नेपाली जनता एमालेको पक्षमा छन् : उपमहासचिव गुरुङ
भञ्ज्याङ समाचारदाता/देवघाट

नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनता एमालेको पक्षमा रहेको बताएका छन् । उनले वैशाख १० गते हुने उपनिर्वाचनमा जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिनुपर्ने समेत बताए।
तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी देवघाट गाउँपालिका-५ मा सोमबार आयोजित पालिकास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमाले लोकप्रिय पार्टी रहेकाले अब हुने उपनिर्वाचनले पनि जनता एमालेको साथमा रहेको सन्देश दिन आवश्यक रहेको बताए ।
‘विकास र सुशासनका पक्षमा एमालेले अगाडी सारेका नीति, कार्यक्रम र बजेट ठिक थिए भन्ने सन्देश जनताले दिनुपर्छ। तीनवटै निर्वाचन क्षेत्रमा एमालेले जित्न आवश्यक छ’, उनले भने, ‘यो सन्देश भनेको आगामी विसं २०८४ सालको निर्वाचनमा बहुमत ल्याउँछ भन्ने सन्देश पनि हो ।’
नेपालको स्वाधिनता रक्षाका लागि एमालेले लडेको लडाइँको जनताले मूल्याङ्कन गर्नुपर्ने उपमहासचिव गुरुङको भनाई थियो। उनले भने, ‘एमालेले देश र जनताका लागि गरेका कामको मूल्याङ्कन हुनुपर्छ, त्यसको मूल्याङ्कन गर्ने कडी भनेको निर्वाचन हो ।’
उपमहासचिव गुरुङले तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनले धेरै तात्विक अर्थ नराख्ने भएपनि यो निर्वाचन एमालेका लागि जनताको अभिमत के छ भन्ने बुझने अवसरको रुपमा हुने बताए । कार्यक्रममा केन्द्रीय सचिव पद्मा अर्यालले अहिले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएकी छन् । एमालेमाथि भइरहेको आक्रमण चिर्दै अगाडी बढ्नुको विकल्प नभएको बताउँदै उनले भनिन्, ‘एमाले विरुद्ध अहिले महागठबन्धन भइरहेको छ । त्यस्तो महागठबन्धनलाई जनताले जवाफ दिने छन् ।’
पूर्वमन्त्री समेत रहेकी अर्यालले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमाले उम्मेदवारले जित्ने बताइन् । उनले भनिन्, ‘भोलिको राजनीतिक भविष्यका लागि पनि हामीले जित्नैपर्ने छ, सबै कार्यकर्ता एकढिक्का भएर लागे चुनाव जित्न सम्भव छ ।’
नेकपा (एमाले) पोलिटव्युरो सदस्य महेश बस्नेतले जनताको आकर्षणको पार्टी नेकपा -एमाले) भएको बताउँदै देश विकासका लागि एमालेको विकल्प नभएको दाबी गरे । उनले भने, ‘एमाले जनताको पार्टर्ीीो । एमालेको नेतृत्वको सरकारले मात्र मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन सक्छ ।’
यस्तै, चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सर्वेन्द्र खनालले आफु तनहुँको विकास समृद्धिका लागि काम गर्ने गरी चुनावी मैदानमा उत्रिएको भन्दै आफुलाई विजयी गराउन देवघाटका मतदातासंग आग्रह गरेका थिए । उनले भने, ‘म गाली खाने गरी होइन ताली खाने गरी काम गर्ने योजनाका साथ चुनावी मैदानमा उत्रिएको छु ।’
वैशाख १० गते हुने तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई निर्वाचित गराउन एमाले तनहुँले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेको छ ।










