तनहुँमा कोभिड सतर्कता : देवघाट प्रवेश नाकामा हेल्पडेक्स, बन्दिपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध, व्यासका वित्तीय संस्था दैनिक ४ घण्टा मात्र खुल्ने
भञ्ज्याङ समाचारदाता/दमौली
नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण देखिन थालेपछि तनहुँमा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्लाका दशवटै स्थानीय पालिकाले शैक्षिक संस्थाहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएसंगै मानिसहरुको भिडभाडजन्य गतिविधिलाई पनि रोक्दै लग्न थालेका छन् । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै जिल्लाका सबै पालिकाहरुले आ-आफ्नो हिसावले स्वास्थ्य सुरक्षाका मापदण्डहरु तयार गरेका छन् ।
जिल्लाको देवघाट गाउँपालिकाले गाउँपालिकामा प्रवेश गर्ने सम्पूर्ण नाकाहरुमा हल्पडेक्स सञ्चालन गरी गाउँपालिकामा प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श दिने तयारी गरेको छ । गाउँपालिकाले आज शुक्रबारदेखि नाकाहरुमा हेल्पडेक्स राख्ने र गाउँपालिकामा अन्य जिल्ला तथा बाहिरी मुलुकबाट आउनेलाई अनिवार्य रुपमा होम क्वारेन्टिानमा बस्नु पर्ने निर्णय गरेको छ । गाउँपालिकाको विहीबार बसेको कार्यपालिका बैठकले देवघाट प्रवेश गर्ने मुख्य नाकाहरु देवघाट (पुरानो) झोलुङ्गे पुल, दासढुङ्गा पक्की पुल र देवघाट जुगेडि झोलुङ्गे पुलमा जनपद प्रहरी, युवा, कर्मचारी र जनप्रतिनिधिहरु सहितको हेल्प डेक्समा सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए ।

ती नाकाहरुमा सञ्चालन गरिने हेल्प डेक्सलाई तिन सिफ्टमा विभाजन गरिएको छ । बिहान ६ देखि १० बजेसम्म, बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म रहने छ । देवघाट पवित्र धार्मिक स्थल भएकाले धार्मिक कार्यकोलागि धेरै भक्तजनहरु आउने हुँदा धार्मिक स्थलमा दैनिक नित्य पुजा गर्ने तर नागरिकको भिडभाड हुने विवाह, ब्रतबन्ध, तालिम तथा गोष्ठी र प्रवचनका कार्यक्रमहरु सकेसम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सकेसम्म थोरैको उपस्थितिमा मात्र त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्न गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले अनुरोध गरेका छन् ।
कोभिड-१९ रोकथामका लागि गाउँपालिकाबाट सचेतना मुलक माईकिङ र प्रचारप्रसार गर्ने, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने, कसैलाई कोरोना संक्रमण देखिए होम आइसोलेसनमा बस्ने तर स्वास्थ्यमा समस्या देखिए भरतपुर, दमौली र पोखराको कोभिड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने व्यवस्था मिलाइएको गाउँपालिको अध्यक्ष थापाले बताए ।
कोभिडको जोखिम कम गर्न जिल्ला तथा देश बाहिरबाट आउनेहरुको लगत संकलन गरी उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेले बताएका छन् ।
बन्दिपुर प्रवेशमा रोक
यता जिल्लाको पर्यटकीय नगरी बन्दिपुरमा भने आगन्तुक पर्यटकलाई प्रवेशमा रोक लगाइएको छ । कोभिड-१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेस सुवेदीले बताए ।
गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा विहीबार बसेको बैठकले बन्दिपुर घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको छ । ‘कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘गाउँपालिकाले शुक्रबार नै बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने तयारी गर्नुका साथै सबैलाई स्वास्थ्य सुरक्षाका सामाग्रि प्रयोगका साथै मापदण्ड पालनामा कडाइ समेत गरिएको छ ।’
बन्दिपुरमा देशका विभिन्न जिल्लाबाट पर्यटक भ्रमणका लागि आउने गर्दछन् । ‘बसपार्कमा परिचयपत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाइने छ, तनहुँभित्रकै व्यक्तिहरुलाई प्रवेश हुन्छ, बाहिरबाट आएकाहरुलाई त्यहीबाटै फर्काउँ छौ’, उनले भनिन्, ‘यसकार्यका लागि सहयोग गर्न यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, पर्यटन विकास समिति, टोल विकास संस्था, वडास्तरीय विपद् व्यवस्थापन समिति लगायतलाई आग्रह गरिएको छ ।’ यस्तै, विदेशबाट आउने बन्दिपुरवासीलाई भने क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । त्यसको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्नेछ। गाउँपालिकाले कोभिड-१९ को जोखिम कम गर्न मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।
बैंक चार घण्टामात्र खुल्ने
नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्न आग्रह गरिएको छ। व्यास नगरपालिकाले नगरबासिमा कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न दमौलीमा रहेका बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बसेको बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका पनि कोभिडको उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्था खुल्ला रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
कोभिड-१९ संक्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै डिजिटल बैंकिङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ । यस्तै, नगरपालिकाले बजार क्षेत्रमा भिडभाडजन्य गतिविधि नगर्न अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न नगरबासिलाई आग्रह गरेको छ ।










