हाम्रा घरआँगनमा भेटिने ढुंगा र ढुंगासंग जोडिएको हाम्रो साइनो

देव बस्न्यात

विषय प्रवेश 
नेपाल १२६ भन्दा बढी जात जाति मिलेर बसेको सुन्दर देश हो । साच्चै भन्ने हो भने नेपाल धरतीको भूस्वर्ग हो। यहाँ जति जातजातिहरु छन् त्यत्ति थरीकै संस्कृतिहरु पनि जीवन्त रहेका छन् । सबै जातजातिमा धार्मिक सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धता छ । एउटा जातिले मनाएको चाडपर्वसंगै बसेको अर्को छिमेकीले खुस दिलका साथ मनाउँछ । भेटहुँदा एक अर्कामा शुभकामना आदान प्रदान गर्न रतिभर भुल्दैनन् । प्रकृतिप्रेमी हुनाले यहाँका डाँडा–पाखर, गाउँ–बेसी र समथर मैदानमा हुर्केका सबै जातजातिहरु नेपाली ढुङ्गामाटो भनेपछि हुरुक्कै हुन्छन्। ढुङ्गालाई आरध्यदेवता मानेर घरदेखि डाँडासम्म र डाँडादेखि सागरसम्म पुज्दछन्। नेपाली जनजीवन ढुङ्गामाटोमा नै समाहित छ र रही रहने छ ।
एकातिर नेपालीहरु आफ्ना बास्थलको नामपनि ढुङ्गासंग जोड्न पुगेका छन् । मिर्लुङ ठूलोढुङ्गा, कुन्छा ठूलोढुङ्गा, कोषगाडे ढुङ्गा, उदेनढुङ्गा, ओखलढुङ्गा, कोलढुङ्गा, गोलढुङ्गा जारकाटेढुङ्गा, खरीढुङ्गा, बाघढुगा, हात्तीढुङ्गा, नागढुङ्गा, दासढुङ्गा बेह्रेढुङ्गा, गोहीढुङ्गा, कछुवाढुङ्गा, मान्द्रेढुङ्गा, दुुङ्गासाँगु, दुङ्गाखानी, भिमादको ढोढुङ्गे, चिसापानीको जन्ती ढुङ्गा, गौरी शङ्कर ढुङ्गा, भीमढुङ्गा, क्यामिनको बसाहढुङ्गा ,काभ्रेको फटकशिला, पात्थ्राको मत्स्य शिला, हनुमानशिला, ऋषिङको सुत्केरी ढुङ्गा, व्यास–१२ को ढुङ्गागाडेहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ।
ढुङ्गामाटोमा रमेका हामी नेपालीहरु आजसम्म ढुङ्गामाटोमा खनीखोस्री गरेर जीवन निर्वाह गरिरहेका छौं । नेपाल एकीकरण अभियानका श्रध्देय अगुवा श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाह जुन देशमा विजय प्राप्त गर्दथे त्यहाँ ढुङ्गा गाडेर मात्र विजयको झण्डा फरफराउँथे । नेपाल अङ्ग्रेजको युद्धमा गुमेको भूमिको प्रताडना सहन नसकेर धनलाइ लात मार्दै नेपाल भूमिको माया र स्नेह गर्दै श्री ३ महाराज जङ्गबहादुर राणाले बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका भूमिहरु अङ्ग्रेजबाट फिर्ता लिए। ढुङ्गामाटोसंग मित लगाउँदै हिंडे। त्यति मात्र कहाँ हो र काठमाण्डौबाट लमजुङ कुन्छा हुँदै पोखरा पुगिने कुन्छाभञ्ज्याङ पुगेर रुपकी रानी ताम्रकोट पहाडलाई फर्केर हेर्दा पहाडको नाम नै  रुपाकोट र आफ्नी प्यारी रानी पुतलीको संझनामा रुपाकोटको गोंदमा पुतलीलाई थपक्क राखेर पुतली बजार बनाए। राजा महाराजा मात्र कहाँ हो र कलाकारहरु पनि ढुङ्गा माटोमै रमाए र ढङ्गा सगै मित लगाउँदै हिँडे । आदिकवि भानुभक्त आचर्य, धर्मराज थापा, देउबहादुर दुरा र धम्पुदुराहरु पनि त्यही हारमा मिसिए ।

म ढङ्गा र विमल वैद्य

कवि विमल बैद्यले ढुङ्गाको चरित्रलाई अघि राखेर म ढुङ्गा कविता कोर्नु भएको छ। उहाँले आफ्नो कवितामा  कसैको आवाज नबिथोल्ने शून्यतालाई नचिर्थोने आफैमाथि घनले प्रहार गरे पनि प्रतिरोध नगरी सहेर बस्ने, टुक्राए टुक्रिदिने, मूर्ति बनाए मन्दिरमा पूजित भएर बसी दिने, नजाने कसैले आची पुच्छ्न टिस्यु पेपरको काम गरिदिए पनि किन गरिस नभन्ने, पानीको भेलसंगै पत्थरहरु ठोकिदैं ठोकिंदै खिइएर गिटीबालुवाका साथ सुनका कण पनि मिसाइ बसी दिने, कसैलै आफना पैतालालाई सुविधा होस भनी सिंढी मार्ग अर्थात कसैको घरमा आकास ढाकेर घामपानी छेकेर आश्रम पनि बनिदिने, छपनीढुङ्गा बनेर पर्खाल संरक्षण गर्ने र कसैको विश्रामको अनुभूति गर्ने थलोकालागि पत्थररुपि सोफासेट र पलङ बनिदिने, कसैको बिस्कुन सुकाउन मान्दे्रढुङ्गा र देशको रक्षा गर्नपरे घुंयेत्रोको डल्ला, गुलेलीको मट्याङ्ग्रा र सिङ्गै ढुङ्गा लडेर प्रतिरक्ष गर्ने सैनिकको झझल्को प्रदान गरेको पाउँदछौं। ढुङ्गा जसरी साह्रो छ त्यसैगरी हरेक दुःखकष्ट सहन गर्न तयार छ ।
कवि विमल वैद्य पनि त्यसरी नै हिंजो जहाँ थिए आज त्यहीं छन्, कसैले पुजे पुजिन्छन्, कैसेलै पाउले टेकेर उक्लने र ओर्लने प्रयास गरे ढुङ्गे सिंढी बनी दिएर बस्न तयार देखिन्छन् । ढुङ्गा । जसरी हिंजो मान ग्रहण गर्न र दुख पिर सहन तयार छ त्यसै गरी आज, र भोलिका दिनहरुमा भार बहन गर्न सक्षम छ भनेर ढुङ्गालाई अघि सारेर आफ्नो यथार्थता हामी माझ पस्कनु भएको छ । हामी यही ढुङ्गालाई कहिले पैताला मुनी राखे पनि अधिकाँश समय देवता स्वीकारेर शिर निहुराएर ढोग्छौं पनि ।

