बच्चा कोराल्ने हतारोमा बकुल्ला (फोटो फिचर)
शब्द र तस्विरः सम्झना रसाइली

बसन्त ऋतु सक्किएसंगै ग्रीष्म ऋतुको मध्यम समय छ । वर्षायाम नजिकिदै छ । यतिबेला विभिन्न प्रजातिका चराचुरुङ्गीहरुलाई बच्चा कोराल्ने हतारो छ । बकुल्ला (ग्रेड इग्रेट) प्रजातिको चरा पनि यतिबेला बच्चा कोराल्ने हतारोमा छ ।

जिल्लाको सदरमुकाम दमौलीबजारबाट करिव ७ सय मिटर पश्चिमतर्फ मादी नदि किनारसंगै रहेका अग्ला रुखहरुको दृश्य निकै आकर्षक देखिने गरेको छ । यी रुखहरुमा बकुल्ला प्रजातिका चराहरु गुँड बनाई बच्चा कोराल्ने तयारीमा देखिन्छन् ।

चापाघाटक्षेत्रका मादी नदीको छेउछाउ रहेका अग्ला रुखहरुमा गुँड बनाएर बसेका यी चरा एउटा रुखको डालीबाट अर्को रुखको डालीसम्म उड्ने र आफ्ना साथीसंग खेल्दै गुँड बनाउदै गरेको दृश्य निकै आकर्षक देखिन्छ ।

स्थानीय बकुल्लाकै एक प्रजातिमध्येको ग्रेट इग्रेटले गत चैत्र यता व्यास नगरपालिका–५ चापाघाटमा गुँड बनाएर बसेका र खेलिरहेको दृश्यले पृथ्वीराजमार्गमा यात्रा गर्ने जोकोहीको नजर खिच्ने गर्दछ ।

सेता रङ्गका चराका क्रियाकलापले सडकका यात्रु मात्र नभइ हाम्रो पनि मन लोभ्याउने गरेको स्थानीय जंगबहादुर तामाङ बताउछन् ।

‘प्रत्येक वर्षको गर्मियाममा सुरु भएसंगै यहि आएर गुँड बनाएर बच्चा कोराल्छन् र बच्चा हुर्काएर अन्तै उड्छन्’, उनले भने, ‘पहिले त जुन रुखमा हेर्दा पनि बकुल्ला गुँड बनाएर बसेको देखिन्थ्यो तर यस वर्ष बकुल्लाको संख्या कम भएको जस्तो छ ।’

प्रायः खोला छेउछाउमा बस्न रुचाउने यी चराले गुँड बनाउनका लागि मात्र यहाँ आएको स्थानीय जानकारहरु बताउँछन् ।

पंछीबिज्ञ हेमन्त ढकालका अनुसार मांसाहारी प्रजातिको यो चराले खोलामा पाइने माछा, भ्यागुता, झिंगे माछा, सर्प आदि खाने गर्छन् ।

सेता रङ्गका यी चराहरूसँग उढ्नका पखेटा, हिड्नका लागि लामो खुट्टा हुन्छ भने आहारा समाप्तका लागि लामो र तीखो ठुड हुन्छ ।











