आँवुखैरेनीले कक्षा ६ का विद्यार्थीको दिवा खाजा व्यवस्थापन गर्ने
भञ्ज्याङ समाचारदाता/आँवु

तनहुँको आँवुखैरेनी गाउँपालिकाले कक्षा ६ का विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाई कटौती गर्ने कार्यक्रम ल्याएको छ ।
यो कार्यक्रमसंगै गाउँपालिकाले कक्षा ६ का विद्यार्थीहरुलाई आन्तरिक श्रोतबाटै दिवा खाजाको व्यवस्थापन गर्ने निर्णय गरिएको गाउँपालिकाको अध्यक्ष शुक्र चुमानले बताए ।
संघीय सरकारले कक्षा ५ सम्मलाई मात्र उपलब्ध गराउने निर्णय गरेकोमा आँवुखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरी कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको अध्यक्ष चुमानले बताए ।
सरकारको निर्णयले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु मारमा परेको हुँदा गाउँ पालिकाले आन्तरिक श्रोतबाट खर्च गर्ने गरी दिवा खाजाको व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुँवारले जानकारी गराइन् ।