ठाडोभाका लोकगीतको माइतीघर मिर्लुङ ठूलोढुङ्गा

बाइस्से चौबिस्से राज्यमा विभाजित नेपालको तनहुँ राज्यका राजा भृङ्गी सेनका दुइ भाइ छोरा हम्वीर सेन र धर्माङ्गत सेन बीचका द्वन्द्व साह्रै नै चर्कियो। ऋषिङ र तनहुँका स्पनक शक्ति हात पारेका हम्वीर सेनले भाइ धर्माङ्गद सेनलाइ तनहुँ छाड्न बाध्य बनाए । अन्तत कान्छा छोरा धर्माङ्गद सेन सुंगुरे भञ्ज्याङ, समजुर, मिर्लुङ ठूलोढुङ्गा हुँदै जुङको लाम -बाटो) लागे । जाँदा जाँदै मिर्लुङपोखरीछाप पुग्नेबेलाको ठूलोढुङ्मा पुगेर राजकुमार धर्माङ्गद सेन खुब रोए। राजाको क्रन्दन सुन्न नसकेर शिद्धले जुङ्ग जान छोडेर मिर्लुङ्ग जाने सल्लाह दिए । जुङ्ग जान हिंडेका धर्माङ्गद सेन जुङ्गको पानी टुट्यो भनेको हुनाले सो स्थानको नाम टुटेपानी रहन गयो । त्यही मिर्लुङ ठूलोढुङ्गामा पुगेर धर्माङ्गद सेनले भजन र झ्याउरे गीतको आयोजना गरेर मादल र खैंजेडीको तालमा खुब नाचे । त्यही बेलादेखि सुरु भएको गीत मेला अहिलेसम्म निरन्तर चलिरहेको छ। यही मिर्लुङ ठूलोढुङ्गामा ठाडोभाका लोकगीतका स्रष्टा देउबहादुर दुरा, भेडीखर्के साइंला, पुतली सकिर्नीहरुले ठाडोभाका लोकगीतको चारधाम मध्ये एक धाम बनाए। त्यही ठूलो ढुङ्गामा हरेक चैतेदशैं मेलामा ठाडोभाका लोकगीत अझै पनि घन्कदैं छ।
तनहुँ र लमजुङका ठाडोभाका लोकगीतका स्रष्टाहरु देउबहादुर दुरा, भेढिखर्के साइँला धम्पु दुरा, आफली घर्तिनी पुतली सर्किनी लगायतका गायक गायिकाहरु हरेक वर्षको चैते दसैं मेलामा मिर्लुङ ठूलोढुङ्गाको बजारमा पुगेर गीति महोत्सव मनाउने गर्दथे । अहिले बिस्तारै ठाडोभाका लोकगीत लोपको संघारमा जाँदै गर्दा व्यासनगर प्रज्ञाप्रतिष्ठानले ठाडोभाका लोकगीतको संरक्षण र सम्वर्धनको लागि नवोदित कलाकारहरुलाई गीतको प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
मिर्लुङका बिरासत कायम गर्नलाई मिर्लुङका राजा चन्द्रकुमार सेन लमजुङ्गको कुन्छामा निर्वासनमा बस्दा कुन्छाको ठूलोढुङ्गामा गीति महोत्सवको आयोजना गरे होलान । अहिले पनि कुन्छाको ठूलोढुङ्गामा, रुपाकोटको पुतलीबजार र शिःसाघाटमा आजसम्म पनि ठाडोभाका र झ्याउरे गीतहरु घन्कंदै आएका छन्। लमजुङ कर्पुटारको रामबजार, भानु नगरपालिका–११ को पुतली बजार, भानु नगरपालिका–१३ को मिर्लुङठूलोढुङ्गा र ब्यास–६ को शिःसाघाटलाई ठाडोभाका लोकगीतको चारधाम मान्ने गरिन्छ ।

