एसओएस गण्डकीमा विद्यार्थीको बिदाइ
भञ्ज्याङन्यूज
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यालयको कक्षा११ का विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा कास्की क्षेत्र नं. २ की संघीय सांसद् विद्या भट्टराइले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेकी थिइन् ।
उनले आफैँ स्रोत जुटाएर एसओएसले राज्यले गर्नुपर्ने दायित्व पूरा गरिरहेकामा प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा आफूले एसओएस स्कुल सञ्चालनका विषयमा संघीय सांसदमार्फत सरकारको ध्यान आकर्षा गर्ने बताइन् ।
‘सुख-दुःख, प्राप्ति-क्षति दुवैलाई सामानान्तर ढङ्गले सामना गर्दै संघर्षपूर्ण जीवन जिउने विद्यार्थी नै जीवनमा सफल हुन्छ’, सांसद भट्टराइ भनिन्, ‘एसओएसजस्तो प्रतिष्ठित विद्यालयबाट दीक्षित भई बिदा भएर जाने विद्यार्थीहरू आफ्नो उज्ज्वल भविष्य निर्माणसँगै नेतृत्वदायी भूमिकासहित समाज रूपान्तरण अभियानमा पनि अग्रसर हुनुपर्दछ ।’
विद्यालयका प्राचार्य चूडामणि सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयका १०+२ का संयोजक खगेन्द्रराज बरालले विद्यालयले वर्षेनि प्राप्त गरिरहेको सफलताको चर्चा गर्दै बिदाइ भएर जाने विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गरे । समारोहमा बिदाइ भएर जाने विद्यार्थीहरूको सम्मानमा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
समारोहमा एमबीबीएस, बीइ, बीएस्सी नर्सिङ, बीडीएस, वनविज्ञान, इन्जिनियरिङजस्ता राष्ट्रका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यालयका भूतपूर्व विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो । बिदाइ भएर जाने कक्षा १२ का विद्यार्थीहरूलाई विशेष अतिथि तोरणबहादुर बानियाँ, एसओएस गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालयका प्राचार्य चूडामणि सुवेदी, सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेलले संयुक्त रूपमा अबिर र खादा अर्पण गरी मायाको चिनोसमेत प्रदान गरेका थिए।