व्यासका जनप्रतिनिधीको पहिलो निर्णय : ऐलानीप्रति जग्गाको सदुपयोग गर्न कार्यदल गठन
भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँको व्यास नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नगर क्षेत्रको ऐलानीप्रति जग्गाको सदपयोग गर्न कार्यदल गठन गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यास नगरपालिका अन्तर्गत सरसफाईलाई दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक जग्गा खरिद एवं ऐलानीप्रति जग्गाको सदुपयोग गर्न काशिराम श्रेष्ठको संयोजकमा कार्यदल गठन गरिएको हो ।
कार्यदलको सदस्यहरुमा मनबहादुर गुरुङ, अनुप राना, यज्ञ शर्मा, प्राविधिक दुइ जना र सदस्य सचिवमा कृष्णराज घिमिरे रहने गरी कार्यदल गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देलले बताए ।
बैठकले संवैधानिक एवं कानूनी व्यवस्था अनुसार नगरपालिकामा छुवाछुतको अन्त्य गर्दै दलित मैत्री व्यास नगरपालिका बनाउने निर्णय गरेको छ । बिपन्न व्यास नगरवासी, स्वास्थ्य वीमा नभएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा, कृषि पशुधनमा बीमालाई प्राथामिकतामा राख्ने निर्णय गरेको छ ।
गतबर्षका अधुरा योजनाहरु र आर्थिक सामाजिक, भौगोलिक, शारीरिक कारणले पछाडी परेका वर्ग र क्षेत्रलाई विशेष प्राथमिकता दिई विकास प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ । नगरपालिका भित्रका पुरातात्विक महत्वका माटाका घरहरुलाई संरक्षण गर्दै अति विपन्न नगरवासीको फुसका छाना एवं माटाका घरहरुलाई लागत साझेदारीमा हटाइने निर्णय पनि बैठकले गरेको छ ।
अभिभावक विहिन, विपन्न र शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई वडा नं. ७ शेषमटारमा तयारी अवस्थामा रहेको व्यास नगर समता विद्यालयलाई यसै शैक्षिक वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ । बैठकले आगामी आ.ब २०७९/८० को बार्षिक नीति तथा वजेट कार्यक्रम तयारीको प्रक्रियामा टोल विकास संस्था समेतको सहभागितामा जेठ २९ गते भित्र वडागत योजना, नगरस्तरीय योजना सिफारिस गर्न गराउन सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको व्यास नगरपालिकाको नीति तथा बजेट कार्यक्रमका बारेमा व्यास नगर भित्रका विभिन्न क्षेत्रका बिज्ञहरुसँग राय सुझाबका लागि परामर्श बैठक यही महिना भित्र आयोजना गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन आयोग, नेपाल सरकार, राजनैतिक दल, जिल्ला स्थित सम्बद्ध निकाय, कर्मचारी, सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गरेको छ ।