वाम अन्दोलनका शिर्षनेता मदनकुमार भण्डारी र ढुङ्गाहरु बीच देखा परेका साइनोहरु

ने.क.पा. एमालेका नेता मदनकुमार भण्डारीको जन्म वि.सं. २००९ साल आषाढ १४ गतेका दिन ताप्लेजुङको ढुङ्गेसांघुमा भएको हो । ताप्लेजुङको ढुङ्गेसाँघुबाट काठमाण्डौ आएका भण्डारी नागढुङ्गाबाट प्रवेश गरेर गोलढुङ्गामा डेरा गर्न पुगेका हुन्। काठमाण्डौ प्रवेश गर्ने बेलामा भेटिएको नाग आकृतिको ढुगा भएकाले यस ढुङ्गालाई नागढुङ्गा भनिएको हो। काठमाण्डौको बालाजुको केही पर गोलढुङ्गा भटिन्छ । यस स्थानमा गोलाकार ढुङ्गा भेटिएकोले यस ठाउँको नाम गोलढुङ्गा रहन गएको हो भन्दा अत्युक्ति नहोला । काठमाण्डौको प्रवेशद्वारको रुपमा रहेको नागढुङ्गामा हरेक पञ्चमी तिथि र विशेष गरेर नागपञ्चमीका दिन नागदेवताको पूजाआजा गर्ने हाम्रो विशिष्ट परम्परा आजसम्म जिवन्त रहेको छ । कमरेड पुष्पलालसंगको भेटघाट पश्चात वाम राजनीतिमा प्रवेश गरेका भण्डारी २०३० सालमा पूर्णकालीन कार्यकर्ता बनेका थिए। ने.क.पा. कोअर्डिनेशन केन्द्रमा आबद्ध भण्डारी ने.क.पा. मालेको स्थापनसंगै केन्द्रीय सदस्य बनेको पाइन्छ ।
वि.सं. २०४१ सालमा पार्टीको पोलिटब्युरो सदस्य बनेका भण्डारी २०४६ सालको चौथो महाधिवेशनबाट महासचिव बनेका भण्डारीले २०४८ सालको संसदीय निर्वाचनमा प्रधानमन्त्री कृष्णप्रसाद भण्डारीलाई संसदीय चुनावमा पारजित गर्दै काठमाण्डौ १ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल भएका थिए । ने.क.पा. एमालेमा भण्डारीले स्थापित गरेको बहुदलीय जनवाददेखि त्रसित दासहरुले  वि.सं. २०५० सालको जेठ ३ गते का दिन पोखराका ढुङ्गेसाँघुदेखि पिछा गरेका खैरात माकेदासहरुले अन्ततः मदनकुमार भण्डारी र जीवराज आश्रितलाई संगसगै  दासढुङ्गमा विर्सजन गर्न पुगेका थिए । नेपाल वाम आन्दोलनका धरोहर भण्डारीको जन्म डुङ्गेसाँघुदेखि मरणको अन्तिम विन्दु दासढुङ्गासम्मको जीवन यात्रा फलामका च्यूरा भन्दा ढुङ्गाका चिउरा कडा सावित हुन पुगेको थियो । सबैभन्दा पहिले नागढुङ्गामा पुग्दछौं ।

जारकाटेढुङ्गा

कुनै एक दिन तनहुँसुरका सेन राजा  गद्धीचौतारामा बसेर न्याय निसाफ गरी रहेका थिए। अचानक त्यही मौकामा श्रीमती बिहिन एउटा साधु पाइ गद्धीचौतारामा आइपुग्यो । चौतारमा आउन साथ सरकार जार पाइलाई काट्न पाइन्छ पाईंदैन भनेर बिन्ती ग¥यो । साधुपाईको  जाहेरी नसिद्धिदैं राजाले जारपोइ काट्न पाइन्छ काट् भन्ने आदेश गरे रे। साधुपाइले साथमा ल्याएको तरवार म्यानबाट झिकेर जारलाई मार हान्न लाग्यो । साधुपाइले राजाबाट जार काट्न पाइने आदेश पाए पछि अब काटिने भइयो भनेर बच्नका लागि जारपोई चौताराबाट हामफालेर तलतिर भाग्यो । जारपोइ अघिअघि साधु पोई पछिपछि तरवार लिएरै दौडिए । जारपोइ तनहुँसुर दरवारकै काजी परेकाले राजाले आफ्नो निर्णय पुनः सच्याए र चर्को स्वरमा साधुपोइले सुन्ने गरी जारकाट्न पाईंदैन भन्ने निर्णयको घोक हाल्न लगाए। राजाज्ञा साधु पोइले सुनेन । मर्ने डरले जारपोई ढुङ्गाको आड लगाएर लुक्यो । जार पोइ यही छ भनेर साधुपोइले तरवारले मार हान्यो । तरवारले एक साथ ढुङ्गा र जारपोइ दुबैलाई मार हान्यो । त्यही ढुङ्गा प्राचीन कालको श्रीमती भगाई लाने जार पोइलाई काट्न पाइने नेपाली कानुनको स्मारक बनेर बसेको पाउँदछौं । उक्त जारकाटे ढुङ्गा अहिले पनि तनहुँसुर हटिया पुग्ने बेलाको रानीस्वाँरा तोरीबारी भन्दा माथिको पाखामा भेट्न सक्दछौं ।

जङ्गेमित ढुङ्गा

वि.सं. १९०३ मा घटेका कोत पर्व र भण्डारखाल पर्वबाट उदाएका जङ्गबहादुर कुँवर प्रधानमन्त्रीदेखि श्री ३ महाराज बन्न सफल भएका हुन । लमजुङ र कास्कीका श्री ३ बनेका जङ्गबहादुर काठमाण्डौबाट पोखरा जाने बेलामा तत्कालीन हुलाकी मार्ग तार्कुघाट, मानेचौका पुतली बजार कुन्छा, शिःसाघाट हुँदै पोखरा पुगेका हुन। कुन्छा पुगेपछि पछाडि फर्केर हेर्दा ताम्रकोट बहुतै रुपको देखियो। रुपको डाँडाको काखैमा चञ्चले पुतली जस्तै जामुने देखियो । सबै भन्दा मन पर्ने आफनै पुतलीलाई जङ्गले प्रकृतिसंग मनमनै दाँजे । त्यही बेला आफ्नो पुतलीको सम्झना रहोस भनेर बजारको नामै पुतली बजार राखि दिए ।
बाटोमा जाँदै गर्दा कुन्छाबाट ओरालै झर्दै गर्दा सोती बेसी र दुइपिप्लेलाई बिर्सेनन् श्री ३ महाराज जङ्गबहादुर राणाले। दुइपिप्लेबाट सिमली डुङ्गामा शिःसाघाट तर्दै थिए । मादी तरेर पारी पुग्नासाथ  मादीको किनारमा एक विशाल ढुङ्गा भेटियो। अन्नापूर्ण हिमाल झैं शान्त स्वरुपमा उभिएको डुङ्गालाई जङ्गबहादुरका आफ्नै हातले बिस्तारै छोए, नजिकै रहेको फूलपाती टिपेर पत्थरमा चढाए। फूलपातीको साथमा जङ्गी पत्थरमा दाम पनि चढाए । ढुङ्गामा अक्षतापातीका साथ भेटी राखेर पालै पालो टिका लगाए । आफ्नो टाउको ढुङ्गासंग ठोक्काए र जय शिःसाकोटी महादेव भन्दै शिला तर्फ फर्केर ठूलो स्वरले मितज्यू भनेर बोलाए । मितको आवाज विशाल पत्थरमा ठोक्किना साथ शिलाले पनि प्रतिध्वनी दियो मितज्यू । त्यही बेलादेखि जङ्गबहादुर कुँवर राणाको मित बनेर उभिएको शिला आज पनि शिःसाघाट बजारको हात्तीगैरामा मित फर्केर भेट्न आउछन भन्ने पर्खाइमा मौनता साँधेर बसीरहेको अनुभूति मिलेको गर्दछ ।

धम्पु मितढुङ्गा

नेपाल हिमाल पहाड र तराइ जस्ता विषम भूगोल रहेको स्थान हो । यहाँका वासिन्दाहरु अर्को आफ्नै मौलिक परम्परा पाइन्छ । सबै जातजातिहरु एक आपसमा मित्रतालाई दिगो बनाउन मित लगाउँछन। त्यसमा पनि दुराहरु सियो, जिम्ती र मित लगाउने भने पछि हुरुक्कै हुने गर्दछन्। आफ्नै परम्परामा हुर्किका दुराहरु मानिसदेखि प्रकृतिसंग मित लगाउने कामलाई गौरव सम्झने गर्दछन् । झिल्के धम्पु दुरा पनि के कम थिए रÛ मस्याङ्दी गाउँ पालिका वडा नं ५ खानीगाउँको रकगार्डेनको ढुङ्गासंग दिल खोलेर मित लगाइ दिए । मान्छेसंग मितेरी लगाए मानिस मरेपछि मित्र साइनो मेटिन सक्छ तर प्रकृतिका उपहार ढुङ्गासंग मितेरी साइनो लगाइयो भने युग युगसम्म मितेरी साइनो चिरस्थायी बनाउन सकिन्छ भन्ने सोच भेटिंदा धम्पु साँच्चै नै प्रकृति प्रेमी हुन भन्न करै लाग्दछ । युग युग साइनो चिरस्थायी गर्न धम्पुले ढुङ्गा -शिला)लाई नै रोजेको कुरा सीता दुराले आफ्नो लेख æमौलिक लोक संस्कृतिमा हराउँदै गएको मित लगाउने प्रथा र धम्पुÆ लेखमा ब्यक्त गरेको पाउँदछौं । आज जो सुकै पनि उक्त शिलालाई धुम्पुका मित र सीता दुराको मित भिनाजु भनेर बोलाउन छुटाउँदैनन् ।

अन्त्यमा

तनहुँका आसपासमा तोरी पेल्ने कोलढुङ्गा प्रशस्तै भेटिन्छन् । पराकचौरमा भेटिएका गोही ढुङ्गा, बेरे ढुङ्गा -अष्टबक्रशिला) सत्केरीले छोएको ढुङ्गा सैनिकले छोए राजदरवारमा अनिष्ट हुन्छ भनेर दुइ देशको सिमानामा ढुङ्गा गाड्दा सुत्केरीलाई छुन लगाउने प्रचलन यहाँको विशिष्ट परम्परा हो। गोर्खाली सेनाहरु तनहुँ आक्रमण गर्न आउलान भनेर मानिस झै उभ्यार राखेर शत्रु राष्ट्रलाई आफ्ना सैनिक चौविसै घण्टा खटिएका छन् भनि सन्देश दिन खरी ढुङ्गा गाडेर राख्ने प्रचलन, हावीहुरी आउँदा जन्तीहरुलाई ओत दिने चिसापानीको जन्ती ढुङ्गा, विशेष कामको शिलशिलामा हात्ती तथा घोडाहरुको सवारी चलाउँदा बास बस्ने ठाउँ र विश्राम स्थलमहरुमा घोडा तथा हात्तीहरुलाई बाँधेर राख्ने बनाइएको हात्ती बान्ने ढुङ्गा, हुवहु हात्ती आकारमै भेटिने हात्तीगैरा शिःसाघाटको हात्तीढुङ्गा
-गणेशशिला), शिःसाघाटबाट मोदीसम्मको दुरी तोकिएको कोषढुङ्गा, दमौलीको पाञ्चायन मन्दिरको प्राङ्गणमा भेटिएको पाञ्चजन्य शंखशिला, शेषनागको आकारको शिला र हाम्रा पूर्वजहरुले आफुले स्थापना गरेको विभिन्न कृतिखम्बाको इतिहास लेखेर उभिएका शिलालेखहरु हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरु हुन् ।
व्यास–१२ देउरालीबाट नाबरुङ जाने बाटोको मजवामा रहेको हात्ती बाँध्ने ढुङ्गा फुटाइदिएको हाम्रा आँखाले देखेकै हो । यस्ता अमूल्य निधि अब नफुटुन नचोरिउन यही नै हाम्रो सदासयता हो। ढुङ्गा काम छैन भनेर आची पुछ्ने ढुङ्गा नसम्झौं । हाम्रो घर आँगनी र कर्सामा भेटिएका दुङ्गाहरु कृष्णगण्डकीमा भेटिएका मुकुन्देश्वर महादेव शालिग्राम सरह हुन् । हामीले मान्दै आएका कुलायन देवता, भुइयार, शिखारी झाँक्री नाग, शिवलिङ्ग सहित देवी देवताको सजिव चित्र कुँदेर देवताका रुपमा पूजा गन हाम्रो परम्परागत सम्झेर ढुङ्गालाई मायां गरौं ।
यही कुरा पृथ्वीनारायण शाहले आफुले जितेको भूमिमा विजयध्वजको रुपमा ढुङ्गा गाडेर आफ्नो देशको साँध तोक्दथे । समग्रमा हेर्ने हो भने ढुङ्गा हाम्रो शत्रुबाट बच्ने हतियार हो भने आस्थाको देवता पनि हुन । ढुङ्गाबाट मानिसले तातो र न्यानो पनको अनुभूति प्राप्त गर्न सक्ने हुँदा हाम्रो शरिरमा ओज र तेज बढने, अज्ञानताबाट, ज्ञानको ज्योति प्राप्त हुने र अचेतनबाट चेतना तिर मन अगाडि बढ्नका लागि उत्प्रेरित गर्दछ भन्ने अनुभूति मिल्ने गरेको पाउँदछौं ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker