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए। गुट–उपगुटभन्दा माथि उठेर अघि बढ्न सके पार्टीलाई सुदृढ बनाउन सकिने उनीहरूको भनाइ थियो ।

कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का सभापति आनन्दराज त्रिपाठीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यले संगठन सुदृढीकरण र जनताको सेवामा सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा क्षेत्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन गरिएको थियो ।

यस्तै, महामन्त्री पौडेलले पार्टीको आन्तरिक सुधार र रूपान्तरणलाई देशको समग्र परिवर्तनसँग जोड्दै कांग्रेसले आफूलाई जनअपेक्षाअनुसार बदल्नुपर्ने बताएका छन् । उनले पार्टीभित्र जिम्मेवारी, कार्यशैली र सङ्गठनात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि तरुण युवाले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसमा सुधार र परिवर्तनका प्रयासलाई जनतासमक्ष पुर्याउनुपर्ने बताए ।

‘देश सच्चिन पहिला कांग्रेस सच्चिनुपर्छ। कांग्रेस आफैँ जिम्मेवार, व्यवस्थित र जनअपेक्षाअनुसार अघि बढ्न सके मात्रै देशलाई सही दिशामा अघि बढाउन योगदान गर्न सकिन्छ’, उनले भने ।

पौडेलले तरुण दललाई कांग्रेसको मेरुदण्डको संज्ञा दिँदै लोकतान्त्रिक आन्दोलन र लोकतन्त्रको रक्षामा युवाले खेलेको भूमिकाको चर्चा गरे । लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाको सक्रियता आवश्यक रहेको बताए ।

उनका अनुसार तरुण दलको जिम्मेवारी पार्टीको सङ्गठन विस्तारमा मात्र सीमित हुनुहुँदैन। बदलिँदो समय र जनताको अपेक्षाअनुसार नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई नागरिकसँग जोड्ने काममा युवाहरू अघि बढ्नुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker