आर्थिक वर्ष २०८०/८१ : व्यासले करिब १ अर्ब ६० करोडको बजेट ल्याउँदै
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाकाले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । नगरपालिकाले आइतबार हुने नगर सभामा करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको नगरपालिकाले यो पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याउने तयारी गरेको छ ।
नगरप्रमुख न्यौपानेका अनुसार संघीय एवं प्रदेश सरकारले दिंदै आएको र्सर्सत, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको हो ।
उनले भने, ‘बजेट घटेपनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखि बजेट ल्याउने छ ।’ उनका अनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेट निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फ छलफल गरी नीति, बजेट तथा कार्यक्रम तयार गरिएको छ ।
अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ । वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको नगरप्रमुख न्यौपानेले बताए ।
संघ र प्रदेश सरकारबाट प्राप्त हुने बजेट पनि कायम आएको र आन्तरिक आय पनि सबै वर्गलाई समेटेर बजेट ल्याउन लागिएको उपप्रमुख इन्दिरा दरैले बताईन् ।
उनको अनुसार बालविवाहलाई रोक्नको लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकम दिईने नीति ल्याईने भएको छ । दलित चेपाङ, दरै, बोटे र कुमाल समुदायका युवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमा उक्त प्रोत्सान रकम प्रदान गरिने भएको छ ।
महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सान गर्न व्यापार मेलाको आयोजना गरिने कार्यक्रम समेत ल्याउने उनले बताईन् । त्यस्तै विदेशबाट फर्किएर आएका महिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याईने उपप्रमुख दरैले बताइन ।