आ.व. २०७९/०८० मा तनहुँमा ८२.८६ प्रतिशत मात्र बजेट खर्च, ११ अरब ४६ करोड ९४ लाख राजश्व संकलन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा आर्थिक वर्ष २०७९/०८० मा ११ अरब ४६ करोड ९४ लाख ३६ हजार ४७२ रुपैयाँ राजश्व संकलन भएको छ । संघ र प्रदेश सरकारबाट चालु र पुजीगत तर्फबाट १६ अरब ७२ करोड ५८ लाख १ हजार ६४६ रुपैयाँ बजेट प्राप्त गरेको थियो।

कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका अनुसार संघीय सरकार अन्तर्गतका ५६ वटा कार्यालय मध्ये २९ वटा कार्यालयहरुले ११ अरब २३ करोड ५६ लाख ३३ हजार ८३६ रुपैयाँ राजश्व संकलन गरेका छन् ।

यस्तै, प्रदेश सरकार मातहत रहेका २८ वटा कार्यालय मध्ये १८ वटा कार्यालयहरुले २३ करोड ३८ लाख २ हजार ६३५ रुपैयाँ राजश्य संकलन गरेका छन् । जिल्लाका १० वटा पालिकाले उठाएको राजश्य भने आफ्नै आन्तरिक आम्दानीमा देखाउने गरेकाले यहाँ समावेश गरिएको छैन ।

तनहुँमा सबै भन्दा बढी राजश्व संकलन गर्नेमा आन्तरिक राजश्व कार्यालय रहेको छ । उक्त कार्यालयबाट १० अरब ८० करोड ४७ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ भने प्रदेश सरकार मातहत रहेको यातायात कार्यालयले १८ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा तनहुँले प्राप्त गरेको कूल बजेटको ८२.८६ प्रतिशत मात्र खर्च गर्न सकेका छन् । तनहुँले संघ र प्रदेश सरकारबाट चालु र पुजीगत तर्फ प्राप्त गरेको १६ अरब ७२ करोड ५८ लाख १ हजार ६४६ रुपैयाँ मध्ये १३ अरब ८५ करोड ९१ लाख ८१ हजार ५०४ रुपैयाँ मात्र खर्च गरेको छ भने २ अरब ८६ करोड ६६ लाख २० हजार १४१ रुपैयाँ खर्च गर्न सकेको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक विनोद भट्टराइका अनुसार तनहुँलाई गत आर्थिक वर्षमा संघ सरकारबाट चालु तर्फ प्राप्त गरेको ९ अरब ५८ करोड २४ लाख २० हजार ४८० रुपैयाँ मध्ये ९ अरब ४ करोड २५ लाख ६७ हजार ४५३ रुपैयाँ अर्थात ९४.३६ प्रतिशत खर्च गरेको छ भने ५३ करोड ९८ लाख ५३ हजार २६ रुपैयाँ खर्च हुन सकेको छैन ।

यस्तै, प्रदेश सरकार अन्तगर्तको चालु तर्फ ८८ करोड ६९ हजार ५८९ रुपैयाँ बजेट प्राप्त गरेकोमा ७५.४९ प्रतिशत अर्थात ६६ करोड ४४ लाख १७ हजार ८४९ रुपैयाँ मात्र खर्च भएको छ भने २१ करोड ५६ लाख ५१ हजार ७३९ रुपैयाँ खर्च हुन सकेको छैन ।

पुजिगत तर्फ संघ सरकारबाट प्राप्त ३ अरब ३२ करोड २७ लाख ९६ हजार ३९० रुपैयाँ बजेट मध्ये ६५.९३ प्रतिशत अर्थात २ अरब १९ करोड ९ लाख ७४ हजार २०६ रुपैयाँ खर्च भएको छ भने १ अरब १३ करोड १८ लाख २२ हजार १८३ रुपैयाँ बाँकी रहेको छ ।

यस्तै, पुजिगत तर्फ प्रदेश सरकारबाट प्राप्त २ अरब ९४ करोड ५ लाख १५ हजार १८७ रुपैयाँ बजेट मध्ये ६६.६९ प्रतिशत अर्थात १ अरब ९६ करोड १२ लाख २१ हजार ९९४ रुपैयाँ खर्च भई ९७ करोड ९२ लाख ९३ हजार १९२ रुपैयाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएका छन् ।

आर्थिक मसान्तमा खर्च गर्ने प्रवृत्ति तनहुँमा यस आर्थिक वर्षमा पनि रोकिन सकेको छैन । असरा महिनामा मात्र कुल बजेटको १६.५२ प्रतिशत खर्च भएको छ । प्रमुख कोष नियन्त्रक भट्टराइका अनुसार असार महिनामा संघ र प्रदेश सरकारको चालु र पुजीगत तर्फको एकमुष्ठ २ अरब ७६ करोड ४३ लाख ३५ हजार ६७५ रुपैयाँ बजेट खर्च भएको छ ।

असार महिनामा संघ सरकारको चालु खर्च तर्फ १ अरब २० करोड ३८ लाख ५० हजार १५ रुपैयाँ (१२.५६ प्रतिशत) र पुजीगत तर्फ ५८ करोड ९१ लाख ३७ हजार १९४ रुपैयाँ (१७.७३ प्रतिशत) खर्च भएको छ ।

यस्तै, प्रदेश सरकार अन्तर्गत चालु तर्फको १५ करोड ८० लाख १९ हजार ९०६ रुपैयाँ -१७.९५ प्रतिशत), पुजीगत तर्फको ८१ करोड ३३ लाख २८ हजार ५५९ रुपैयाँ (२७.६५ प्रतिशत) बजेट असार महिनामा खर्च भएको प्रमुख कोष नियन्त्रक भट्टराइले जानकारी गराए ।

तनहुँका ४ नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि संघ सरकारबाट प्राप्त ४ अरब ६६ करोड ६० लाख ७४ हजार बजेट मध्ये ९१.२२ प्रतिशत अर्थात ४ अरब २५ करोड ६३ लाख ७४ हजार ८२८ रुपैयाँ खर्च गरेका छन् ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त २८ करोड ३१ लाख ८८ हजार रुपैयाँ बजेट मध्ये ७६.८१ प्रतिशत अर्थात २१ करोड ७५ लाख २५ हजार ६४५ रुपैयाँ मात्र तनहुँका पालिकाहरुले खर्च गर्न सकेका छन् ।

तनहुँमा अर्थ बजेटको रकमान्तर तर्फ तलबमा ३० करोड ४६ लाख १ हजार ४६४ रुपैयाँ र निवृत्तिभरण कोष तर्फ ८२ लाख २४ हजार ७८२ रुपैयाँ गरी ३१ करोड २८ लाख ७६ हजार २४६ रुपैयाँ खर्च भएको छ ।

यस्तै, तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा संघ सरकारबाट १२ अरब ६६ करोड ८२ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा ७८.०४ प्रतिशत अर्थात ९ अरब ८९ करोड २६ लाख ४७ हजार रुपैयाँ खर्च भएको थियो । प्रदेश सरकारबाट ३ अरब १८ करोड ५१ लाख १६ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा ७४.५५ प्रतिशत अर्थात २ अरब ३७ करोड ४७ लाख १ हजार रुपैयाँ बराबरको बजेट खर्च भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker