काँग्रेस सभापतिमा देउवा विजयी, को हुन देउवा ?

भञ्ज्याङ न्यूज

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।

सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४५७४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो ।

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको  प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि थिए । उनीहरु कम मत ल्याएर बाहिरिएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

दुईबीचको प्रतिस्पर्धामा बाहिरिएका तीनै जना उम्मेदवारले देउवालाई सघाएका थिए । पहिलो चरणको निर्वाचानमा  देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी  सिंहले ३७१,  निधिले २५० र  गुरुङले २२ मत प्राप्त गरेका थिए ।

को हुन् देउवा ?

शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।

२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए ।

०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

काँग्रेस प्रजातान्त्रिकको  समेत नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका थिए । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका थिए ।

पहिलो उस्ताका उनी दोस्रो पुस्ताका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, तेस्रो पुस्ताका प्रकाश महत र चौथो पुस्ताका प्रदीप पौडेललाई पदाधिकारीमा समेटेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भने सुरु भइसकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker