डढेलोको जोखिममा रहेको तनहुँमा सचेतनाका कार्यक्रम सञ्चालन

डढेलोको उच्च जोखिममा रहेको तनहुँमा डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ। गर्मी मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको छ ।

हिउँदेयाम सुरु भएपछि जिल्लाका वनमा डढेलो लाग्ने समस्या भएकाले कार्यालयले सचेतनामूलक कार्यलाई जोड दिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । उनका अनुसार यस कार्यमा सामुदायिक वन उपभोक्ता समितिसँग पनि सहकार्य गरिएको छ । पण्डितले भने, ‘आगलागीको मौसम सुरु भइसकेको छ, यो बेला वनमा आगलागीको जोखिम हुन्छ, यसका लागि सचेतना अपनाउनुपर्छ ।’

डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुख धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको बासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने तथा वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिममा रहने पण्डितको भनाइ छ ।

वन डढेलो सबैको साझा चुनौती भएकाले सबैको सहकार्यबाट मात्र यसको नियन्त्रण सम्भव रहेको पण्डितले बताए । पण्डितका अनुसार वन डढेलो हुन नदिन वनमा अग्निरेखा बनाइ रुखका पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चिज लिएर वनमा नजाने, सुकेका र ढलेका रुख तथा हाङ्गा सुक्खा मौसमअगावै हटाउने गर्नुपर्दछ ।

गर्मी मौसममा बिडी, चुरोट खाएर ननिभाएर वनमा फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ । पण्डितले भने, ‘गोठाला तथा केटाकेटीले मनोरञ्जनका लागि वनमा आगो बाल्नाले, वन नजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन्, यसतर्फ सचेत हुनुपर्छ ।’

वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ । वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा १० प्रतिशत तापक्रम बढाउने बताइएको छ । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सबडिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न भनिसकेको छ ।

सप्ताहव्यापीरूपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनका पातपतिङ्गर सरसफाइ गरी आगो नियन्त्रणलगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउँदै आइरहेको छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा ६१६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, छ धार्मिक वन छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker