तनहुँको म्याग्दे गाउँपालिकाले दियो दुग्ध उत्पादक कृषकलाई अनुदान

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् ।

म्याग्दे गाउँपालिका-३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार ३९४ लिटर दूध उत्पादन गर्नुभयो । गाउँपालिकाले उहाँलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले रु ८६ हजार ४२४ अनुदान प्राप्त गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।” उहाँले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गर्नुभयो ।

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रम अन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई रु १४ लाख रु ९८ हजार ५८२ अनुदान रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम तीनवटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ। म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु दुइ लाख १२ हजार दुइ सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो ।

म्याग्दे दुग्ध उत्पादक सहकारीले चालु आर्थिक वर्षमा एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूध उत्पादन गरी बिक्री गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत म्याग्दे सहकारीका ५५, गौसेवा सहकारीका १० र साँगे चारहजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाभित्रका कृषकले उत्पादन गरेको दूध छिमेकी पालिकाका सहकारीमार्फत बिक्री वितरण गर्दा पनि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको शाहले बताउनुभयो ।

कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने बताउँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ । यसले गर्दा दुग्ध उत्पादक कृषक पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छौँ ।”

उपाध्यक्ष बालकृष्ण घिमिरेले दूधको विभिन्न परिकार उत्पादन गरी बजारीकरण गर्न सकिने बताउँदै दूधको खुवा बनाएर विद्यार्थीलाई दिवा खाजास्वरुप प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । दूग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि गाउँपालिकाले आगामी आव २०८०/८१ मा पनि उत्पादनमा आधारमा अनुदानको नीतिलाई निरन्तरता दिएको पशु सेवा शाखा प्रमुख डा शाहको भनाइ छ । उहाँका अनुसार थुनेलो परीक्षण तथा उपचार शिविर, घाँसको नर्सरी स्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष नवराज घिमिरेले पालिकाको पशु सेवा शाखामार्फत उपलब्ध अनुदान कार्यक्रम, सुत्केरी पोषण खर्च, पशु बीमा, अन्तर जिल्ला ढुवानी लगायतले दुग्ध उत्पादक कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker