तनहुँमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो ।

विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापनाप्रति सरोकारवाला निकायको ध्यान गएको पाइएको छैन । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सानो/ठूलो गरी ३२ वटा सिलिन्डर रहेको छ भने दमौली अस्पतालमा २७ र बन्दीपुर अस्पतालमा पाँचवटा मात्र अक्सिजनको सिलिन्डर मौज्दात छ ।

जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा अक्सिजनको भण्डारणमा ध्यान दिन अनुरोध गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले यस बारेमा चासो नदिएको दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले बताउनुभयो । दमौली अस्पतालमा मौज्दात रहेका २७ सिलिन्डरले एक साताका लागि पनि माग धान्न नसक्ने डा पौडेलको भनाइ छ । एकै पटक कोभिडका श्वासप्रश्वासका धेरै बिरामी आए भने त्यसले धान्न नसक्ने डा पौडेलले बताउनुभयो ।

स्थानीय तहले अहिलेको अवस्थामा अन्य खर्चहरु कटौती गरेर भए पनि अक्सिजनको खरीदमा लाग्नुपर्ने डा पौडेलको सुझाव छ । “पछि सबैतिर अक्सिजनको अभाव हुन थाल्यो भने पैसा तिरेर पनि खरीद गर्न पाइँदैन,” डा पौडेलले भन्नुभयो, “अहिले अवस्था अलि सहज हुँदैमा अक्सिजनको भण्डारण गर्न सकेमा राम्रो हुने थियो ।” दमौली अस्पालमा हालै स्वास्थ्य मन्त्रालयमार्फत सात वटा आइसियु र चारवटा भेन्टिलेटरको व्यवस्था गरिएको छ । तर आइसियु र भेन्टिलेटर सञ्चालन गर्न पनि अक्सिजन आवश्यक पर्छ ।

जिपी कोइराला उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले पनि पर्याप्त मात्रामा अक्सिजन नभएको बताउनुभयो । पर्याप्त मात्रामा खरीद गरेर राख्न सके भविष्यमा जोखिम कम गर्न सकिने उहाँले बताउनुभयो । पोखराबाट अक्सिजन ल्याउने प्लान्टले आवश्यक पर्ने जति उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि जोखिम बढ्दै गएपछि अक्सिजन पाउने या नपाउने ग्यारेन्टी नहुने डा श्रेष्ठको भनाइ छ ।

बन्दीपुर अस्पतालमा पाँच वटा मात्रै सिलिन्डर रहेको गाउँपालिकका स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यक पर्ने अक्सिजन खरीदका लागि निर्णय गर्न लागेको उहाँले बताउनुभयो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजनको अभाव हुन नदिन जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न रु ७५ लाख विनियोजन गरे पनि अहिलेसम्म स्थापना हुन सकेको छैन । प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान गरेर सम्झौता भइसके पनि काममा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । यसै आर्थिक वर्षभित्रमा अक्सिजन प्लान्ट स्थापना गरिसक्ने अधिकारीले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker